बागलुङ - बागलुङ नगरपालिका कार्यालयले जनप्रतिनिधिका लागि लक्षित गरी व्यक्तिगत घटना दर्ता तथा समाजिक सुरक्षा भत्ता सम्बन्धी अभिमुखिकरण कार्यक्रम संचालन गरिएको छ ।
नगरपालिकाको आयोजनामा बुधबार नगर भित्रका सवै वडा तहका जनप्रतिनिधिलाई घटना दर्ता र सामाजिक सुरक्षा भत्ताका बारेमा जानकारी दिईएको छ । कार्यक्रममा बोल्दै बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले व्यक्तिगत घटना समयमा नै दर्ता गर्न जरुरी रहेको बताए । उनले व्यक्तिगत घटना दर्ता नगर्ने परिपाटीले विभिन्न समस्या निम्तिने भन्दै यस विषयमा नगरपालिकाका सबै वडा तहमा आम नागरिकलाई सचेत गराउन आग्रह गरेका थिए । उनले ३५ दिन भित्र आम नागरिकले आफ्ना व्यक्तिगत घटनाहरु दर्ता गर्नुपर्ने बताए ।
नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेल, अधिकृत आठौ युक्त प्रसाद सुवेदी लगायतले नयाँ शैक्षिक सत्र लागे सँगै विद्यालय भर्नाका अभियान संचालन हुने हुँदा विद्यार्थी भर्ना हुँदा जन्मदर्ता अनिवार्य गरेर सोही अनुसार गर्नुपर्ने धारणा राखेका थिए ।
कार्यक्रमको सहजीकरण नगरपालिकाका प्रशासन शाखा प्रमुख भिमसेन पन्तले गरेका थिए ।
कार्यक्रममा सहभागीले व्यक्तिगत घटना दर्ता र कानुनी प्रावधानका बारेमा जिज्ञासा राखेका थिए भने सामाजिक सुरक्षा भत्ताको विषयमा पनि छलफल गरेका थिए । नगरपालिकाले आगामी बैशाख १ गते देखी ७ गते सम्म हरेक वडामा सप्ताहव्यापी घटना दर्ता अभियान संचालन गर्ने जनाएको छ । घटना दर्ता अन्तरगत जन्म मृत्यु, बसाईसराई, विवाह, सम्बन्ध विच्छेद लगायतका पर्दछन ।
कार्यक्रम एमआईएस अपरेटर हरि गौतमको स्वागत र मुना थापाको संचालनमा सम्पन्न भएको थियो ।