आज गाई तिहार :गाईको पूजा गरिँदै

  • कार्तिक ८, २०७९

बागलुङ- यमपञ्चक अर्थात् तिहारको चौंथो दिन आज गाई तिहार मनाइँदैछ। हरेक वर्ष तिहारमा गाईको पूजा गर्ने गरिन्छ । कार्तिक कृष्ण औँसीका दिन देवी लक्ष्मीको प्रतीकस्वरूप गाईको पूजा गरिँदैछ ।

विधिपूर्वक गाईको पूजा गरी खानेकुरा खान दिने परम्परा छ । औँसीका दिन बिहान गाईपूजा गर्ने र साँझ लक्ष्मीपूजा गर्नुपर्ने विधि भए पनि तिथिको घटबढका कारण यो वर्ष दुई दिन परेको छ । सोमबार अपराह्न नै औँसी तिथि लागेपछि साँझ लक्ष्मीपूजा गरिएको छ । 

सोमबार २७ घडी १५ पला अर्थात् अपराह्न ५ बजेर ४ मिनेटमा औँसी लागेको हो । मंगलबार २५ घडी ५७ पला अर्थात् अपराह्न ४ बजेर ३३ मिनेटसम्म औँसी रहने पञ्चांग निर्णायक विकास समितिले जनाएको छ । पछिल्लो समयमा ग्रामिण भेगमा गाई पाल्ने चलन हराउँदै गएका कारण सामुहिक रुपमा गाईको पुरा गर्न लागिएको छ । 

वनजंगलका ‌औषधियुक्त घाँसपात खाएर अमृतरूपी दूध दिने भएकाले सनातन हिन्दु समाजमा गाईलाई आमाकै रूप मानिएको छ । गाईबाट प्राप्त हुने पदार्थ पञ्चगव्य (दूध, दही, घ्यू, गहुँत र गोबर) का रूपमा धार्मिक कार्यमा शुद्धिका लागि प्रयोग गरिन्छ । यस्तै​गाईदानको ठूलो महत्त्व छ । देवकार्य वा पितृकार्य गर्दा गोदान नगरी शुद्ध भएको मानिँदैन ।​कृषिकर्ममा गाईबाट प्राप्त हुने गोबर र गोमूत्रलाई मलका रूपमा प्रयोग गरिन्छ । गाईलाई पूजा गर्नाले आमाबाट पाएजस्तै माया गाईबाट पाइने धार्मिक विश्वासमा गाईपूजा गर्ने परम्परा रहेको हो ।  आजैका दिन बेलुकी घरघरमा ‘देऊ शुभ’ भनी देउसी खेल्ने गरिन्छ ।

प्रतिक्रिया