काठमाडौ- जैमिनी नगर सेवा समाज काठमाडौंले प्रकाशन गरेको ‘जैमिनी दर्पण’ शनिवार विमोचन गरियो । शिक्षा मन्त्री पौडेल र उपस्थित अतिथिहरुले उक्त पुस्तकको सामुहिक रुपमा विमोचन गरे ।
विमोचनपछि बोल्दै मन्त्री पौडेलले पुस्तक जैमिनी क्षेत्रको ऐतिहासिक दस्तावेज हुने बताए । ‘पुस्तकले समग्र जैमिनीको भाषा बोलेको छ’, मन्त्री पौडेलले भने, ‘यो सेवा समाजको मात्रै होइन, हामी सवैको सम्पती बनेको छ ।’
पुस्तकको समिक्षा गर्दै डा दिनबन्धु शर्माले अनुसन्धान र खोजमुलक तथ्यहरु समावेश गरेर तयार भरिएको पुस्तकका विशेष आलेखहरु सन्दर्भ सामग्री बन्ने बताए । उनले समाज र लेखकहरुको प्रयत्नले पुस्तक संग्रहणीय भएको उल्लेख गरे ।उनले जैमिनीको विकासका लागि राजनैतिक विचारबाट माथि उठ्नुपर्ने वताएका छन् । जैमिनी नगर सेवा समाज काठमाडौंले शनिवार आयोजना गरेको कार्यक्रममा मन्त्री पौडेलले समग्र जैमिनीको आर्थिक र शैक्षिक विकासका लागि सवै एक हुनुपर्ने वताएका हुन् ।
‘धार्मिक, सास्कृतिक र पर्यटकीय रुपमा महत्वपूर्ण जैमिनीको विकासका लागि हामी सबै राजनैतिक विचारभन्दा माथि उठ्नु पर्दछ’, मन्त्री पौडेलले भने, ‘ऋषीसँग जोडिएको जैमिनीले साँच्चिकै ऐतिहासिक महत्व बोकेको छ, यसको विकासका लागि सवै एकजुट भएर जुटौं । विचार आ–आफ्ना होलान तर जन्मभूमीको मायाले सबैलाई भावनात्मक सम्बन्धले जोडेको हुन्छ । हामी त्यसरी नै लाग्नु पर्दछ ।’
शिक्षा र यातायातको विकासका लागि आफु लागि परेको बताउदै मन्त्री पौडेलले त्यस क्षेत्रमा प्राविधिकधारको शिक्षा सञ्चालन गर्न कार्ययोजना लिएर आउन समाज र त्यहाँ निर्वाचित जनप्रतिनिधीलाई आग्रह गरे । ‘मौका यही हो, तपाईहरु कार्यक्रम लिएर आउनुहोस, हामी निर्णय गरीहाल्छौ । पछि के हुन्छ के ?’
कार्यक्रममा संघिय सांसद सूर्य पाठकले जिल्लाको मुटुको रुपमा रहेको दक्षिणी जैमिनी क्षेत्रमा जनताले सोचेजस्तो विकास हुन नसकेको बताउदै हामी सबै जुट्दा त्यो सम्भव हुने वताए । कालीगण्डकी करीडोर र गुल्मीको शान्तिपुर पुग्ने सडकलाई कालोपत्रे गर्न सक्दा त्यस क्षेत्रले मुहार फेर्ने बताउदै उनले कतिपय संरचनागत समस्याले अल्झिएको बताए ।
काठमाडौं जिल्ला शिक्षा समन्वय प्रमुख नन्दलाल पौडेलले पुस्तक जैमिनीलाई चिनाउने महत्वपूर्ण साधन भएको बताउदै यसलाई स्थानीय सरकारलाई विद्यालयहरुमा स्थानीय पाठ्यक्रमको रुपमा स्विकार्र्न अनुरोध गरे ।
पुस्तकका प्रधान सम्पादक शेषनाथ पौडेलले पुस्तक प्रकाशनमा भाषा र तथ्यहरुलाई विशेष महत्व दिएको उल्लेख गर्दै शिक्षा मन्त्रीलाई नेपाली भाषाको विषयमा राज्यले अलि बढि ध्यान दिन सुझाए ।
जैमिनीको समग्र पक्षलाई समेटेर तयार पारेको पुस्तकमा २३ जना व्यक्तिहरुको लेखहरुलाई समावेश गरिएको छ ।
जैमिनी दर्पणको सम्पादकमा हिमलाल पुरी र यम विरही रहेका छन् । प्रकाशन समितिको संयोजकमा विष्णु शर्मा आचार्य र सदस्यहरुमा केशवराज शर्मा चालिसे, रामचन्द्र आचार्य, बुद्धिमाया पुन र कृष्ण पौडेल रहेको समाजका अध्यक्ष हरिप्रसाद आचार्यले जानकारी दिए ।
कार्यक्रममा सांसद मना केसीले जन्मभुमीको माया र समाजको नाता सबैभन्दा प्यारो हुने बताउदै सवै गोलवन्द भएर लाग्नुपर्ने बताईन ।
जैमिनी नगरपालिकाका प्रमुख नरवहादुर पुनले आफूहरु जैमिनी नगरलाई आत्मनिर्भर बनाउन लागि परेको बताउदै त्यहाँ आयोजना हुने विज्ञ सम्मेलन र स्थानीयवासीको लगानी सम्मेलनमा सबैलाई निम्ता गरे । नगर उपप्रमुख हरिहर शर्माले जैमिनीको विकासका लागि स्थानीय तहबाट आफूहरु लाग्ने र बाहिरबाट समाजका सबैबाट सहयोगको अपेक्षा राखे ।
नेकपा माओवादीको पोलिटव्युरो सदस्य बलावती शर्मा, परीक्षा वोर्डका अध्यक्ष डा महाश्रम शर्मा, नेपाल उधोग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकाल, बागलुङ जिल्ला समन्वय समितिका उपप्रमुख होमनाथ सापकोटा, पूर्वविद्यार्थी नेताहरु हिमाल शर्मा र भीम श्रीस, पूर्वनगर प्रमुख इन्द्रराज पौडेल लगायतले जैमिनीको विशेषता र त्यसको संमबद्र्धनका लागि खेल्नुपर्ने भूमिकाको बारेमा आफनो विचार व्यक्त गर्नु भएको थियो ।जैमिनी नगर सेवा समाजका अध्यक्ष हरि प्रसाद आचार्यको सभापतित्वमा भएको पुस्तक विमोचन कार्यक्रमको सञ्चालन सदस्य विष्णु प्रसाद आचार्यले र स्वागत मन्तव्य चिन्तामणी पौडेलले व्यक्त गरेको थियो ।
पौडेल र शर्मा सम्मानित
जैमिनी नगर सेवा समाजले सोही कार्यक्रममा दुई जना व्यक्तिलाई सम्मान गरेको छ । हालै सम्पन्न नेपाल प्रेस यूनियनको महाधिवेशनबाट निर्वाचित महासचिव दिलिप पौडेल र ठमेल पर्यटन परिषदको अध्यक्षमा निर्वाचित भविश्वर शर्मा ढुंगानालाई सम्मान गरेको हो । उनीहरु दुवैजना जैमिनी निवासी हुन् । कार्यक्रममा पत्रकार मोहराज शर्माले कविता बाचन गरेका थिए ।