बागलुङ, - जिल्ला प्रहरी कार्यालय बागलुङले ठूलो परिमाणमा लागूऔषध सहित चार जनालाई पक्राउ गरेको छ । बुटवलबाट बागलुङ आएको बसमा लागूपदार्थको ओसार प्रसार भएको भन्ने सूचनाका आधारमा छापा मार्ने क्रममा ठूलो परिमाणको लागूऔषध सहित मानिस पक्राउ गरिएको हो । सोमबार दिउँसा १ बजेको समयमा लु १ ख ५३५६ नम्बरको बस चेकजाँच गर्ने क्रममा लागूऔषध सहित पाल्पाको मदन पोखरा गाउँपालिका—७ का कृष्ण प्रसाद पुरी, रुपन्देही जिल्ला देवदह नगरपालिका—६ का लोकबहादुर थापा, गुल्मीको मुसिकोट नगरपालिका—५ का सुरथबहादुर घिमिरे र दाङको लमही नगरपालिका वडा नम्बर ७ का शोसन चौधरीलाई नियन्त्रणमा लिएको छ ।
उनीहरुको साथबाट ९०५ एम्फुल फेनार्गन, ९२४ एम्पुल डाईजेपाम र ९१७ एम्पुल नुर्फिन गरी कुल २६४६ एम्पुल लागूऔषध बरामद गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी डिएसपी ईन्द्रबहादुर रानाले बताए । बस खानतलासी गर्ने क्रममा कम्व्याट रङको झोलामा टेपले बेरेको अवस्थामा बसको गल्लीमा रहेको झोलामा उक्त लागूऔषध फेला परेको प्रहरीले जनाएको छ ।
‘लागूऔषधको ओसार पसार भैरहेको भन्ने सूचनाका आधारमा हामीले बसको खानतलासी गर्दा ठूलो परिणाममा लागूऔषध फेला प¥यो,’ उनले भने,‘लागू औषध सहित चार जना व्यक्ति पनि पक्राउ गरेर अनुसन्धान थालेका छौं । लागूऔषध कारोबारमा संलग्न गिरोह पत्ता लगाउन सकिन्छ कि भन्ने विश्वास बढेको छ ।’ पक्राउ परेका उनीहरुले सोमरबार नै जिल्ला अदालत बागलुङबाट २० दिनको म्याद थपेर अनुसन्धान प्रक्रिया अगाडि बढाईएको प्रहरीले जनाएको छ ।