• गृहपृष्ठ /
  • प्रमुख समाचार ,
  • Breaking News ,
  • राजनिति ,
  • समाज ,
  • बिचार/ब्लग ,
  • विचार/अन्तर्वार्ता ,
  • अन्तरबार्ता

हाम्रो मुख्य लक्ष्य विकास मात्र होइन, गरिबी निवारण पनि हो - बसन्त कुमार श्रेष्ठ

  • ब‌ैशाख २७, २०७९

निर्वाचनको मिति नजिकिँदै गएको छ । विभिन्न राजनितिक दलका उम्मेदवारहरु यतिबेला घरदैलोमा व्यस्त रहेका छन ।बागलुङ नगरपालिकामा पाँच दलीय गठबन्धको तर्फबाट नेपाली काँग्रेसका बसन्त कुमार श्रेष्ठ नगरप्रमुखको उम्मेदवार छन भने नेकपा एमालेका जनकराज पौडेल नै पुन दोहोरिएका छन । विभिन्न सामाजिक एवं व्यावसायिक सङ्घसंस्थालाई सफल नेतृत्व दिएर राजनीतिमा उदाएका  श्रेष्ठ आसन्न स्थानीय तह चुनावमा बागलुङ नगरपालिकाको मेयरका उम्मेदवार हुन् । सत्ता गठबन्धनका तर्फबाट साझा उम्मेदवार रहेका उनी बागलुङ नगरपालिकामा मेयर पदमा उम्मेदवारी किन भन्ने विषयमा कुराकानी गरेका छौ । 

-तपाई बागलुङ नगरपालिकाको नगरप्रमुखमा निर्वाचित हुनुभयो भने  नगरपालिकामा प्राथमिकताका कामहरु के के छन् ?

ठूलो ठूलो काम गर्छु भनेर आश्वासन दिन्न । सर्वप्रथम त नगरभित्र मैले सुशासन ल्याउँछु । नगरवासी सबैलाई सहज हुने गरी सुशासनका काम गर्ने मेरो पहिलो काम हुनेछ । दोस्रो प्राथमिकता महिला बालबालिका र जेष्ठ नागरिकको क्षेत्रमा दिनेछु ।  महिला सुरक्षा, अधिकार, सशक्तिकरण, आत्मनिर्भर लगायतका काममा म लाग्नेछु । सामाजिक सुरक्षामा जोड दिन्छु । बागलुङ बजारको ढल व्यवस्थापन पनि मेरो पहिलो प्राथमितकता छ भने सडक तथा पुर्वाधार विकासलाई अगाडी बढाउने छु । बजार क्षेत्रमा रहेका सीसीटीभीको मर्मत गर्नुका साथै ठाउँ ठाउँमा राख्ने व्यवस्था मिलाउने छु । त्यसले गर्दा महिला तथा व्यापारीहरुले सुरक्षित भएको महसुस गर्नेछन् । युवाका लागि पनि विशेष कार्यक्रम ल्याउनेछु । लोकतन्त्र प्राप्तिमा युवाले देशका लागि धेरै योगदान दिएका छन् । युवाले साथ नदिएको भए कुनै पनि आन्दोलन सफल हुने थिएन । अहिलेसम्म युवाले राज्यलाई दिने काम मात्रै गरे म मेयरमा विजयी भएँ भने युवालाई  उद्यमी बनाउनुका साथै रोजगार सिर्जना गर्ने वातावरण गराउनेछु । 

-कुनै पनि दलमा आवद्ध नभएका सर्वसाधारण मतदाताले तपाईलाई मत दिनुपर्ने आधारहरु बताउनुहोस 

