नारायण रिजाल, बागलुङ ! जिल्लाको जैमिनी नगरपालिकाले नागरिकको स्वास्थ्य उपचारका लागि सहायोग पु¥याउने उद्देश्यका साथ एक अर्व बराबरको नागरिक स्वास्थ्य उपचार कोष स्थापना गर्ने लक्ष्य सहित अगाडी बढेको छ । तीन वर्ष अघि जैमिनी नागरिक स्वास्थ्य उपचार कोष घोषणा गरेर अभियानको सुरु गरेको नगरपालिकाले हाल कोषमा ५० लाख १० हजार रुपैयाँ भै सकेको जैमिनी नगरपालिकाका नगरप्रमुख नरबहादुर पुनले जानकारी दिए ।
नगरपालिकाले पहिलो वर्ष १० लाख रुपैयाँ कोषमा जम्मा गरेर सुरु गरेको अभियानमा चालु आर्थिक वर्षमा १५ लाख रुपैयाँ जम्मा गरेको छ भने आगामी आर्थिक वर्षमा २५ लाख रुपैयाँ जम्मा गर्ने गरी रकम विनियोजन गरिएको छ ।
कोषको व्याजबाट नागरिकहरूको स्वास्थ्य उपचारका लागि सहायता प्रदान गर्ने लक्ष्य सहित कोष निर्माण थालिएको नगरप्रमुख पुनले बताए । कोषबृद्धिका लागि नगरपालिकाले आम नागरिकलाई पनि आह्रवान गरेको छ । ‘जैमिनीका नागरिकका लागि लक्षित गरिएको कोष हामी एक अर्बको बनाउने योजनामा छौँ, यो वर्ष पनि २५ लाख रुपैयाँ बजेट नगरपालिकाले विनियोजन गरेको छ नगरप्रमुख पुनले भने,–‘कोषमा जम्मा गर्न आम नागरिक जो कोहीले पनि सक्छन नगरपालिकाले यसलाई खुल्ला गरेको छ, आगमी एक वर्षमै कोष वृद्धि गरेर १ करोड पुराउने छौँ ।’ सामाजिक सुरक्षाको दृष्टिकोणबाट स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्नको लागि नगरपालिकाले कोष स्थापना गरेको उनले बताए ।
कोषमा नागरिकको तर्फबाट जैमिनी नगरपालिकामा नै कार्यरत योजना अधिकृत प्रेम सापकोटाले आफ्नो जन्मदिनको अवसरमा १० हजार रुपैयाँ जम्मा गरेर कोषमा योगदान गर्ने पहिलो नागरिक भएका छन । सापकोटाल जस्तै आम नागरिकले पनि कोषमा रकम जम्मा गर्न पाउने नगरपालिकाले व्यवस्था गरेको छ । नगरपालिकालले कर्मचारी, जनप्रतिनिधि तथा नागरिकले समेत कोषमा योगदान गर्न आव्हान समेत गरेको छ ।
नगरपालिका भित्रका जो कोही नागरिकलाई सहायता दिनका लागि नगरपालिकाले कोषको संचालन गरेको हो । नगरपालिकाले कोष संचालनका निम्ती कार्यविधि बनाएर आगाडी बढेको छ भने यस अघिल्लो वर्ष देखी नै नागरिक सहायताको रुपमा कोषबाट केही रकम प्रदान गर्दै आएको नगर उपप्रमुख हरिहर शर्माले बताए । शर्माका अनुसार एक अर्ब रुपैयाँ जम्मा गरेर नगरपालिकाका भित्रका नागरिकलाई निःशुल्क उपचारमा सहयोग सकिने छ । ‘नगरपालिकाको यो दिर्घकालिन सोच हो , हामी नागरिककै पक्षमा काम गर्ने हो, स्वस्थ्य नागरिक बनाउनु कर्तव्य स्थानिय सरकारको पनि हो नगरउपप्रमुख शर्माले भने,–‘यहाँ आम नागरिकको पनि सहभागिता रहने छ, नगरपालिकाले हरेक वर्ष थप गर्दै जाने छ, यहाँका नागरिक पैसाकै अभावमा उपचारबाट बञ्चित नहुन भन्ने हाम्रो चाहना हो ।’ क्यान्सर, मुटुरोग, मृगौला जस्ता उपचारमा ठूलो खर्च लाग्ने रोगका लागि विशेष प्राथमिकताका साथ कोष बाट आएको व्याजको रकम विरामीलाई प्रदान गर्ने गरी नगरपालिकाले कार्यविधि र निति बनाउन लागेको उपप्रमुख शर्माले बताए । नगरपालिकाको यो कामलाई आम नागरिकको तर्फबाट पनि सहयोग भएमा पक्कै पनि जैमिनीका नागरिकले रकम अभावकै कारणमा कोही पनि उपचारबाट बञ्चित हुनुपर्ने अवस्था सिर्जना हुनेछैन ।