जैमिनी नगरपालिकाका सवै वडामा मेलमिलाप केन्द्र

  • साउन १९, २०८०

बागलुङ ।  जिल्लाको जैमिनी नगरपालिकाले वडा तहमा सामुदायिक मेलमिलाप केन्द्र स्थापना गरेको छ । स्थानीय स्तरमा हुने विवाद निरुपणका निम्ती वडा तहमै पर्याप्त छलफल र संवाद मार्फत मिलापत्र गराउने उद्देश्यले मेलमिलाप केन्द्र स्थापना गरिएको हो ।  गाउँ समाजमा हुने स–साना झगडा, विवाद लगायत घटना पालिकासम्म नल्याइकन मेलमिलाप कर्ताको माध्ययमबाट सोही ठाउँबाटै समाधान गर्न केन्द्र स्थापना गरिएको जैमिनी नगरपालिकाका उपप्रमुख एवं न्यायिक समितिका संयोजक हरिहर शर्मा बताए ।  
मेलमिलाप केन्द्रमा स्थानीयलाई सम्मिलित गराई स्थानीय विवाद दिगो र प्रभावकारी रुपमा समाधान गर्ने संयन्त्रबाट सम्पादन गरिने कामलाई व्यवस्थित गराउन मेलमिलाप केन्द्र संचालन गरिनेछ । स्थानिय सरकार संचालन ऐनको प्रवन्ध अनुसार वडा तहमा मेलमिलाप केन्द्र स्थापना गर्नुपर्ने प्रावधान अनुरुप केन्द्रको स्थापना गरिएको शर्माले बताए । प्रत्येक वडामा रहेका मेलमिलाप कर्ता मार्फत केन्द्रमै छलफल गरी  मिलापत्र गर्नुका साथै विवादलाई सुल्झाईने छ ।  
जैमिनी नगरपालिकाका १० वटै वडामामा एकै साथ मेलमिलाप केन्द्रको स्थापना गरिएको छ । नगरभित्र मेलमिलाप सम्बन्धी कार्यसञ्चालन तथा व्यवस्थापनमा एकरुपता कायम गरी न्यायमा समुदायको सहज पहँच अभिवृद्धि गर्न प्रत्येक वडामा मेलमिलाप केन्द्र स्थापना गरिएको शर्माको भनाई छ । ‘समुदायमा हुने विवादलाई न्यायिक समितिबाट सञ्चालित मेलमिलाप केन्द्रमा नै समाधान खोजिने छ, हरेक वडामा मेलमिलापकर्ता छन शर्माले भने,–‘मेलमिलापकर्ताले सहजीकरण गरी दुवै पक्षहरूको सुमधुर सम्बन्ध स्थापित गर्न छन । आम नागरिकलाई न्यायको पहुँचमा ल्याउनका निम्ती र न्यायिक समितिलाई प्रभावकारी रुपमा संचालन गर्न मेलमिलाप केन्द्र थप सहयोगी निकाय हुनेछ ।’ समाजमा भएका सामान्य विवादलाई मेलमिलाप केन्द्रमार्फत छलफल गरेर दुवै पक्षलाई हार्न नदिनका निम्ती केन्द्रको स्थापना गरिएको शर्माले बताए ।  नगरपालिका भित्र कुल ४२ जना मेलमिलापको तालिम प्राप्त भएता पनि हाल ३१ जना मेलमिलापकर्ताले नविकरण गरेर सुचिकृत भएको न्यायिक समितिले जनाएको छ । 
स्थानीय सरकार संचालन ऐन, २०७४ बमोजिम उपप्रमुखको संयोजकत्वमा न्यायिक समिति गठन भएको र न्यायिक समितिमा आउनुभन्दा वडा तहमै मुद्धाहरु मेलमिलाप मार्फत टुंगियोस भनेर नै हरेक वडामा मेलमिलाप केन्द्र स्थापना गरिएको छ । जिल्लाको बागलुङ नगरपालिकाले पनि सवै वडा तहमा मेलमिलाप केन्द्र स्थापना गरिसकेको छ ।
 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय