बागलुङ नगरपालिका वडा नं. २ लाई बालमैत्री वडा घोषणा

  • पुस ५, २०८१

बागलुङ- बागलुङ नगरपालिका वडा नं. २ लाई बालमैत्री शासनयुक्त वडा घोषणा गरिएको छ । गण्डकी प्रदेश सभाका सदस्य द्रोण कुँवर, बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठ र उपप्रमुख राजु खड्का सहितका सरोकारवालाले बालमैत्री नगर घोषणपत्रमा हस्ताक्षर गरेका हुन् ।
बालमैत्री नगरका लागि आवस्यक ५१ सुचक पुरा भएकोले वडाले घोषणा कार्यक्रम आयोजना गरेको हो । शुक्रबार आयोजित कार्यक्रममा बोल्दै कुँवरले बालमैत्री नगरपालिका घोषणासँगै बागलुङ नगरपालिका मानव सूचांकमा अगाडि बढेको बताए । उनले अब आर्थिक विकासमा पनि नगरपालिका अब्बल बन्नुपर्ने भन्दै त्यसका लागि कार्यक्रमहरु ल्याउन सुझाव दिए ।
बालमैत्री नगर बन्दा आम नागरिक, राज्यका अन्य निकाय र अन्तराष्ट्रिय क्षेत्रले पनि सकारात्मक ढंगले बुझ्ने भन्दै उनले त्यसको फाइदा लिएर विकासका अन्य धेरै काम गर्न नगरपालिकालाई सुझाव दिएका थिए । नगरपालिकाले आफ्नो अभियान पुरा गरेपछि दुरदराजका अन्य पालिकामा पनि अगुवाई गर्नुपर्ने समेत बताए ।
वडा अध्यक्ष सुरज बोसेलका अनुसार वडा भित्रका भौतिक संरचना, शिक्षा, स्वास्थ्य, पोषण तथा नागरिकको सोचमा बालमैत्रीपना आउने वातावरण तयार पारिएको हो । यद्यपी बजार क्षेत्रमा कतिपय अभिभावक र बालबालिकाको यकिन तथ्यांक निकाल्न भने कठिन हुने र बालश्रम, बाल विवाह जस्ता घटनाहरु चुनौतीको रुपमा रहने बताए । तत्कालका लागि सूचकहरु पुरा भएपनि बालमैत्री नगर अभियानलाई दिगो बनाउन भने जनप्रतिनिधि, कर्मचारी र नागरिक जिम्मेवार बन्नुपर्ने बोसेलको जोड थियो । पुस मसान्तभित्र नगरलाई नै बालमैत्री बनाउने नगरपालिकाको लक्ष्य छ ।
कार्यक्रममा नगर उपप्रमुख राजु खड्काले बाल अधिकारका सबै आयाम पुरा गरेर नगरलाई सभ्य र सुसंस्कृत बनाउन लागिएको जानकारी दिए । कार्यक्रममा पुर्व नगरप्रमुख जनकराज पौडेल, बानपा ११ का वडा अध्यक्ष ज्ञानेन्द्र गौतम, प्रमुख प्रशासकिय अधिकृत हरिदत्त कंडेल नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष राम थापा अविरल, वडा बाल सञ्जालको सचिव रोजी थापा शिक्षक प्रकाश आचार्य लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।। 
 वडा अध्यक्ष सुरज बोसेलको अध्यक्षता र शिक्षक प्रतिनिधि बालकृष्ण शर्माको संचालनमा सम्पन्न कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थी र अन्य सरोकारवाको सहभागीत रहेको थियो । मुख्य समारोह अघि बाजागाजा, बालमैत्री अभियानका सन्देशमुलक नारा बोकेका बालबालिका, अभिभावक विभिन्न संघसंस्थाका प्रतिनिधि समेतले बजार परिक्रमा गरेर बालमैत्री अभियानको बिगुल फुक्ने काम पनि गरेका थिए । कार्यक्रममा बालमैत्री अभियानको अहिले सम्मको प्रगती बिवरण समेत जानकारी गराइएको बालमैत्री फोकल पर्सन सुजता शर्माले जानकारी दिइन् ।
 

प्रतिक्रिया