म विद्यार्थी राजनीतिबाट पार्टीको राजनितिमा आएको युवा उम्मेदवार हुँ । मैले अहिलेसम्म कसैको लागि केही नराम्रो काम गरेको छैन जस्तो लाग्छ । समाज परिवर्तनका लागि अग्रपङ्तिमा रहेर योगदान गरेको युवा उम्मेदवार भएकाले सबैले मतदान गर्नुहुन्छ भन्ने लाग्छ । म यहाँको संस्कृति, परम्परा, धर्म, रितिरिवाज सबैलाई संरक्षण गर्दै आएको तपाईहरुकै परिवारको सदस्य हुँ । एक भोट मलाई दिनुस्, यहाँहरुले सोचेको, खोजेको जस्तै बागलुङ नगरपालिका  बनाउँछु । मैले जनप्रतिनिधि भए पश्चात पाएको तलब भत्ता सामाजिका कार्यमा खर्च गर्नेछु ।  नगरलाई कृषि, पशुपालन र पर्यटकीय गन्तव्यको स्थल बनाउने छु ।   ‘हाम्रो साथ कोखदेखी शोकसम्मको यात्रामा शिक्षा ,स्वास्थ र सामाजिक सुरक्षा’ सहित सातवटा आठोट लिएर आएका छौ ।  भ्रष्टाचारमुक्त, नगर सुुशासन,र सदाचार,  सभागितामूलक योजना, सुन्दर र समन्नुत नगरको परिकल्पना  जनसेवक जनप्रतिनिधि ,जनमुखी प्रशासन सेवा, दिगो पूर्वाधार आर्थिक रूपान्तरणको आधार दूध,अण्डा,मासु र तरकारी आत्मनिर्भर बागलुङ, साझेदारी र सहकारी र स्वावलम्वी महिला सिर्जनशील युवा, सबल नगरवासी भन्ने अठोट रहेका छन यि अठोट पुरा गर्नका लागि पनि सवै मतदाताले रुख चिन्हमा भोट हाल्नुहुनेछ । 

- तपाईं निर्वाचित हुनुभयो भने जिल्लाका अन्य पालिका भन्दा बागलुङ नगरपालिकामा भिन्न  फरक विषय अबको पाँच वर्षमा के के देख्न सकिन्छ ?

अहिले नै मैले भनेर सबै कुरा हुने त होइन । निर्वाचित भएँ भने काम गरेर देखाउँछु ।  मेरो प्रमुख एजेन्डा भनेको भ्रष्टाचार नियन्त्रणमा शून्य सहनशीलता अवलम्बन गर्दै यसको नियन्त्रणका लागि विशेष संयन्त्र बनाउने नै हो । तत्कालीन मेयर ऋषिरामले ल्याएको रिंगरोडको काम अझ सम्पन्न गर्न सकेका छैनौं । बागलुङ नगरपालिका बेथिति, अनियमितता, अराजकता र भ्रष्टाचारले आक्रान्त हुँदा नगरबासीलाई घोर निराशाले छोपेको छ । अहिले स्थानीय तहप्रति आमजनताको धारणा नकारात्मक बन्दै गएको छ । यसको प्रमुख कारण भनेको भ्रष्टाचार नै हो । यसलाई म निमिट्यान्न पार्छु । नगरले गर्ने विकास–निर्माणका कामलाई प्राथमिकता दिन र व्यवस्थित गर्न अल्पकालीन, मध्यकालीन र दीर्घकालीन गरी तीन भागमा विभाजन गर्नेछु । नगरपालिका कार्यालयमा गरिँदै आएका अनावश्यक र अनुत्पादक खर्च नियन्त्रण, नगरका खर्चलाई रचनात्मक क्षेत्रमा प्रयोग गर्न कठोर आर्थिक नीति र अनुशासनको तर्जुमा, नगरपालिकाबाट प्रमुखलाई प्राप्त हुने सबै आर्थिक सुविधा, सेवा र सामाजिक कार्यमा प्रदान गर्ने नगरपालिकाका कार्यसम्पादनलाई व्यवस्थित, सुचारु र प्रभावकारी बनाउन सम्बन्धित क्षेत्रका विशेषज्ञहरुको विज्ञ समूह गठन गर्ने एजेन्डालाई मैले अघि सारेको छु । बागलुङ नगरपालिका भि रहेका पर्यटकिय गन्तव्यको विकास गरी यहाँ आन्तरिक तथा बाह्य पर्यटक आउने बातावरणा बनाउने छु । यसले बागलुङ बजारकाे व्यापार व्यवसायमा पनि थप टेवा पुग्नेछ । 

-जनप्रतिनिधि र विकास रणनीति कस्तो हुनुपर्छ जस्तो लाग्छ ?

