बागलुङ : नेपाली काँग्रेसको १४ औं महाधिवेसन अन्तर्गत भएको बागलुङ नगरपालिकाको छैठौं अधिवेसनबाट नवनिर्वाचित समितिको बुधबार पदस्थापन गरिएको छ ।
निर्वाचन समितिले नवनिर्वाचित समितिलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेसंगै नयाँ कार्यसमितिको पदस्थापन गरिएको हो । नेपाली काँग्रेस बागलुङ नगरको अधिवेसनबाट उमाकान्त शर्मा ‘बाबु’को नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको थियो । नवनिर्वाचित समितिको पदस्थापन कार्यक्रममा बोल्ने वक्ताहरुले निर्वाचन एउटा लोकतान्त्रिक प्रक्रिया भएकाले यसलाई जित या हारको रुपमा नलिई सबै मिलेर काँग्रेसलाई बलियो बनाउनका लागि सबैले मिलेर अगाडि बढ्न आग्रह गरे ।
‘नेतृत्व लिने सवालमा आन्तरिक रुपमा प्रतिस्पर्धा भयो, तर यसलाई हामीले जित हारको रुपमा लिनु हुँदैन,’ उनीहरुले भने,‘सबै मिलेर नेपाली काँग्रेसलाई बलियो बनाउनु जरुरी छ ।
अबको ६ महिनापछि आउने स्थानीय निर्वाचनमा नेपाली काँग्रेसलाई बागलुङ नगरपालिकामा विजयी बनाउनका लागि सबै मिलेर अगाडि बढ्नुको विकल्प छैन ।’ कार्यक्रममा बोल्दै नेपाली काँग्रेस केन्द्रीय सदस्य रत्ना शेरचनले आन्तरिक प्रतिस्पर्धालाई सामान्य लिएर अगाडि बढ्न आग्रह गरिन् ।
उनले विजेता भएर प्रमाणसंगै जिम्मेवारी पनि प्राप्त भएकाले त्यसलाई गम्भीरताका साथ बहन गर्न आग्रह गरिन् । ‘हामीले सर्वसम्मत नेतृत्व चयनको प्रयास पनि नगरेको होईन तर त्यसमा सफल हुन सकिएन,’ उनले भनिन्,‘निर्वाचन एउटा प्रक्रिया थियो त्यसलाई सामान्य प्रक्रियाको रुपमा लिएर सबै एक साथ अगाडि बढ्नुपर्छ ।’ उनले अबको ५÷६ महिनामा आउने स्थानीय निर्वाचन जिताउनुपर्ने मुख्य चूनौती नवनिर्वाचित समितिलाई रहेको बताईन् । कार्यक्रममा आमन्त्रित केन्द्रीय सदस्य किरणराज पौडेल निर्वाचित व्यक्तिले सबैलाई मिलाएर जानुपर्ने बताए ।
उनले पार्टीमा विचार भन्दा पनि व्यक्ति केन्द्रीत गुटका कारण समस्या सिर्जना हुँदै गएको बताए । ‘हामीले निर्वाचनको परिणामलाई सहज रुपमा लिएर अगाडि जानुपर्छ,’ उनले भने,‘निर्वाचित व्यक्तिले सबैलाई साथमा लिएर अगाडि जानुपर्ने हुन्छ । पार्टीमा देखिएको व्यक्ति केन्द्रीत गुटका कारण समस्या देखिने गरेको छ । त्यसलाई हामी सबैले अन्त्य गर्नुपर्छ ।’
कार्यक्रममा निवर्तमान जिल्ला सभापति एवं संविधान सभा सदस्य प्रकाश पौडेलले अब आउने निर्वाचनहरुमा बागलुङमा काँग्रेस जिताउनका लागि सबै लाग्नुपर्ने बताए । कार्यक्रममा नेपाली काँग्रेस बागलुङ महासमिति सदस्य तथा पूव राज्यमन्त्री चम्पादेवी खड्का, नेपाली काँग्रेस बागलुङका सचिव नवराज पौडेल, महासमिति सदस्य जगदीशचन्द्र उपाध्याय, महासमिति सदस्य कल्पना हमाल पाठक, महाधिवेसन प्रतिनिधि जगन्नाथ आचार्य लगायतले काँग्रेसको नेतृत्वमा युवा पुस्ताको आगमन सुखद भए पनि त्यसलाई आगामी निर्वाचनबाट प्रमाणित गर्नुपर्ने बताए ।
कार्यक्रममा नवनिर्वाचित बागलुङ नगरसभापति उमाकान्त शर्मा ‘बाबु’ले आगामी स्थानीय निर्वाचनमा नेपाली काँग्रेसलाई बागलुङ नगरपालिकामा नेपाली काँग्रेसलाई विजयी गराउने गरी अभियान सञ्चालन गर्ने बताए ।
‘काँग्रेसलाई बलियो बनाउनका लागि संगठन सुदृढिकरण र प्रशिक्षण कार्यक्रम सञ्चालन गर्नेछौं,’ उनले भने,‘म कुरा भन्दा काममा विश्वास गर्ने व्यक्ति हो । आगामी निर्वाचनमा बागलुङ नगरमा काँग्रेसलाई जिताउने मुख्य उदेश्य हुनेछ ।’ उनले नेपाली काँग्रेस बागलुङ नगरको पार्टी कार्यालय स्थापना गरी पार्टीलाई चुस्तदुरुस्त बनाउने बताए । नेपाली काँग्रेसको बागलुङ नगरलाई २० वर्ष नेतृत्व गरेका महेन्द्र आचार्यले छैठौं नगर अधिवेसनबाट नेतृत्व हस्तान्तरण गरेका छन् ।
आफुले नेतृत्व लिँदै गर्दा लुकाई लुकाई नियुक्तीको चिठी बुझ्नु परेको दिन सम्झदै उनले अहिले भव्य कार्यक्रमबीच नेतृत्व हस्तान्तरण गर्न पाएको खुसी व्यक्त गरे ।
‘मैले नेतृत्व लिने बेलामा सजिलो थिएन, मलाई नियुक्ति दिएईको थियो तर लुकाएर राख्नुपर्ने अवस्था थियो,’ उनले भने,‘अहिले यसरी भव्य कार्यक्रमका बीचमा हस्तान्तरण गर्न पाउँदा मलाई खुसी लागेको छ ।’ कार्यक्रममा निर्वाचित अधिकृत अखिलनाथ शर्माले नवनिर्वाचित नगर समितिका पदाधिकारी तथा सदस्यहरुलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेका थिए ।
असोज ९ गते भएको अधिवेसनबाट उमाकान्त शर्मा ‘बाबु’को नेतृत्वमा ७७ सदस्यीय नगर कार्यसमिति निर्वाचित भएको छ । निर्वाचित समितिको कुल संख्याको २० प्रतिशत मनोनित सदस्य थप्न सकिने काँग्रेसको विधानमा व्यवस्था छ । कोषाध्यक्ष पदमा पनि सदस्यहरु मध्येबाट मनोनित गर्ने विधानमा व्यवस्था गरिएको छ ।
नेपाल महिला संघ बागलुङ नगर अध्यक्ष पिङ्गला जिसीले स्वागत गरेको कार्यक्रमको सञ्चालन नेपाली काँग्रेस बागलुङ नगर समितिका निवर्तमान कोषाध्यक्ष प्रमिला राजभण्डारीले गरेकी थिईन् ।