बागलुङ । बागलुङ बजारमा रहेको विएसआर मुभीजमा विद्यार्थीले निःशुल्क चलचित्र हेर्न पाउने भएका छ । नेपाली चलचित्रहरुको प्रभाव र सन्देशको बिषयमा विद्यार्थीलाई जानकारी गराउनका लागि मुभिजले विद्यार्थीहरुका लागि निशुल्क चलचित्र प्रदर्शन गराएको छ ।
दैनिक २ वटा सो मार्फत ४ सय जना विद्यार्थीको दरले हाल बजारमा चलिरहेको सामाजिक कथा बस्तुमा आधरित चलचित्र बगान निःशुल्क रुपमा विद्यार्थीले हेर्न पाउने भएका छन । साउनको १५ गतेदेखि सदरमुकाम बागलुङ बजारका नीजि तथा सामुदायीक विद्यालयका विद्यार्थीहरुका लागि निशुल्क चलचित्र प्रदर्शन गरिएको बिएसआर मुभिजका व्यवस्थापक श्रीजेश गजुरेलले जानकारी दिए । यो अवसर साउन २६ गते सम्म चल्ने छ । पछिल्लो समयमा हल सम्म पुगेर चलचित्र हेर्न चलन हट्दै गएको र चलचित्रको व्यापार खस्कदै गएको बेला चलचित्र प्रतिको आर्कषण बढाउनका निम्ती विएसआरले विद्यार्थीका लागि निःशुल्क हेर्न पाउने व्यवस्था गरेको हो । कक्षा ५ देखि १२ सम्मका विद्यार्थीका लागि निशुल्क मुभी देखाईरहेको गजुरेलले बताए । हाल सरोज खनालले निर्देशन गरेको चलचित्र ‘बगान’ विद्यार्थीहरुका लागि निशुल्क प्रदर्शन गरिएको छ ।
चलचित्र क्षेत्र, सिनेमा घर प्रतिको समुदायमा रहेको धारणा परिवर्तनको लागि समेत आफुहरुले अभियान थालेको उनले बताए । ‘हाम्रो समाजमा फिलिम हेर्ने भन्दा अझै पनि नकारात्मक दृष्ट्रीकोणले हेर्ने चलन छ, यसलाई चिर्नका निम्ती सवै विद्यार्थीहरुलाई एकै ठाउँमा राखी शिक्षकहरुको प्रत्यक्ष निगरानीमा चलचित्र हेराउँछौं । गजुरेलले भने,–‘सामाजिक चलचित्रहरु हेर्दा विद्यार्थीलाई पनि नयाँ कुराको जानकारी हुन्छ यसले नकारात्मक भन्दा पनि सकारात्मक पक्षलाई नै राम्रो बनाउँछन । ’ अधिकाशं सिनेमाहरु मनोरञ्जन सँग सँगै सन्देशहरु बोक्ने हुँदा विद्यार्थी मार्फत समाज परिवर्तनमा भुमिका निर्वाह गर्ने उनले बताए ।
चलचित्र हेर्न चाहने विद्यार्थी बागलुङ बजार बाहिरबाट समेत आउन सक्ने छन । पर्वतको कुश्मा, म्याग्दीको बेनी र बागलुङकै ग्रामिण क्षेत्रका विद्यालयलाई सिनेमा घरसम्म आउन आग्रह गरिएको विएसआर मुभिजका अर्का व्यवस्थापक करण बोहोराले बताए । हाल सम्म बागलुङ बजार क्षेत्रका १३ वटा विद्यालयका २ हजार भन्दा बढि विद्यार्थीले निःशुल्क रुपमा चलचित्र हेरीसकेका छन । अघिपछि १५० देखी ३०० रुपैयाँ तिरेर हेर्नुपर्ने चलचित्र यस पटक निःशुल्क हेर्न पाईने भएपश्चात विद्यार्थीहरुको बाक्लो उपस्थिति हुने गरेको उनले बताए । विएसआरले यस समयमा ५ हजार विद्यार्थीले हल सम्मै आएर चलचित्र हेर्न बताएको छ ।
निर्माता, वितरक प्रदर्शकको सहकार्यमा बगान चलचित्र प्रदर्शन गरिएको हो । एक महिला र महिलाहरुले सफलताका लागि गर्ने संघर्षको कथाबस्तु रहेको बगानले विद्यार्थीका लागि सकरात्मक सन्देश प्रवाह गर्ने दाबी गरिएको छ ।