कांग्रेस बागलुङमा उम्मेदवार सिफारिस हुनै ७५ हजारसम्म शुल्क

  • भदौ १६, २०७९

बागलुङ- नेपाली कांग्रेसले उम्मेदवार सिफारिस गर्दा शुल्क नलिन निर्देशन गरे पनि बागलुङ कांग्रेसले भने ७५ हजार रुपैयाँ शुल्क तोकेको छ । बागलुङ कांग्रेसले आकांक्षीहरूले उम्मेदवारको रुपमा सिफारिस हुन आवेदन दिनुपर्ने र त्यसका लागि ७५ हजार रुपैयाँ शुल्क तिनुपर्ने व्यवस्था गरेको हो । नेता, कार्यकर्ताले भने उम्मेदवारको रुपमा सिफारिस हुनकै लागि चर्को शुल्क तोकिएको भन्दै असन्तुष्टि पोखेका छन् । 

केन्द्रीय कार्यालयले १३ भदौमा गरेको सर्कुलरमा उम्मेदवार सिफारिस गर्दा कुनै पनि शुल्क नलिनु भन्ने निर्देशन छ । तर, जिल्ला कार्यसमितिले भने ७५ हजार रुपैयाँ शुल्क तोकेर उम्मेदवार बन्न खोज्नेको ढाड सेकेको नेताहरूको गुनासो छ ।

‘जीवनभर राजनीति गरेकाहरूले यत्तिको शुल्क कसरी बुझाउने ?,’ नेविसंघ बागलुङका पूर्वअध्यक्ष महेन्द्रप्रसाद कँडेलले भने, ‘न कुनै लाभको पदमा बसियो, न पदाधिकारी नै बनियो, उम्मेदवारी दिन खोज्दा ढाड सेक्ने गरी पैसा तोकिएको छ ।’ उनले केन्द्रीय कार्यालयको निर्देशनविपरीत शुल्क तोकिएपछि केन्द्रमा उजुरी गरिएको बताए ।

जिल्ला कार्यसम्पादन समितिले प्रतिनिधिसभा सदस्य र समानुपातिक उम्मेदवार बन्नका लागि पार्टी कार्यालय भवन बनाउन ६० हजार रुपैयाँ सहयोग गर्नुपर्ने मापदण्ड बनाएको छ । सो शुल्क बुझाएपछि थप १५ हजार तिरेर दरखास्त दर्ता गर्ने प्रावधान राखिएको छ ।

त्यस्तै, प्रदेश सभाका लागि पनि ४० हजार रुपैयाँ शुल्क तिर्नुपर्ने र थप १२ हजार तिरेपछि उम्मेदवारका लागि दरखास्त हुने जिल्ला कार्यसमितिको मापदण्ड छ ।

जिल्ला सचिव हरिहर शर्माले भने उम्मेदवार सिफारिस गर्दा पार्टीको भवन निर्माणका लागि सहयोग रकम उठाइएको बताए । ‘हामीले बीपी स्मृति भवन भनेर पार्टी कार्यालय बनाउने तयारीमा छौं, त्यसैले यो मौकामा केही रकम संकलन गर्न खोजिएको हो,’ शर्माले भने, ‘सांसद बन्छु भन्नेले पार्टीको लागि त्यत्ति सहयोग गर्न नसक्ने नेता खासै छैनन् ।’

उनले कोही त्यत्ति शुल्क तिर्न नसक्ने, तर उम्मेदवारको सिफारिसमा हुनैपर्ने निष्ठावान व्यक्ति भए शुल्क नलिने समेत बताए । उनका अनुसार भवन निर्माणका लागि जग्गा खरिद गरी काम अघि बढाउन ५० लाख रुपैयाँ जम्मा भइसकेको छ । साभार  प्रकाश बराल कान्तिपुर दैनिक https://ekantipur.com

प्रतिक्रिया