बागलुङ, । बागलुङ नगरपालिकामा गरिएको स्वास्थ्य परीक्षणले विद्यालय तहका किशोरकिशोरीमा रक्तअल्पता (एनिमिया) तथा बालबालिकामा कुपोषण अझै चुनौतीका रूपमा रहेको देखाएको छ। परीक्षणमा उल्लेख्य संख्यामा विद्यार्थीमा मध्यम तथा गम्भीर रक्तअल्पता र बालबालिकामा कुपोषण भेटिएपछि नगरपालिकाले उपचार, पोषण परामर्श, औषधि वितरण र नियमित अनुगमनलाई तीव्रता दिएको जनाएको छ।
बागलुङ नगरपालिकाले विभिन्न विद्यालयका ६ हजार १९२ जना किशोरकिशोरीको हेमोग्लोबिन परीक्षण गर्दा ४ हजार ८३० जनाको अवस्था सामान्य, १ हजार ३३४ जनामा मध्यम रक्तअल्पता र २८ जनामा गम्भीर रक्तअल्पता भेटिएको हो।
परीक्षणपछि मध्यम तथा गम्भीर रक्तअल्पता भएका विद्यार्थीलाई आइरन–फोलिक एसिड ट्याब्लेट वितरण, पोषणसम्बन्धी परामर्श, स्वास्थ्य शिक्षा, आवश्यक रेफरल तथा नियमित फलोअपको व्यवस्था गरिएको नगर स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले जानकारी दिनुभयो।
त्यस्तै, नगरपालिकामा २ हजार २२० जना पाँच वर्षमुनिका बालबालिकाको पोषण अवस्था मूल्याङ्कन गर्दा १० जनामा गम्भीर सिघ्र कुपोषण र ५१ जनामा मध्यम सिघ्र कुपोषण देखिएको छ। कुपोषित बालबालिकालाई आवश्यक उपचार, पोषण परामर्श, स्वास्थ्य संस्थामा रेफरल तथा नियमित अनुगमनको व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ।
सोमबार बागलुङ नगरपालिकाले आयोजना गरेको ‘स्वस्थ र सुखी परिवार’ विषयक पत्रकार अन्तरक्रिया कार्यक्रममा विद्यालय स्वास्थ्य कार्यक्रमअन्तर्गत ९ वटा विद्यालयका १ हजार ३४५ जना विद्यार्थीको आँखा परीक्षण तथा ८ वटा विद्यालयका १ हजार ४७ जना विद्यार्थीको दाँत परीक्षण, उपचार, स्वास्थ्य परामर्श र आवश्यक रेफरल सेवा उपलब्ध गराइएको जानकारी दिइयो।
महिला स्वास्थ्य कार्यक्रमअन्तर्गत नगरपालिकाका विभिन्न स्थानमा सञ्चालन गरिएका प्रजनन स्वास्थ्य शिविरबाट सयौँ महिलाले सेवा लिएका छन्। शिविरमा पाठेघर खस्ने समस्या, पाठेघरको मुखसम्बन्धी समस्या लगायतका रोगको परीक्षण, उपचार, स्वास्थ्य शिक्षा तथा परामर्श प्रदान गरिएको जनाइएको छ। त्यसैगरी, सक्रिय क्षयरोग खोजपड्ताल कार्यक्रमअन्तर्गत २५० जनाको परीक्षण गरिएकोमा सबैको नतिजा नेगेटिभ आएको स्वास्थ्य शाखाले जनाएको छ।
नगरपालिकाले बालबालिका, किशोरकिशोरी तथा महिलाको स्वास्थ्य अवस्थामा सुधार ल्याउन पोषण, विद्यालय स्वास्थ्य, प्रजनन स्वास्थ्य र रोगको प्रारम्भिक पहिचानका कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ।