• गृहपृष्ठ /
  • प्रमुख समाचार ,
  • Breaking News ,
  • राजनिति ,
  • स्थानीय सरकार ,
  • बागलुङ

काँग्रेस बागलुङ क्षेत्र नम्बर १ को सभापतिमा चार जनाको उम्मेदवारी घोषणा

  • कार्तिक २९, २०७८

बागलुङ– नेपाली काँग्रेस १४ औं महाधिवेशनको संघारमा छ । वडा, नगरपालिका र गाउँपालिका तहको अधिवेशन सकिए पश्चात केही समयका लागि स्थगित भएको महाधिवेशन कार्यतालिका पुनः सुरु भएको छ । जिल्लामा प्रदेश सभा क्षेत्र, प्रतिनिधि सभा क्षेत्र र जिल्ला अधिवेशन बाँकी छ । बाँकी तहका अधिवेशन मंसिर ३ गते प्रदेश सभा, ६ गते प्रतिनिधि सभा र १० गते जिल्ला अधिवेशनको मिति तय भएको छ । अधिवेशनको मिति नजिकिएसँगै अधिवेशनको मिति सभापति लगायतका अन्य पदाधिकारी पदमा आफ्नो उम्मेदवारी नै घोषणा गरी नेता तथा कार्यकर्ता रिझाउन उम्मेदवारहरुले भेटघाटका कार्यक्रमलाई तिब्र बनाएका छन । जिल्लाका दुई प्रतिनिधि सभा क्षेत्र र ४ प्रदेश सभा क्षेत्र छन । तीमध्ये प्रतिनिधि सभा क्षेत्र नं. १ को सभापतिका लागि चार जनाले उम्मेदवारी घोषणा गरेर कार्यकर्ता भेटघाटलाई तिब्रता दिएका छन । क्षेत्र नं. १ को सभापतिका लागि काँग्रेसका आमन्त्रीत जिल्ला सदस्य चण्डीप्रसाद शर्मा पौडेल, नेविसंघका अध्यक्ष एवं काठेखोला गाउँपालिका–१ का वडा अध्यक्ष खड्क बहादुर थापा, तरुणदलका पूर्व सचिव प्रकाश आचार्य र नेपाली काँग्रेसका राज्य प्रशासन विभाग केन्द्रीय सदस्य एवं क्षेत्रीय सदस्य प्रमानन्द कंडेलले आफ्नो उम्मेदवारी घोषणा गरेका छन । 
चारै जनाले आफ्नो सामाजिक सञ्जाल मार्फत क्षेत्रीय सभापति पदका लागि उम्मेदवार दिने घोषणा गर्नुका साथै आफ्नो पक्षमा माहोल सिर्जना गर्नका निम्ति प्रतिनिधिहरुलाई भेटघाटका कार्यक्रम तिब्र बनाएका छन । पौडेल र आचार्य जिल्लामा पौडेल पक्षका तर्फबाट चिनिन्छन भने थापा र कंडेल देउवा पक्षका रुपमा चिनिन्छन । एक सभापति पदका लागि चार जना आकंक्षी देखिए पनि निर्वाचनको समयम सम्म दुई जना विच प्रतिस्पर्धा हुने काँग्रेसका जिल्ला स्तरीय एक नेताले बताए । 
कार्यकर्ताको जीवनस्तर रुपान्तरण गर्नेछु – चण्डीप्रसाद शर्मा पौडेल
नेपाली काँग्रेस क्षेत्र नं. १ को क्षेत्रीय नेतृत्व समाल्नका लागि सभापतिको उम्मेदवारी घोषणा गरेका चण्डीप्रसाद शर्मा पौडेलले आफ्नो उम्मेदवारी गतिशील काँग्रेस निर्माण गर्न र कार्यकर्ताको जीवनस्तर रुपमान्तरण गर्नका लागि रहेको बताएका छन । उनले पार्टीको जागरण, विकास, प्रवद्र्धन र संजालिकरण गरी अब्बल कांग्रेस बनाउने अठोटका साथ उम्मेदवारी घोषणा गरेको बताए । पौडेलले क्षेत्रीय सभापतिको पदलाई आफूले पदीय आकांक्षाको प्राप्तिको लागि भन्दा पनि सिद्धान्त प्राप्तिको रुपमा लिएको बताएका छन् ।  ‘जुझारु कार्यकर्ता, उर्जाशील नेतृत्व र गतिशिल संगठन’ भन्ने आफ्नो मुख्य रणनीति सहित अगाडि बढेका पौडल विद्यार्थी, शिक्षक राजनीति, सामाजिक संस्थाको नेतृत्व हुँदै लामो समय कांग्रेसको विभिन्न जिम्मेवारीमा रही कार्य सम्पादन गरेका  छन । उनले काँग्रेसको नेतृत्व तहमा रहेर जिल्लामै नमूना संगठन निर्माण गर्न र वीपीको परिकल्पना अनुरुपको समाजवादको नमूना कार्यक्रम लागु गर्ने इच्छा रहेको बताए । 
आम कार्यकर्ता माझ आफ्ना प्रतिवद्धता सार्वजनिक गर्दै पौडेलले आफु सभापति बनेसँगै पार्टीका अभिलेखहरु चुस्तदुरुस्त राख्न र प्रभावकारी सेवा प्रवाह गर्न जनशक्ति सहितको प्रविधियुक्त सुविधा सम्पन्न क्षेत्रीय कार्यालय स्थापना गरेर अगाडी बढने बताए । उनले  सवै नेता तथा कार्यकर्ताको सहभागितामा आगामी ४ बर्षिय पार्टी संगठन सुदृढिकरण क्षेत्रीय रणनिति योजना निर्माण गरी अगाडी बढे्का छन । ‘कार्यकर्ताको कामका लागि नै सभापतिको उम्मेदवारी दिएको हुँ पौडेलले भने,–‘जनताका जनजीविकाका सवाल र विकास निर्माणमा देखिएका ढिला सुस्तिहरु हटाउन सम्बन्धित निकायहरुमा समन्वय सहकार्यका साथै दवावमूलक अभियानहरु संचालन गर्नेछु ।, प्रशिक्षित र सृजनशील कार्यकर्ताहरु नै पार्टीको आधार स्तम्भ हुन् भन्ने मान्यतालाई आत्मसात गर्दै नेतृत्व व्यक्तित्व विकासका कामलाई अगाडी बढाउने छु । यसले कार्यकर्ताको थप उत्साह जाग्नेमा विश्वास  लिएको छु ।’
 पौडेलले बागलुङ जिल्लाका विदेशमा रहेका व्यक्ति तथा संस्थाहरुसँग हेलो कांग्रेस कार्यक्रम मार्फत सम्पर्क तथा समन्वय गरी पार्टी संगठनलाई सुदृढ र जीवन्त बताएका छन । प्रत्येक  पालिकाहरुसँग समन्वय गरी वडा स्तरमा वर्षमा एक पटक क्रियाशील सदस्यहरुको सम्मेलन गरी पार्टीका नीति तथा कार्यक्रमहरु प्रस्तुत गर्ने आफ्नो योजना रहेको बताए ।
पौडेलले पार्टीका गतिविधिहरु जनमानस माझ पु¥याउन नेपाल प्रेस युनियनसँग सहकार्य गरी प्रत्येक वडामा १ जना प्रशिक्षित पत्रकार गर्ने र आम कार्यकर्तालाई थप उत्साह जगाउने बताए । पछिल्लो समयमा प्रविधिको विकास सँगै पार्टीका संगठनहरुलाई प्रविधिसँग जोडेर जनताका कामहरु छिटो छरितो रुपमा सम्पन्न गर्दै युवाहरुलाई उद्यमी बनाउनुका साथै सीप तथा रोजगारी सिर्जना गर्नका लागि पहल थाल्ने पौडेल बताउँछन । सबै प्रकारका विपत्तीहरुको सामना गर्न र सामाजिक अभियानमा कांग्रेसलाई जोड्नका लागि ‘नेपाली कांग्रेस विपद व्यवस्थापन कोष’ को स्थापना र यसलाई प्रभावकारी रुपमा संचालन गर्ने र नियमित रुपमा भातृ संगठन तथा शुभेच्छुक संघ संस्थाहरुसँग समुचित सहयोग, समन्वय र सहकार्य गरी पार्टी संगठनलाई संचालन गर्ने बताए । पौडेलले  विगतमा संघ, प्रदेश र स्थानीय तहमा कांग्रेस पराजित भएकाले पार्टीलाई पुरानो विरासत फर्काउने आफ्नो मुख्य लक्ष्य रहेको बताए । शिक्षण पेशा हुँदै गैरसरकारी संस्था र सहकारी अभियानमा लागेर सफल भएका पौडेल सक्रिय राजनीतिमा आउन लागेका हुन् ।
बागलुङ नगरपालिका–९ तित्याङमा जन्मिएका पौडेल २०४२ सालको सत्याग्रहमा सहभागी भै राजनिति गतिविधिमा अगाडी बढेका थिए ।  गाउँकै तित्याङ माविमा नेविसंघको संस्थापक अध्यक्ष भएर विद्यार्थी राजनिति सुरु गरेका पौडेल पछि नेविसंघको जिल्ला सहसचिव भए । पौडेल नेपाल शिक्षक संघको जिल्ला सदस्य हुँदै कोषाध्यक्ष समेत बनेर शिक्षक संघको संगठनलाई अगाडी बढाए । उनी १२ औं महाधिवेशन पश्चात नेपाली काँग्रेस बागलुङ क्षेत्र नंं. सल्लाहकार भएर काम गरे भने हाल काँग्रेसको आमन्त्रीत जिल्ला सदस्य छन । पौडेलकै नेतृत्वमा स्थापना गरेको सामाजिक संस्था सिवाईसी नेपाल अहिले देशव्यापी भएको छ भने अन्य दर्जन भन्दा बढि सामाजिक संस्थाको नेतृत्व समाल्दै आएको छन । पौडेलले अग्रजलाई सम्मान र युवालाई प्रोत्साहन गर्दै सामाजिक राजनीति क्षेत्रमा क्रियाशील रहँदाका अनुभवलाई समेटेर पार्टीलाई बलियो बनाउनका निम्ति सभापतिको जिम्मेवारी सम्हाल्ने निधो गरेको बताए । 
नेतृत्वमुखी हैन नीतिमुखी पार्टी निर्माण गर्नेछु– खडक बहादुर थापा
नेपाली काँग्रेस बागलुङ क्षेत्र नं. १ को क्षेत्रीय सभापतिका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका युवा नेता खड्क बहादुर थापाले नेतृत्वमुखी नभएर नीतिमुखी पार्टी निर्माणका लागि क्षेत्रीय सभापतिको उम्मेदवारी दिएको बताए । 
समुन्नत समाज समृद्ध देश, कुशल नेतृत्व गतिशील काँग्रेस भन्ने नारालाई मूल मन्त्र बनाएका थापाले २१औं शताब्दीका नविनतम चुनौतीहरुको सामाना गर्न सक्ने ज्ञान, सीप क्षमता उर्जा र इच्छाशक्ति सहितको भिजनरी नेता तथा कार्यकताले भरिएको पार्टी निर्माण गर्ने दृढ संकल्प सहित आफुले सभापतिमा उम्मेदवारी दिएको बताए ।  उनले सुसंस्कृत सभ्य जुझारु र जनतामा रहरलाग्दो र भरलाग्दो काँग्रेस बनाउनका निम्ति आफुले सभापतिमा उम्मेदार दिएको बताए । ‘काँग्रेस पार्टी समाजिक न्याय सहित, सहभागिता मुलक लोकतान्त्रिक प्रणाली अनुरुपको पार्टी संरचनान निर्माण गर्नु छ,’ थापाले भने,–‘गुटको आधारमा नभई कार्यकर्ताहरुमा भएको ज्ञान सिप क्षमता र प्रतिभाको आधारमा उचित व्यवस्थापन गरी पार्टीलाई अग्रपङ्तीमा लैजाने जिम्मा हाम्रो काँधमा आउनेछ । यसको व्यवस्थापन गर्नका निम्ति नै नेतृत्व गर्न अग्रसर भएको हुँ ।’
 उनले सामुहिक जवाफदेहिता, उत्तरदायित र आन्तरिक लोकतन्त्रको पूर्ण प्रयोगलाई बलियो बनाउनका निम्ति आफनो उम्मेदवारी रहेको बताए । थापाले राजनीतिलाई सबैको मनोभाव अनुसार पेशा नभएर आदर्श र जनसेवाको रुपमा विकास गर्नका लागि आफु क्षेत्रीय सभापतिमा उम्मेदवार बन्ने बताए ।  समुन्नत समाज समृद्ध देश कुशल नेतृत्व गतिशील काँग्रेस भन्ने अभियानका साथ अगाडि बढेको उनले बताए । ‘काँग्रेसलाई नयाँ गतिका साथ अगाडि बढाउनका लागि कुशल नेतृत्व आवश्यक छ, त्यसको लागि म आफुलाई प्रस्तुत गरेको छु,’उनले भने,‘सहीदको सम्मान र पार्टी नेता कार्यकर्तालाई उचित जिम्मेवारी प्रदान गर्दै काँग्रेसलाई युग सुहाउँदो र जनताको भरोसायोग्य पार्टी बनाउने उनले बताए । कार्यकर्तालाई उत्पादनमुखी क्षेत्रमा लाग्न प्रेरित गर्दै स्वाभीमानी र स्वावलम्बी काँग्रेस बनाउने र वैचारिक स्खलन र संकुचनमुक्त राजनीतिक दुरदर्शिता भएको स्वाभिमानी र स्वावलम्बी काँग्रेस निर्माण गर्ने उनको दाबी छ । थापाले संस्कार सहितको राजनीतिक अभ्यास गर्ने बताए । ‘अहिले राजनीतिक संस्कार ओरालो लाग्दो क्रममा रहेको छ,’ उनले भने,‘संस्कार सहितको राजनीतिको विकासका लागि राजनीतिक नेतृत्व आवश्यक पर्छ । मैले आफ्नो पूरा जीवन नै राजनीतिमा समर्पण गरेका कारण गलत ट्रयाकमा जान खोजेको राजनीतिलाई परिवर्तन गरेर सही ट्रयाकमा ल्याउने मुख्य उद्देश्य हुनेछ ।’ नेता कार्यकर्ताको योगदानको अभिलेख तयार पारेर योगदान र क्षमता अनुसार भूमिका दिई पार्टीलाई बलियो बनाउने उनी बताउँछन् । 
जिल्लाको काठेखोला गाउँपालिका–१ पालामा जन्मिएका थापा २०५६ सालदेखि नेविसंघको राजनितिमा प्रवेश गरेका थिए । उनी पालामा रहेको धिमि करिना माविको नेविसंको ईकाई अध्यक्ष हुँदै विद्यार्थी राजनितिमा अगाडी बढेका हुन । थापा २०६३ सालमा धौलागिरि बहुमुखी क्याम्पसको स्ववियु सदस्य हुँदै २०६५ सालमा स्ववियु सचिव भएका थिए । नेपाल विद्यार्थी संघको विद्यालय स्तरबाटै राजनिति सुरु गरेका थापा २०६४ मा सहसचिव हुँदै २०७१ मा जिल्ला अध्यक्षमा निर्वाचित भएका थिए । थापा स्व. हरिबहादुर खड्काको स्वकिय सचिव भएर काम गरे भने पछि पुर्व राज्यमन्त्री चम्पादेवी खड्काको पनि स्वकिय सचिव भएर काम गरे । नेपाली काँग्रेस पालको दुई कार्यकाल सभापति भएर नेतृत्व समालेका थापा नेपाल राष्ट्रिय मगर संघको गण्डकी प्रदेशको सचिव र हाल काठेखोला गाउँपालिका–१ पालको वडा अध्यक्ष हुन भने नेपाली काँग्रेसको क्षेत्रीय सदस्य रहेर काम गरेका छन । थापाले अन्य सामाजिक संघ संस्थामा पनि नेतृत्व सम्हालेका छन ।  विद्यार्थी राजनीतिदेखि नै अग्रसर रहेका थापा अब पार्टीको नेतृत्व तहमा रहेर संगठनलाई चुस्त दुरुस्त बनाउनका लागि आफुले क्षेत्रीय सभापतिको उम्मेदवारी दिएका बताए । 
संगठन बलियो बनाउन लाग्ने छु, कुनै लाभको पद लिने छैन –प्रकाश आचार्य

