बागलुङ- कबड्डीको राष्ट्रिय टोलीमा बागलुङका विशाल थापाले डेब्यु गरेका छन् । आगामी जेठ १३ देखि २१ गतेसम्म बंगलादेशको ढाकामा हुने बंगबन्धु अन्तराष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताका लागि बागलुङका विशाल थापाले राष्ट्रिय टोलीमा स्थान बनाउन सफल भएका हुन् ।
यसअघि लुम्बिनी प्रदेशको नवलपरासीमा सम्पन्न पहिलो चरणको छनौटमा गण्डकी प्रदेशबाट प्रारम्भिक टोलीमा परेका वडिगाड गाउँपालिका वडा नं. ४ का विशाल थापाले कञ्चपुरमा सम्पन्न बन्द प्रशिक्षणसहितको अन्तिम १२ को छनौटमा नेपाली टोलीमा स्थान बनाउन सफल भएको गण्डकी प्रदेशका कबड्डी प्रशिक्षक सन्दिप पन्तले जानकारी दिए । कबड्डीको राष्ट्रिय टोलीमा गण्डकी प्रदेशको प्रतिनिधित्व गर्ने थापा एकमात्र खेलाडि हुन् । थापा रेड र डिफेन्स दुवैमा सक्षम रहेको प्रशिक्षक पन्त बताउँछन् । थापाले गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दे ३ जुनियर र ३ सिनियर राष्ट्रिय प्रतियोगिता समेत खेलेका छन् । बागलुङ बजारस्थित कालिका कन्या माविमा अध्ययनरत थापाले कक्षा ८ देखि कबड्डी खेल्न शुरु गरेका थिए । ‘सानैदेखिको लगन र मेहेनतले थापा राष्ट्रिय टोलीका महत्वपूर्ण सदस्य बनेका हुन्’ प्रशिक्षक पन्तले भने ।
यसअघि प्रारम्भिक छनौटमा अटाएका बागलुङ नगरपालिकाका जीवन ब्लोन भने अन्तिम १२ मा अटाउन सकेनन् ।
बंगबन्धु कबड्डी प्रतियोगितामा थाइल्याण्ड, नेपाल, जापान, श्रीलंका, इराक, मलेसिया, इन्डोनेसिया, पाकिस्तान, दक्षिण कोरिया, केन्या, पोल्याण्ड र आयोजक बंगलादेशसहित १२ देशले उपाधिका लागि प्रतिष्पर्धा गर्ने छन् ।