काठमाडौं- चितवन क्षेत्र नं २ मा रिक्त रहेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन आगामी बैशाख १० गते हुने भएको छ । निर्वाचन आयोगले आइतबार एक विज्ञप्ती जारी गर्दै वि.सं २०८० वैशाख १० गते उपनिर्वाचन गर्ने निर्णय भएको जनाएको छ ।
नागरिकताको विषयमा सर्वोच्च अदालतको फैसलासँगै यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित रवि लामिछाने अयोग्य भएसँगै आयोगले उपनिर्वाचन गर्न लागेको हो । चुनाव तयारीका लागि ७० दिनको समय हुनेगरी मिति तोकिएको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिए ।
उपनिर्वाचनको मिति तोक्नुअघि आयोगले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सल्लाह गरेको थियो । प्रधानमन्त्रीले आयोगलाई उपयुक्त लागेको समयमा चुनाव गर्न सुझाव दिएका थिए ।