बागलुङ- बागलुङको बडिगाडका महिला सामुदायिक स्वास्थ्य स्वंय सेविकाले भोटेकोशीका बाढि पिडितका लागि राहत रकम सहयोग गरेको छ । बडिगाड गाउँपालिका भित्रका १०३ जना स्वयं सेविकाले १ लाख १ सय ११ रुपैयाँ राहत सहयोग गरेका हुन । संकलित रकम गाउँपालिकामार्फत प्रधानमन्त्री दैविक उद्धार कोषमा जम्मा गरिएको बडिगाड गाउँपालिका स्वास्थ्य शाखा प्रमुख विपेन्द्र केसीले जानकारी दिए ।
नियमित रूपमा समुदायमा स्वास्थ्य सेवा र जनचेतनामूलक काम गर्दै आएका स्वयं सेविकाले विपद्को समयमा आफ्नो सामाजिक जिम्मेवारी सम्झेर सहयोग गर्नु सकारात्मक उदाहरण भएको केसीले बताए ।
‘महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरू समुदायको स्वास्थ्यसँग मात्रै जोडिएका छैनन्, उनीहरू सामाजिक काममा पनि अग्रपंक्तिमा उभिँदै आएका छन्,’ केसीले भने, ‘विपद्को समयमा आफ्नो क्षमता र हैसियत अनुसार सहयोग गर्नु उनीहरूको सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धता हो।’
गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले ठूलो जनधनको क्षति पु¥याएको थियो । बाढीका कारण कतिपय परिवार विस्थापित भएका छन् भने कतिपयले आफन्तसमेत गुमाएका छन् । बाढीले घर, व्यवसाय तथा भौतिक संरचनामा समेत ठूलो क्षति पु¥याएपछि पीडितको सहयोगका लागि देशभरबाट राहत संकलन भइरहेको छ । त्यही अभियानमा आफ्नो सानो भए पनि सहभागिता जनाउने उद्देश्यले रकम संकलन गरिएको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका मिना रायमाझीले बताइन ्।
‘विपद् जसलाई पनि पर्न सक्छ । भोटेकोशीको बाढीले धेरैको घरबार उजाड बनाएको छ । कतिपयका परिवार नै हराएका छन्,’ रायमाझीले भनिन्, ‘सरकारले गरेको सहयोगको आह्वानमा हामीले पनि आफ्नो ठाउँबाट सकेको सहयोग गर्ने प्रयास गरेका हौँ ।’
उनका अनुसार गाउँपालिकाभित्र रहेका सबै १०३ जना महिला स्वास्थ्य स्वयंसेविकाले स्वेच्छाले रकम उपलब्ध गराएका हुन् । ‘हामीले जति सक्यौँ, त्यति गरेका छौँ। रकम ठूलो नहोला, तर विपद्मा परेको परिवारलाई सम्झेर गरेको सहयोगको भावना ठूलो हो,’ रायमाझीले भनिन्, ‘हामीले उठाएको रकम गाउँपालिकामार्फत प्रधानमन्त्री दैविक उद्धार कोषमा जम्मा गरेका छौँ ।’ स्वास्थ्य स्वयंसेविकाहरूले आफूहरू समुदायमा स्वास्थ्यसम्बन्धी कामका लागि घरघर पुग्ने भएकाले विपद्का कारण परिवारले भोग्नुपरेको पीडा नजिकबाट बुझ्ने गरेको बताएका छन् । बडिगाडका १०३ महिला स्वास्थ्य स्वयंसेविकाले गरेको यो सहयोग रकम आर्थिक हिसाबले ठूलो नहोला । तर विपद्मा परेका नागरिकप्रति गाउँको एउटा कुनाबाट देखाइएको यो साथले ‘सहयोग रकमले होइन, भावनाले ठूलो हुन्छ’ भन्ने सन्देश दिएको गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारी बताउँछिन ।