क्षेत्रीय सभापतिका उम्मेदवार प्रकाश आचार्यले आफुले काँग्रेसको संगठनलाई बलियो बनाउने र यो अवधिमा कुनै लाभको पद नलिने घोषणा सहित आफ्नो उम्मेदवारी प्रस्तुत गरेका छन । आचार्यले आफु सभापति भए सँगै क्षेत्र भरी पार्टीको संगठन निर्माणमा लाग्ने र जुझारु एवं बलियो काँग्रेस निर्माणका लागि अहोरात्र खट्टने प्रतिवद्धता सहित आफुले सभापतिका लागि उम्मेदवारी प्रस्तुत गरेको बताए । उनले सवै कार्यकर्ताको आवाज समेट्दै सुदृढ नविनतम काँग्रेस निर्माणकामा सबैको प्रतिविम्ब बन्ने बताए । ‘मेरो उम्मेदवारी काँग्रेसलाई गतिशील, सशक्त, जुजारु अनि पारदर्शी बनाउनका लागि हो, शर्माले भने,– ‘आउँदो निर्वाचनमा सवै क्षेत्रका स्थानिय तह र वडामा काँग्रेसको नेतृत्व स्थापित गर्ने गरी संगठन निर्माणमा खट्ने छु । पार्टीको नेतृत्व सम्हालेर बलियो काँग्रेस निर्माण गर्नमा म प्रतिवद्ध छु ।’ 
उनले आफु सभापति भएसँगै सामाजिक अभियान र विपदमा काँग्रेसलाई जोड्नका जनतासँग काँग्रेसको साथ अभियान सञ्चालन गर्ने बताएका छन । उनले पार्टी भित्र देखिएको चरम गुटउपगुट अन्य गरी सबल र सक्षम काँग्रेस निर्माणका लागि सबै नेता तथा कार्यकर्तालाई समेटर अगाडि बढ्ने बताए । ‘म कुनै लाभका लागि भन्दा पनि पार्टीको संगठन बलियो बनाउनका लागि सभापतिमा उम्मेदवारी दिएको हुँ आचार्यले भने,– सभापति भए सँगै पार्टी संगठनलाई बलियो बनाउनका लागि पालिका र वडा तहका सभापतिहरुसँग सल्लाह गरेर अगाडि बढ्नेछु । यसो गरियो भने पक्के पनि साझा काँग्रेस निर्माण हुने छ । आचार्यले काँग्रेसका कार्यकर्तालाई उद्यम र उत्पादन सँग जोड्ने र गाउँमै गरि खाने वातावरणका लागि आफुले विशषे अभियान संचालन गर्ने बताए । क्षेत्रीय समिति  हाँक्ने आफुसंग स्पष्ट भिजन भएका कारण सभापतिका लागि आफुले अग्रज समकालिन र अनुजहरुसंग सहयोग मागेको अचार्यले बताए । 
बागलुङ नगरपालिका–१ का आचार्य नेपाल विद्यार्थी संघको नगरसभापति हुँदै विद्यार्थी राजनीति सुरु गरेका थिए । आचार्य नेविसंघको क्षेत्रीय सचिव हुँदै नेपाल तरुणदलको जिल्ला सचिवको समेत भुमिकामा रहेर काम गरेका थिए । गत स्थानीय तहको निर्वाचनमा बागलुङ नगरपालिकाको वडा अध्यक्षका उम्मेदवार समेत रहेका आचार्य विभिन्न सामाजिक संघ सस्थामा पनि क्रियाशील रहेका छन । आचार्य उद्योग वाणिज्य संघ बागलुङको सदस्य भए भने निर्माण व्यवसायी संघ बागलुङको अध्यक्ष भएर नेतृत्व सम्हालेका छन । आचार्यले आफुले काँग्रेसललाई सबल र सक्षम पार्टीको रुपमा स्थापित गर्नका लागि आफुले उम्मेदवारी दिएको बताए । 

बलियो काँग्रेस निर्माणका लागि मेरो उम्मेदवारी – प्रमानन्द कंडेल

