भुमि आयोग बागलुङले पूर्णता पायो

  • चैत १४, २०७८

बागलुङ- राष्ट्रिय भूमि आयोग बागलुङले पूर्णता पाएको छ । थप भएका तीन जना नयाँ सदस्यलाई आईतबार पद तथा गोपनीयताको सपथ ग्रहण गराइएको छ । नव नियुक्त सदस्यहरु भरत पुरी (विज्ञ सदस्य), शिवाकुमारी खत्री र शोभाप्रसाद शर्मालाई सपथ ग्रहण गराइएको हो । उनीहरुलाई अध्यक्ष धर्म बहादुर कुँवरले पद तथा गोपनीयताको सपथ ग्रहण गराए ।

नव नियुक्त विज्ञ सदस्य भरत पुरी नेकपा (एकिकृत समाजवादी पार्टी), शिव कुमारी खत्री नेपाली काँग्रेस र शोभाप्रसाद शर्मा नेकपा माओवादी केन्द्रको कोटाबाट सदस्यमा मनोनित भएका हुन् । तीन सदस्य नियुक्ति भएसँगै आयोगले पूर्णता पाएको हो ।
आयोग गठन व्यवस्था अनुसार सदस्य सचिवमा नापी कार्यालय बागलुङका प्रमुख योगेन्द्र कुमार यादव रहेका छन् । अन्य सदस्यहरुमा जिल्ला समन्वय समिति अधिकारी कृष्णराज गौतम, प्रशासकीय अधिकृत मोहनप्रसाद उपाध्याय, मालपोत अधिकृत देवेन्द्र बहादुर थापा, सहायक वन अधिकृत मदन कँडेल रहेको जिल्ला समन्वय समिति बागलुङका सूचना अधिकारी दुर्गाप्रसाद आचार्यले जानकारी दिए ।
सपथ ग्रहण कार्यक्रममा जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुङ्गानाले भूमिहीनहरुलाई समयमा नै भूमि उपलब्ध गराउने गरी काम गर्न आग्रह गरे । 
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रमेश ढकालले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । राष्ट्रिय भूमि आयोग बागलुङका अध्यक्ष धर्म कुँवरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत जिल्ला समन्वय अधिकारी कृष्णराज गौतम र सञ्चालन सदस्य सचिव योगेन्द्र कुमार यादवले गरेका थिए ।
 

प्रतिक्रिया