• गृहपृष्ठ /
  • प्रमुख समाचार ,
  • Breaking News ,
  • राजनिति ,
  • स्थानीय सरकार

संघियता बलियो बनाउने नै स्थानीय तह हो—गुरुङ

  • फाल्गुण २०, २०७८

बागलुङ- गण्डकी सरकारका पूर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संघियतालाई बलियो बनाउनका लागि स्थानीय तह बलियो हुनुपर्ने बताएका छन् ।

शुक्रबार जिल्लाको काठेखोला गाउँपालिका—८ लेखानीमा निर्माण गरिएको झोलुङ्गे पुलको उद्घाटन गर्दै उनले बलियो स्थानीय तहले मात्रै नेपाली जनताले संघियताको आभास गर्न सक्ने बताए । ‘संघियता बलियो बनाउनका लागि स्थानीय तह सबल र बलियो हुनुपर्छ,’ उनले भने,‘जनताको नजिकको सरकार भएका कारण यसप्रति जनताको सबैभन्दा धेरै आशा हुन्छ र जनताको दैनिक जीवन पनि यही ठोकिन आईपुग्छ ।’
 उनले संघियता र स्थानीय तहका विषयमा विभिन्न प्रश्नहरु उठे पनि संघियता बलियो हुँदा मात्रै जनताको अधिकार सुरक्षित हुने बताए । ‘हिजो सामान्य कामका लागि पनि काठमाडौं पुग्नुपर्ने अवस्था अहिलेको संघिय संरचनाले गर्दा सजिलो भएको छ,’ उनले भने,‘संघियताका बारेमा प्रश्नहरु उठाउने प्रयास गरिएका छन् । संघियता बलियो भयो भने मात्रै जनताको अधिकार सुरक्षित हुन्छन् र सरल रुपमा जनताले सेवा पाउन सक्छन् भन्ने कुरा हामीले बिर्सनु हुँदैन ।’ नेकपा एमालेको उपमहासचिव समेत रहेका नेता गुरुङले आफु गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री हुँदा स्थानीय सरकार बलियो बनाउनका लागि जग हाल्ने काम गरेको दाबी गरे । 
‘गत निर्वाचनपछि गण्डकी प्रदेश सरकारको नेतृतव हामीले गर्ने मौका पाएका थियौं,’ उनले भने,‘संघियता संरचनामा पहिलो प्रदेश सरकारको रुपमा हामीले स्थानीय तहको पूर्वाधारका लागि जग हाल्ने काम गरेका छौं ।’ नेता गुरुले प्रत्येक पालिका मुकामलाई पक्की सडकले जोड्ने अभियान आफ्नो सरकारले ल्याएको बताए । ‘जनतालाई बढि भन्दा बढि सेवा दिने पालिकाको केन्द्रमा पुग्ने सडक सरल र सहज हुनुपर्छ भनेर हामीले प्रत्येक पालिकाको मुकाम पुग्ने सडकलाई पक्की बनाउने कार्यक्रम थालेका थियौं,’ उनले भने,‘बर्तमान सरकारले भने ती योजनाहरुलाई निरन्तरता दिएको छैन ।’
 विकासे योजनाहरुमा समेत राजनीतिक पूर्वाग्रह राखेर योजनाहरु काटिएकोप्रति उनले आक्रोस व्यक्त गरे । ‘हामीले विकासको जग हाल्ने धेरै कार्यक्रमहरु ल्याएका थियौं, तर अहिलेको सरकारले ती योजनाहरु पनि पूर्वाग्रहको आधारमा काटेको छ,’ गुरुङले भने,‘वर्तमान सरकार संघियताको मर्म भन्दा बाहिर गएर संघियता विरोधीहरुलाई बल पुग्नेगरी काम गरिरहेको छ । हामी प्रतिपक्षका रुपमा विषयलाई शसक्त रुपमा प्रतिवाद गर्छौं ।’ काठेखोला गाउँपालिका–८ लेखानीको पिडाल्नदेखि कादेश जोड्न झोलुङ्गे पुल गण्डकी प्रदेश सरकारको भ्याट सहित दुई करोड ९१ लाख रुपैयाँ लागतमा दोबिल्ला खोलामाथि ३५९ मिटर लामो पुल निर्माण भएको छ । 
लेखानीको दुई बस्ती जोड्ने पुल निर्माण भएपछि लेखानी र कादेश आवत जावतका लागि सहज भएको छ । लेखानी, भुमेचौर दोबिल्ला खोला हुँदै घुमाउँरो सडक पार गर्न करिब एक घण्टा पैदल यात्रा गर्नुपर्ने बाध्यता पुल निर्माणसंगै हटेको छ । पुल निर्माण भएपछि एक घण्टा बढि समय लगाएर यात्रा गर्नुपर्ने बाध्यता घटेर पाँच मिनेटमा ओहोर दोहोर गर्न सकिने भएको काठेखोला—८ लेखानीका वडाध्यक्ष चित्रकला श्रीसले बताईन् ।
 पटक पटकको लकडाउन र निषेधाज्ञाले निर्धारित समयमा निर्माण सम्पन्न नभएको उक्त पुल चालु आर्थिक वर्षको पहिलो महिनामा निर्माण कार्य सकिएर शुक्रबार उद्घाटन गरिएको हो । पुल उद्घाटन कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य इन्द्रलाल सापकोटा, एमाले बागलुङ जिल्ला एमाले नेता नरबहादुर क्षेत्री, वडा सदस्य चन्द्रकुमार थापा, पूर्व गाविस अध्यक्ष डिल बहादुर छन्त्याल लगायतले बोलेका थिए । काठेखोला गाउँपालिका अध्यक्ष अमर थापाको अध्यक्षता, वडा अध्यक्ष चित्रकला छन्त्यालको स्वागत र बेलबहादुर जिसीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । 
 

प्रतिक्रिया