बागलुङ- गण्डकी प्रदेशकै सवै भन्दा पुरानो पुस्तकालय विद्यामन्दिर पुस्तकालय बागलुङले ‘पुस्तौ पुस्ताका लागि पुस्तकालय’ र ‘ज्ञानका लागि पुस्तकालय’ बिषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ ।
पुस्तकालय स्थापनाको अवसरमा सोमबारदेखी सञ्चालित पाँच दिवसीय कार्यक्रम अन्तरगत मंगलबार सम्पन्न वक्तृत्वकला प्रतियोगितामा जनताधन माध्यामिक विद्यालयका आचार्य प्रथम भएका छन् । बागलुङ नगरपालिका भित्रका ११ विद्यालयको १५ विद्याार्थीको सहभागिता रहेको प्रतियोगितामा आचार्य प्रथम भएका हुन् ।
प्रतियोगितामा रुद्रेपिपल माध्यामिक विद्यालय बागलुङका सामना सापकोटा र चिल्ड्रेन लाईफ बोडिङ स्कुल रामरेखाका प्रमिसा केसी द्धितीय, युएस एकेडेमीका दिपन पाण्डेय तृतीय र न्यू ओएसिस बोडिङ स्कुलका स्वस्तीका श्रीस सान्त्वना भएको पुस्तकालयले जनाएको छ ।
कार्यक्रममा त्रिवि सभा सदस्य तथा धवलागिरि बहुमुखी क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष डा.दिनबहादुर थापाले पुस्तकालय ज्ञानको भण्डार भएकाले नयाँ पुस्ताले पुस्तक पढ्ने बानिको बिकास गर्नुपर्ने बताए ।
पुस्तकालयका सल्लाहकार ईश्वर मलेपति श्रेष्ठ, बिकास शाक्य, निवर्तमान अध्यक्ष रामप्रसाद शर्मा, धवलागिरि बहुमुखी क्याम्पसका उपप्रध्यापक गणेशप्रसाद शर्मा र नेपाल पत्रकार महासघं बागलुङ शाखाका सचिव विजय राना लगायतले मन्तव्य व्यक्त व्यक्त गरेका थिए ।
कार्यक्रम विद्यामन्दिर पुस्तकालयका अध्यक्ष राम थापाको अध्यक्षता, उपाध्यक्ष रामचन्द्र शर्माको स्वागत मन्तव्य र कोषाध्यक्ष कोपिला कँडेलको संचालनमा सम्पन्न भएको थियो । पुस्तकालयले बुधबार सामाजिक तथा शैक्षिक संस्थाहरुसँगको सहकार्यमा पठन संस्कृतिको विकास र आयामबारे विमर्श गर्ने जनाएको छ ।
बिहिबार लागू औषध प्रयोगकर्ताहरुको उपचार तथा पुनःस्थापना केन्द्रमा पुस्तक उपहार दिने र १५ गते पुरस्कार वितरण सहित मूल समारोह आयोजना गरिने पुस्तकालयका अध्यक्ष राम थापाले बताए ।