गठबन्धनका उम्मेदवारकाे घरदैलाे तथा कोण सभा कार्यक्रम

  • कार्तिक २३, २०७९

बागलुङ :  पाँच दलिय गठबन्धनको घरदैलाे तथा चुनावी कोण सभा बागलुङ बजारमा सम्पन्न भएको छ । सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसकी केन्द्रीय सदस्य चम्पा देवी खड्काले गठबन्धन लोकतन्त्र र संविधानको रक्षाका लागि बनेको बताएकी छन । खड्काले स्थानीय तहको निर्वाचनमा गठबन्धन सफल भएको र प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा पनि सफल हुने दाबी गरिन । 

उनले अघिल्लो पटक जनताले केपी ओलीलाई बहुमत दिए पनि जनमतको कदर गर्न नसकेको भन्दै यसपाली गठबन्धनको जित निश्चित रहेको बताईन ।  पूर्व राज्यमन्त्रीसमेत रहनु भएकी खड्काले गठबन्धनका उम्मेदवार केन्द्र र प्रदेशमा राम्रो प्रभाव राख्न सक्ने भएको हुँदा उनीहरुले बागलुङमा अधिकतम बजेट ल्याउन र विकास गर्न सक्ने बताईन । 

नेपाली कांग्रेसका गण्डकी प्रदेश सभापती शुक्रराज शर्माले गठबन्धनका कारण चुनाव शान्तिपूर्ण र भयरहित भएको बताए । उनले पहिले–पहिले झडप हुने ठाउँमा पनि अहिले शान्तिपूर्ण रुपमा चुनाव भएको भन्दै गठबन्धनले आपसी सद्भाव र भवनात्मक सम्बन्ध बढाएको बताए । शर्माले गठबन्धनले बाहेक मुलुकको विकास अन्य पार्टीले गर्न नसक्ने  बताए ।

कार्यक्रममा एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य श्रीप्रसाद शर्मा, बागलुङ क्षेत्र नम्बर १ (क) का उम्मेदवार दीपेन्द्र बहादुर थापा, राष्ट्रिय जनमोर्चाका पूर्व केन्द्रीय सचिव कृष्ण अधिकारी लगायतले गठबन्धनका उम्मेदवारको जित अपरिहार्य रहेको बताएका थिए ।

कार्यक्रम नेपाली कांग्रेस बागलुङ क्षेत्र नम्बर १ (क) का सभापति हरिबहादुर जिसीको अध्यक्षता, माओवादी केन्द्रका रतन मलेपतीको स्वागत र राष्ट्रिय जनमोर्चा बागलुङ नगर अध्यक्ष थानेश्वर सुवेदीको संचालनमा सम्पन्न भएको थियो । गठबन्धनका उम्मेदवाहरु बुधबारदेखि बागलुङ बजारमा घरदैलो गर्न सुरु गरेका छन् ।

प्रतिक्रिया