बागलुङको विकासले बागलुङ नगरलाई मात्र होइन, जिल्लाका सबै स्थानीय तहदेखि रुकुम हुँदै दाङ अनि तराईसम्म छु्न्छ । हामीले रात्माटादेखि बिहुँसम्म सडक पिच गर्न सरोकारवालासँग समन्वय नगर्दा त्यसको प्रभाव बागलुङ बजारको व्यापार, स्वास्थ्यलगायत क्षेत्रमा प्रभाव परेको छ । गलकोटमा बुटवलदेखि सामान आउँछ । बागलुङ नगरको व्यापार धेरै खुम्चिएको छ । जनप्रतिनिधिको काम र कर्मचारीको काममा फरक छ । जनप्रतिनिधिको काम जनअपेक्षा साकार पार्ने विकासको सही रणनीति, आधुनिक विकास प्रशासनको खाका बनाउने, रोजगारी सिर्जना हुने खालको आर्थिक योजना बनाउने, जनताको माग र गुनासो सुन्ने हो ।

हामी आफैं अनुशासनमा बसेनौं भने को बस्छ, अनुशासन र नियम–कानुनमा ? हामीले अहिलेसम्म बागलुङ बजारमा सिटी हल, भूमिगत ढल, उपयुक्त पार्किङ, र फराकिलो सडक र पर्यटकीय गन्तव्यसम्म पुग्ने राम्रो पूर्वाधार बनाउन सकेका छैनौं । यसमा हामीले ध्यान दिनुपर्ने कुरा गाउँ र सहरबीचको सन्तुलन हो ।

हामीले सबै वडा कार्यालयहरुलाई सुविधा सम्पन्न बनाएर जनताको धेरैं माग वडा कार्यालयबाटै सम्बोधन हुने खालको बनाउँनु पर्छ ।वडालाई भौतिक पूर्वाधार र विकासको हिसाबले विशेष महत्व दिएर जनताको आधारभुत आवश्यकताहरु वडामै पुृरा हुने खालको नगरविकासको दिगो योजना ल्याएर लागु गर्नु पर्छ ।सबै वडा कार्यालयसम्म पुग्न पक्कि बाटो निर्माण गर्ने हाम्रो विकास योजना हुनु जरुरी छ ।

-तपाईहरुका समृद्ध नगर निर्माणका लागि के के लक्ष्य रहेका छन ?

हाम्रो मुख्य लक्ष्य विकास मात्र होइन, गरिबी निवारण पनि हो । हामी सधैं माग्ने मात्र होइन, दिने हैसियतमा पुग्नुपर्छ । सहरी विकास र ग्रामीण विकास अलग तर एकअर्कासँग जोडिएका विषय पनि हुन् । हाम्रो नगर विकास, मेलमिलापमा मात्र होइन, संस्कृति र बौद्धिक जागरणको केन्द्र पनि बन्नुपर्छ ।

मेरो विचारमा विकास आधुनिक तर संस्कृतिमा आफ्नैपन हुनुपर्छ । पुरानो बजार र नयाँ बजारको व्यवस्थापन फरक ढंगले गर्नुपर्छ । बजारलाई व्यवसायको केन्द्र बनाएर आवासीय क्षेत्र फरक ठाउँमा व्यवस्था गर्नुपर्छ ।लमगाउँ, कुँडुले, रात्माटा, ओढारचौर, लामाचौर, तीनतले, सिगाना, मूलपानी, भकुन्डे, तित्याङलगायतलाई व्यवस्थित आवास क्षेत्रको रूपमा विकास गर्न सकिन्छ ।

-बागलुङ त पर्यटकिय क्षेत्रको रुपमा धेरै विकास भएको छ यसलाई अब व्यवस्थापन कसरी गर्नुहुन्छ ?

