बागलुङ,- यतिबेला देशका विभिन्न राजनितिक दलको अधिवेशनहरु चलिरहेको छ । केही ठुला राजनितिक दल काँग्रेस एमाले र माओबादी र राप्रपा लगायतका राजनितिक दलले केन्द्रीय अधिवेशन टुंगाएका छन । नेकपा एमालेको भने यति बेला जिल्ला अधिवेशन भै रहेको छ । जिल्ला अधिवेशन चलिरहँदा विभिन्न उमेर समुहका नेता तथा कार्यकर्ताहरुले आफुलाई नेतृत्वमा स्थापित गर्नका लागि खटिरहेका छन । पार्टीको महत्वपुर्ण पदमा पुग्नका लागि कपाल फुलाउने कैयौँ नेता तथा कार्यकर्ता पनि धेरै छन् । विभिन्न पार्टीभित्र हुने पदको दौडमा कतिपय सफल हुन्छन् त कतिपय असफल । कतिपय चाहेको पदमा नपुग्दै राजनीतिबाट किनारा लाग्न पुग्छन् ।
नेतृत्वमा पुग्ने दौडमा बागलुङको गलकोट नगरपालिका–२ की २५ बर्षिया आकृति भण्डारीले भने छोटो समयमा नै राजनितिक सफलता हासिल गरेकी छन । युवा उमेरमै भण्डारी नेकपा एमाले बागलुङको जिल्ला सदस्यमा सर्वसम्मत निर्वाचित भएकी छन । २० वर्षको उमेरमा एमालेको जनवर्गिय संगठनको रुपमा रहेको युवा संघको सदस्यता लिएर आफ्नो राजनितिक यात्रा सुरु गरेकी भण्डारी पाँच वर्ष मै जिल्ला तहको नेतृत्वमा आफुलाई स्थापित गर्न सफल भएकी छन । उनी जिल्लामै कान्छी सदस्य हुन ।
पाँच वर्ष पहिले नेकपा एमालेको जनवर्गिय संगठन युवा संघबाट औपचारिक रूपमा राजनीतिमा प्रवेश गरेकी भण्डारी खेलकुद महासंघको केन्द्रीय सदस्य, प्रदेश खेलकुद परिषदको कार्यसमिति सदस्य र पार्टीको जनवर्गिय संगठनमा रहेर हरेक क्रियाकलापमा सक्रिय भुमिका खेलेकी छन । पार्टीको भित्रका संगठन बाहेक बागलुङ जेसीसको कार्यकारणी उपाध्यक्ष र अन्य विभिन्न सामाजिक संस्थामा रहेर पनि थुप्रै काम गरेकी भण्डारीले नेकपा एमालेको नवौ जिल्ला अधिवेशनबाट जिल्ला सदस्यमा निर्वाचित भएकी हुन । ‘पार्टी भित्र कुनै तहमा बसेर काम नगरेपनि लामो समयदेखि हरेक गतिविधिलाई नियाल्दै आएको छु । पछिल्लो समयमा हरेक राजनितिक दलमा युवाको आर्कषण बढ्दै गएको छ । भण्डारीले भनिन–‘नेकपा एमालेमा पनि अब युवाहरुको नेतृत्व खाँचो देखे अनि जिल्ला सदस्य बन्ने निधो गरे, सर्वसम्मत नै जिल्ला सदस्यमा निर्वाचित भएँ । उनले अब पार्टी भित्र युवाहरुका मुद्धालाई अगाडी सारेर उनिहरुका मुद्धालाई स्थापित गर्न लाग्ने बताईन । भण्डारी जिल्ला सदस्य महिला खुल्ला पदमा निर्वाचित भएकी हुन ।
एमाले बागलुङको अध्यक्षमा पनि युवा नेता हिरा बहादुर केसी निर्वाचित भएका छन । केसी सँगै अधिकाशं पदाधिकारी र सदस्यहरु पनि युवा नै निर्वाचित भएका छन । काँग्रेस, एमाले माओबादी केन्द्रका पछिल्ला अधिवेशनमा केन्द्रित हुँदा युवाको राजनीतिमा बलियो उपस्थिति देखिएको छ ।