बागलुङ — बागलुङमा आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका ५ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन । क्षेत्र नं. १ को प्रतिनिधि सभा तर्फ १ जना र क्षेत्र नं. २ को प्रतिनिधि सभा र प्रदेश सभा गरी ४ जना उम्मेदवारले आफ्नो उम्म्ेदवारी फिर्ता गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । क्षेत्र नं. १ मा प्रतिनिधि सभा तर्फ स्वतन्त्र उम्मेदवारी दिएका नेपाली काँग्रेस बागलुङका सल्लाहकार एवं पुर्व कोषाध्यक्ष कृष्णशंकर श्रेष्ठले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन । श्रेष्ठले पाँच दलिय गठबन्धनका उम्मेदवार राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी सहित प्रदेश सभामा काँग्रेसका दिपेन्द्र बहादुर थापा र डिल्लीराम सुवेदीलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएको बताएका छन ।
श्रेष्ठले उम्मेदवारी फिर्ता लिए सँगै क्षेत्र नं. २ प्रदेश सभा (क)मा स्वतन्त्र उम्मेदवारी दिएका राष्ट्रिय जनमोर्चाका भिमलाल पोखरेल र दिपक थापाले पनि आफ्नो उम्मेदवारी फिर्ता गराएका छन । पोखरेल र थापाले गठबन्धनका उम्मेदवारलाई समर्थन गर्दै फिर्ता गरेको बताएका छन । उनिहरुले प्रतिनिधि सभा क्षेत्रमा नेकपा माओबादी केन्द्रका देवेन्द्र पौडेल र प्रदेशसभा (क) मा काँग्रेसका उम्मेदवार जित शेरचन र (ख)मा काँग्रेसका उम्मेदवार द्रोर्ण कुँवरलाई समर्थन गर्ने गरी आफ्नो उम्मेदवारी फिर्ता गराएको बताएका छन । पोखरेले प्रदेश (क) र थापाले प्रदेश (ख)मा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए । त्यसैगरी नेकपा एमालेका प्रदेश कमिटी सदस्य करमती पुन र ढोरपाटन नगरकमिटी संयोजक गणेश कुमार थापाले पनि स्वतन्त्र उम्मेदवारी फिर्ता दिएका छन । थापा र पुन दुवैले नेकपा एमालेका उम्मेदवारलाई सघाउने गरी आफ्नो उम्मेदवारी फिर्ता गरेको बताएका छन । पुन ढोरपाटन नगरपालिकाको पुर्व नगर उपप्रमुख समेत हुन । निर्वाचन आयोगको कार्यतालिका अनुसार बुधबार उम्मेदवारी फिर्ताको समय रहेको थियो ।
अब बागलुङ क्षेत्र नं. १ मा प्रतिनिधि सभा सदस्यका लागि हुने निर्वाचनमा ६ जना उम्मेदवार रहने छन भने क्षेत्र नं. १ प्रदेश (क) मा ५ जना र प्रदेश सभा (ख)मा ४ जना रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । त्यस्तै क्षेत्र नं. २ प्रतिनिधि सभा सदस्यका लागि ७ जनाको उम्मेदवार रहेका छन । प्रदेश सभा तर्फ क्षेत्र नं. २ (क) मा दुई जना र प्रदेश सभा (ख) मा ७ जना रहेको मुख्य निर्वाचन अधिकृत कार्यालयका सहायक निर्वाचन अधिकृत ऋषिराम रिजालले जानकारी दिए । बुधबार नै राजनितिक दलका उम्मेदवार सँगै स्वतन्त्रलाई पनि निर्वाचन चिन्ह प्रदान गरिएको छ ।