जैमिनी नगरपालिका प्रमुखमा राजमोका पुन र उपप्रमुखमा काँग्रेसका शर्मा विजयी

  • जेठ ४, २०७९

बागलुङ - बागलुङको जैमिनी नगरपालिकाको नगरप्रमुखमा राष्ट्रिय जनमोर्चाका नरबहादुर पुन विजयी भएका छन । गठबन्धनका साझा उम्मेदवार पुनले नेकपा एमालेका लिला रानालाई ५ हजार ८८२ मतको मतान्तरले पछि पार्दै  विजयी भएका हनु । 
पुनले कुल ८ हजार ७५५ मत प्राप्त गरेका छन भने प्रतिस्पर्धी रानाले २ हजार ८७३ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत सुर्य प्रसाद भण्डारीले जानकारी दिए । पुन अखिल नेपाल जनजाती सम्मेलनका केन्द्रीय सल्लाहकार तथा राष्ट्रिय जनमार्चाका नेता हुन । 
नगर उपप्रमुखका लागि नेपाली काँग्रेसका हरिहर शर्मा ६ हजार ५३७ मतान्तरले नेकपा एमालेका उषा पौडेललाई पछाडी पार्दै विजयी भएका हुन । शर्माले कुल ९ हजार १७३ मत प्राप्त गरेका छन भने पौडेलले २ हजार ६ सय ३६ मत प्राप्त गरेकी हुन ।  नेपाली काँग्रेसका जिल्ला सचिव समेत रहेका शर्मा यस क्षेत्रका लोकप्रिय नेताको रुपमा परिचित छन ।  
नगर प्रमुखमा नेपाली काँग्रेस विपीका काशिराम आचार्यले २८६ मत प्राप्त गरेका छन भने राप्रपाका निर्मला सापकोटाले १७३ मत प्राप्त गरेका छन । राप्रपाको उपप्रमुखमा चिना केसीले १६४ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत भण्डारीले जानकारी दिए । 
जैमिनी नगरपालिकामा वडा नं. १ मा नेपाली काँग्रेसका विष्णु आचार्य, वडा नं. २मा काँग्रेसकै प्रेम प्रसाद सापकोटा वडा नं. ३ मा नेकपा माओबादी केन्द्रका कृष्ण भुजेल, वडा नं. ४ मा नेकपा एकिकृत समाजबादीका चक्र थापा, वडा नं. ५ मा नेपाली काँग्रेसका ठक बहादुर क्षेत्री थापा, वडा नं. ६ मा नेकपा माओबादी केन्द्रका कृष्ण बहादुर थापा वडा नं. ७ मा नेपाली काँग्रेसका केन्द्रबहादुर रसाईली, वडा नं. ८ मा नेपाली काँग्रेसकै विमल श्रीष वडा नं. ९ मा नेकपा एमालेका सन्दीप थापा इन्द्र र वडा नं. १० मा राजमोका श्रीप्रसाद थापा विजयी भएका छन । नगरपाललिकामा १ वडा बाहेक अन्य सवै पाँच दलिय गठबन्धनकै उम्मेदवार विजयी भएका छन । 
 

प्रतिक्रिया