बागलुङ– ऐतिहासिक भुस पोल्ने पर्वका अवसरमा शुक्रवार जिल्लाको ताराखोला गाउँपालिकाले सार्वजनिक बिदा दिने घोषणा गरेको छ । यही कात्तिक १२ गते बसेको गाउँ कार्यपालिकाको बैठकले उक्त दिन बिदाको निर्णय गरेको हो । वडा नम्बर २ अर्गलमा प्रचलित सो पर्व बर्सेनि कात्तिक २४–२६ गतेसम्म मनाइन्छ । पर्वको मुख्य दिन शुक्रवार गाउँ कार्यपालिका, वडा कार्यालय, विद्यालय लगायत सार्वजनिक संघसंस्थामा बिदा दिने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले जानकारी दिए । गाउँपालिकाले विक्रम संवत् २०७६ देखि भुस पोल्ने पर्वमा बिदा दिन थालेको उनको भनाइ छ । ताराखोलाको रुैथाने मगर समुदायले उक्त पर्वलाई उल्लासका साथ मनाउने गर्छ । सदियौंअघि पाल्पाको अर्गलीबाट बसाइँसराइ गरी आएका मगरका पूर्वजले पर्वको चलन बसालेका हुन् । अर्गलमा खोरिया खनी थातथलो बसाएको र खेती शुरू गरेको दिनको सम्झनामा भुस पोल्ने पर्व मनाउने गरिन्छ । पर्वका अवसरमा प्रकृति पूजाका साथै भुस पोल्ने, छापे खन्ने, मृत्यु संस्कारलगायत सांस्कृतिक गतिविधि हुन्छन् । ताराखोला क्षेत्रमा त्योसँगै परम्परागत सिस्नो खोस्ने, असारे, भदोरै जस्ता मेला, पर्व प्रचलित छन् ।