यहाँ डाँडा काँडा अग्ला टाकुरा र कालिगण्डकीको तिर हुँदै अन्य धार्मिक पर्यटकिय क्षेत्रलाई पर्यटकीय गन्तव्यको रूपमा अगाडि बढाउन हामीले तिनका किनारमा रिसोर्ट, रेस्टुरेन्ट, कफी सप, ग्यालरी, पुस्तक पसल राख्न सक्छौं । धेरै धनी राष्ट्रहरूमा हामी जाँदा यसरी नै विकास अगाडि बढाएको देखेका छौं । मालढुंगाको पुल र अरू झोलुंगे पुलहरूमा हामीले यही सम्भावना खोज्नुपर्छ ।

देउराली चोकदेखि खहरेसम्मको बाटोलाई फराकिलो बनाउनुपर्छ । सार्वजनिक यातायात, निजी यातायात र मालवाहक सवारी गुड्न बाटो फरक हुनुपर्छ । मालवाहक सवारी गुड्ने बाटो नगरको मुख्य भाग र अरू सवारीसाधनलाई सहायक र भित्री बाटोबाट गुडाउने व्यवस्था गर्नुपर्छ । ट्राफिक सेवा र व्यवस्थापन उच्च प्रविधिमा आधारित हुनुपर्छ ।

-तपाईहरु योजना निर्माणा गर्दा कसरी निर्माण गर्नुहुनेछ ?

रायडाँडा,भकुण्डे,तित्याङ,सिगाना गाउँलाई कृषि,फलफूल,शिक्षा,ग्रामीण पर्यटन र पशुपालन क्षेत्रको रुपमा अगाडि बढाउन सक्छौ । त्यसको लागि ।यसको लागि गाउँ गाउँमा गएर जनता, महिला दिदी बैनीहरु र युवाहरुको चाहाना, सपना र आवश्यकताको बारेमा सुक्ष्म ढंगले अध्ययन र छलफल आवश्यक छ ।अरु गाउँहरुको पनि यस्तै संम्भावना र अवसर खोज्नु पर्छ ।

-शैक्षिक क्षेत्रको विकास कसरी गर्ने

हाम्रो पुर्खाको इतिहास र कालीगण्डकी सभ्यतालाई विद्यालयको पाठ्यक्रममा समावेश गर्नुपर्छ । शिक्षालाई पेसा–व्यवसायमा ढालेर त्यसलाई आजको आवश्यकता र चुनौती सामना गर्दै श्रम गरेर खान सक्ने उपयोगी र नैतिक रूपमा पूर्ण संस्कारयुक्त बनाउन सक्नुपर्छ ।

-बागलुङको कला,साहित्य,धर्म र संस्कृति संरक्षणमा के के गर्नुहुनेछ ?

बागलुङ खेलकुद, साहित्य, कला, विज्ञान, संगीत र धर्मलाई हामीले नगरको विकास, उन्नति, प्रतिष्ठा र गौरवसँग जोड्नु पर्छ । हाम्रो नगरमा धेरै मन्दिर, कोट–धुरी र अन्य गन्तव्य छन् ।यिनको सही उपयोग हुन सकेको छैन । पर्यटन क्षेत्रका साथीहरूले खाका बनाउन लगाई सबै गन्तव्यस्थलको दिगो विकास र प्रचारप्रसार गर्नुपर्छ । त्यसो भएमात्र त्यसको प्रतिफल सबैले पाउँछन् । कालिका भगवती,भैरवस्थान,कुँडुलेको सालिग्राम संग्रालय,भकुण्डेको बराह ताल र पञ्चकोटजस्ता धेरै सम्भावना बोकेका स्थलहरू छन् । यिनको जगमा ग्रामीण पर्यटन र होमस्टेले आफूलाई विकास साझेदारका रूपमा पाउनेछन् । व्यावसायिक संस्थाहरूसँग नगरले सार्वजनिक–निजी साझेदारीको कार्यक्रम ल्याएर उद्योग, व्यापार, वित्तीय अवस्था फस्टाउने वातावरण बनाउनुपर्छ । सीसी क्यामराको व्यवस्थापनदेखि वित्तीय सुरक्षाको अवधारणा ल्याउनुपर्छ । बलेवा विमानस्थल र त्यस क्षेत्रलाई हामीले पर्यटन,शिक्षा, कृषि, पशुपालन र विभिन्न जिल्ला जोड्ने मार्गको रुपमा विकास गर्न सक्छौ । त्यसको लागि जनताको मेहनत,अपनत्व र युवाहरुको सृजनशिलतालाई हामीले  शहर र गाउँको विकासमा सदुपयोग गर्नु पर्छ ।

