बागलुङ- बागलुङमा जारी प्रदेशस्तरीय ‘बागलुङ कप’ टी२० क्रिकेट प्रतियोगितामा नवलपुरले जित हातपार्दै सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार तनहुँलाई ५५ रनले हराउँदै नवलपुरले सेमिफाइनलमा स्थान पक्का गरेको हो ।
समुह चरणको दोस्रो खेलमा २ सय १२ रनको विजयी लक्ष्य पछ्याएको तनहुँ १७.५ ओभरमा १५६ रनमा अलआउट भयो ।
तनहुँको लागि दिनेश बुढा मगरले ४५ बलमा ९७ रन बनाए । उनले १० चौका र ८ चक्का प्रहार गरेका थिए । तनहुँको लागि आनन्द सुनारले १२ र चन्द्रकान्त पौडेलले १० रन बनाए ।
नवलपुरका कप्तान कमल परियारले ४ ओभरमा १६ रन खर्चेर ४ विकेट लिए । सुदिप अर्यालले २ र सागर डोटेलले १ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले व्याटिङ गरेको नवलपुरले रविन शर्मा र सुदिप अर्यालको अर्धशतकको मद्दतमा २ सय ११ रनको विशाल योगफल बनाएको थियो । रविनले ५९ रन र सुदिपले ५२ रनको इनिङ खेलेका थिए । नवलपुरका प्रनिश अर्यालले १७ बलमा २५ रन बनाए ।
तनहुँको लागि सन्दिप पराजुलीले ४ ओभरमा ३६ रन खर्चेर ३ विकेट लिए । दिनेश बुढा मगरले २ र चन्द्रकान्त पौडेलले १ विकेट लिए ।
नवलपुरसँग पराजित हुँदै तनहुँ प्रतियोगिताबाट बाहिरिएको । तनहुँ पहिलो खेलमा स्याङ्जासँग पराजित भएको थियो । नवलपुरको जितले स्याङ्जा पनि सेमिफाइनलमा प्रवेश गरेको छ ।
यस्तै मंगलबार भएको पहिलो खेलमा कास्कीले पर्वतलाई ४ विकेटले हराएको छ ।
जितको लागि १ सय १ रनको विजयी लक्ष्य पछ्याएको कास्कीले १६.३ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । कास्कीको जितमा कप्तान विपिन खत्रीले २२ बलमा २५ रनको अविजित इनिङ खेले । यस्तै नेपाल अन्डर १९ राष्ट्रिय क्रिकेट टिमका खेलाडी सुवास भण्डारीले १३ रनमा अविजित रहे ।
पर्वतको लागि विनोद नेपालीले ४ ओभरमा १४ रन खर्चेर २ विकेट लिएभने कप्तान अमृत्त गुरुङले ४ ओभरमा १५ रन खर्चेर २ विकेट लिए ।
त्यसअघि बाङ्गेचौर खेल मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको पर्वतले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय रन बनाएको थियो । पर्वतको लागि कप्तान अमृत्त गुरुङले ४३ बलमा ५८ रनको अविजित अर्धशतकीय इनिङ खेलेपनि जितको लागि प्रयाप्त रहेन । अमृत्त प्रतियोगिताको अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी बनेका छन् ।
प्रतियोगिताको म्यान अफदी म्याच घोषित भएका कास्कीका सुवास भण्डारीले ४ ओभरमा २३ रन खर्चेर ३ विकेट लिए । बुधबारको पहिलो खेल समुह ए का कास्की र आयोजक बागलुङ विच हुनेछ ।