क्षेत्रीय सभापतिका उम्मेदवार प्रमानन्द कंडेलले बलियो काँग्रेस निर्माणका लागि आफ्नो उम्मेदवारी रहेको बताएका छन । कंडेलले  काँग्रेस पार्टीलाई उत्तरदायी बनाउनका निम्ति गतिशिल बनाउका लागि आफुले क्षेत्रीय सभापतिमा उम्मेदवारी दिएको बताएका छन । उनले सबै कार्यकर्ताको आवाज समेट्दै सुदृढ नविनतम काँग्रेस निर्माणकामा सबैको प्रतिविम्ब बन्ने बताए । ‘मेरो उम्मेदवारी काँग्रेसलाई गतिशील, सशक्त, जुजारु अनि पारदर्शी बनाउनका लागि हो, कंडेलले भने,– ‘आउँदो निर्वाचनमा प्रदेश, नगर गाउँ  सबै क्षेत्रमा काँग्रेसको नेतृत्व स्थापित गर्नुछ  । नेतृत्व स्थापित गर्नका निम्ति जिम्मेवारी पुरा गर्ने छु ।  पार्टीको नेतृत्व सम्हालेर बलियो काँग्रेस निर्माण गर्नमा म प्रतिवद्ध छु ।’ कंडेलले आफुले पार्टी संगठनलाई कसरी संचालन गर्ने पूर्ण रुपमा भिजन तयार पारिसेको बताए । उनले आफुले नेतृत्व सम्हालेसँगै सवै वडा तहमा प्रशिक्षणका कार्यक्रम संचालन गर्ने र संस्थागत अभिलेख तयार पारी यसलाई समीक्षा गर्ने बताए । कंडेलले हरेक गाउँ नगरपालिकामा समय समयमा संगठनलाई बलियो बनाउनका लागि विशेष अभियान संचालन गर्ने  पार्टीलाई सधै सक्रिय बनाउने आफुले लक्ष्य राखेको बताए । 
जिल्लाको काठेखोला –८ लेखानीमा जन्मिएका कंडेल २०४३ सालदेखि नेविसंघको राजनीतिमा सक्रिय भएका कंडेल २०४६ सालको जनआन्दोलनमा सक्रिय भुमिका खेलका थिए । २०४७ सालमा लेखानी माविबाट भाग लिई नेविसंघको जिल्ला अधिवेशनमा सक्रिय भुमिका खेलका कंडेल २०४८ सालमा नेपाली काँग्रेसको क्रियाशील सदस्य बने । त्यस पश्चात पार्टीको  गाउँ तहदेखी विभिन्न पदमा काम गर्दै आएका उनी २०४८ सालदेखि २०५१ सालसम्म पिएन क्याम्पसमा नेविसंको इकाइ सदस्य समेत रहेर काम गरे । 
काँग्रेसको तत्कालिन गाउँकार्यसमितिमा रहेर काम गरेका कंडेल ११ औं, १२औं र १३ औं महाधिवेशनमा क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका थिए । त्यसैगरी १२ औं र १३ औं महाधिवेशमा क्षेत्रीय समितिमा निर्वाचित भएका थिए । कंडेल हाल क्षेत्रीय सदस्यका साथै नेपाली काँग्रेसको केन्द्रिय राज्य प्रशासन विकास विभाग केन्द्रीय सदस्यको रुपमा जिम्मेवारी लिएका छन । 
विगत २५ वर्षदेखि गाजा डेभलपमेण्ट फाउण्डेशनको नेतृत्व सम्हाल्दै आएको कंडेलले अन्य दर्जन भन्दा बढि सामाजिक संस्थामा नेतृत्व समाल्दै आएका छन । काँग्रेसको तल्लो तहदेखि संगठन निर्माणको लामो अनुभव रहेका कंडेलले आफुले क्षेत्रीय समितिको सभापति भएर सबल र सक्षम काँगेस निर्माणका निम्ति नविनतम प्रयास थाल्ने बताए । क्षेत्रीय समितिका लागि एक सभापति, दुई सचिव, दुई सह–सचिव पदाधिकारीमा निर्वाचन हुने छ भने निर्वाचित सदस्यबाट नै कोषाध्यक्ष चयन गर्ने विधानमा व्यवस्था रहेको छ । 
 

प्रतिक्रिया