बागलुङ - नेपाल विद्यार्थी संघको ५४ औं स्थापना दिवस बागलुङमा पनि विभिन्न कार्यक्रम सहित मनाएको छ । नेविसंघ जिल्ला कार्यसमिति बागलुङले विभिन्न संघसंस्थामा खाद्य सामाग्री, फलफुल र सरसफाईका सामाग्री वितरण गरेको छ । नेविसंघले सदरमुकाममा रहेको मानवसेवा आश्रममा सरसफाईका सामाग्री, बागलुङ नगरपालिका–४ कुँडुलेमा रहेको मुक्तिनाथ सस्कृत बेदविद्याश्रममा अध्ययनरत विद्यार्थीका लागि खाद्यन्न तथा फलफुल वितरण गरिएको नेपाल विद्यार्थी संघ बागलुङका अध्यक्ष विशेष पराजुलीले जानकारी दिए ।
नेविसंघले मानवसेवा आश्रममा आश्रीतका लागि सरसफाईमा सहयोग पुगोस भन्ने उद्देश्यले त्यहाँ आवश्यक सरसफाईका सामाग्रीहरु वितरण गरेको थियो भने वेदविद्याश्रममा अध्ययनरत विद्यार्थीका लागि खाद्य सामाग्री वितरण गरेको थियो । मानवसेवा आश्रममा भएको कार्यक्रमाम बोल्दै नेपाली काँग्रेस बागलुङका जिल्ला सदस्य जगन्नाथ आचार्यले पछिल्लो समयमा हरेक संघ सस्थाले स्थापना दिवस फरक शैलीमा मनाउँदै गएको बताए । उनले नेविसंघले गरेको सानो सहयोगले आश्रममा आश्रित अनाथ असहायलाई ठुलो राहत भएको बताए । कार्यक्रममा नेपाली काँग्रेस बागलुङ क्षेत्र नं. २ प्रदेश सभा (ख)का सचिव बालकृष्ण शर्मा, धौलागिरी बहुमुखी क्याम्पसमा स्ववियु सभापति सुदिप सागर कंडेल, निर्वतमान स्ववियु समापति मनिष थापा लगायतका विद्यार्थी नेताहरुको उपस्थिति रहेको थियो । नेविसंघले स्थापना दिवसकै अवसरमा कुँडुलेको संस्कृत विद्याश्रममा खाद्य सामाग्री वितरण गरेको छ ।
खाद्य सामाग्री वितरण कार्यक्रममा नेपाली काँग्रेस बागलुङका जिल्ला सदस्य महेन्द्र आचार्य र मुक्तिनाथ बेदविद्याश्रमका संचालक स्वामी ऋषिप्रपनाचार्यले नेविसंघले विद्यालयमा अध्ययनरत विद्यार्थीलाई गरेको सहयोग निकै प्रसंसनिय रहेको बताए । कार्यक्रम नेपाल विद्यार्थी संघका अध्यक्ष विशेष पराजुलीको अध्यक्षता उपाध्यक्ष सागर घर्तिको स्वागत र सचिव पर्वत श्रीषको संचालनमा सम्पन्न भएको थियो ।
नेविसंघको स्थापना दिवसकै अवसरमा नेपाल विद्यार्थी संघ धौलागिरी बहुमुखी क्याम्पसमा ईकाई समिति भने दुई समुहमा विभाजन भएर छुट्टाछुट्टै कार्यक्रम गरेका थिए । हालै मनोनित नेविसंघ ईकाई समितिका अध्यक्ष सुजन सापकोटा नेतृत्वको टोलीले र दिनेश पन्त नेतृत्वले छुट्टाछुट्टै कार्यक्रम गरेका थिए । सापकोटा नेतृत्वको टोलीले क्याम्पसमा अध्ययनरत विद्यार्थीका लागि कलम र चकलेट वितरण र साँझ दिप प्रज्वलन गरेर थियो । दिप प्रज्वलन कार्यक्रममा बोल्दै नेपाली काँग्रेस क्षेत्र नं. १ प्रदेश सभा (ख) सचिव एवं निवर्तमान स्ववियु उपसभापति बालकृष्ण शर्माले नेविसंघले विभिन्न रचनात्मक कार्यक्रमहरु संचालन गरेर नै संगठनलाई झनै मजबुद बनाउने बताए । उनले सवै विद्यार्थीहरु एक जुट भएर लोकतन्त्रलाई संस्थागत गर्नका लागि अग्रसर हुनुपर्ने बताए ।
कार्यक्रमको संचालन स्ववियु सदस्य सचिन हरिजनले गरेका थिए । दिवसकै अवसरमा दिनेश पन्त नेतृत्वको टोलीले धौलागिरी अस्पतालमा रहेका विरामीलाई फलफुल वितरण गरेको छ । अस्पतालको फलफुल वितरण कार्यक्रमको संचालन धौलागिरी बहुमुखी क्याम्पसका स्ववियु उपसभापति दिपक सुवेदीले गरेका थिए ।