पर्वतको जलजलामा ‘हाइभोल्टेज’ प्रवाह हुँदा करेन्ट लागेर एक जनाको मृत्यु ४ घाईते

  • साउन २३, २०७९

पर्वतको जलजला गाउँपालिका वडा नम्बर ७ धारापानीमा ‘हाइभोल्टेज’ प्रवाह हुँदा करेन्ट लागेर आज बिहान एकजनाको मृत्यु भएको छ । चारजना घाइते भएका छन् । 
गाउँका करिब एक सय घरका विद्युतीय सामग्रीहरू जलेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी शिवराज बुढाथोकीका अनुसार घटनामा परी स्थानीय ५० वर्षीया सीता केसीको मृत्यु भएको छ । 
घाइतेहरूको म्याग्दीस्थित बेनी अस्पतालमा उपचार भइरहेको छ । घटनामा बाख्रा फर्मका १३ बाख्रा पनि मरेका छन् । 
मुख्यलाइन र घरघरमा वितरण गरिएको लाइनका तार एउटै पोलमा हुँदा एकअर्कामा जोडिएर अत्यधिक विजुली प्रवाह भएको प्रारम्भिक अनुसन्धानमा पाइएको प्रहरीले जनाएको छ । 
नेपाल विद्युत् प्राधिकरणको पर्वत वितरण केन्द्रले बाँस ढलेर मेनलाइनको तार वितरण लाइनमा छोइँदा घटना भएको जनाएको छ । 
गाउँपालिका अध्यक्ष राजु आचार्यले अत्यधिक करेन्ट प्रवाह हुँदा दुई सयभन्दा बढी घरका मिटरबक्स र सबै वायरिङ जलेको जानकारी दिए । 

प्रतिक्रिया