-बागलुङ नगरपालिकाको विकासका लागि कस्तो सपना देख्नुभएको छ?

लोकतन्त्रको मूल मन्त्र जनताको सेवा अनि जनतासँगको संवाद हो । यति बेला हाम्रो दैनिक जीवनमा यो पद्धति कमजोर र निष्क्रिय अवस्थामा छ । अब मैले यसलाई तोडेर अगाडि बढ्ने कार्यक्रम ल्याएको छु । जनता र नगरवासीसँग हातेमालो गरेर सपना साकार पार्न लाग्नेछु । कुनै जनप्रतिनिधिले जनअपेक्षाअनुसार काम नगरी गलत बाटोमा हिँड्छ भने त्यसको खबरदारी गर्ने र जनताको विकासको सपना पूरा गर्ने जिम्मा हामीले आफ्नो काँधमा लिनुपर्छ ।

कांग्रेस नेतृत्वले सबै हिसाबले जित्ने व्यक्तिलाई टिकट दिएको भनेको छ । तपाईं कसरी सबै हिसाबले जित्ने व्यक्ति पर्नुभयो त ?

नयाँ नयाँ विचार ल्याउने भएर होला । म सामाजिक विषय उठाउने गर्छु । बागलुङ नगरवासीको दुखसुखको एक सेवकको रुपमा परिचित पनि हो । अघिल्लो निर्वाचनमा पनि जनताको माझमा पुगेर एउटा बाचा गरेको थिए त्यस बेला जनतालाई गरेको बाचा पुरा गर्नका लागि मलाई केही मत पुगेन यसपाली आएको छु नगरको आर्थिक, सामाजिक र उन्नयनका लागि सदैव अग्रपंक्तिमा उभिएको युवा हु। सबैको मन जित्न सक्छ भन्ने पाटीले मुल्याङ्कन ग¥यो र सबैहिसाबले पनि होला ।  तर बागलुङ नगरपालिकामा काँग्रेसबाट म भए जित्ने अर्को भए नजित्ने भन्ने होइन सबै अग्रज नेताहरु बागलुङ नगरपालिकाको निर्वाचन जित्न सक्ने हुनुहुन्थ्यो । पार्टीका अग्रज र युवाहरुको प्रेरणाले नै मलाई यही देखाएको होला । सवैको साथ रहेको छ अग्रजको मायाँ र आर्शिबाद र साथले यस पटक बागलुङ नगरपालिकाको मेयरमा चुनाव जित्नेछु । 

तपाईहरुले सबै क्षेत्र समेटेर प्रतिवद्धता पत्र जारी गर्नुभएको छ । नगरपालिकामा गठबन्धनको साझा संकल्प पनि हो यसलाई कार्यान्वयन गर्न कसरी सहज होला  ?

त्यस्तो हुँदैन । हामी गठबन्धकै दलहरु विच छलफल गरेर प्रतिवद्धता पत्र ल्याएका छौ । जे कुरा लेखेका छौ त्यो गर्न सक्ने मात्र छन हामी गर्न नसक्ने कुरा गर्दैनाै । बागलुङ नगरपालिका विगतको पाँच वर्ष त एक ढंगले खेरै गयो । अब त्यसबाट पाठ सिक्छौं । हाम्रो प्रतिवद्धता पत्रमा मानिसको जिन्दगीलाई सरल बनाउने, आर्थिक हैसियत माथि ल्याउने, प्रकृतिले दिएका पर्यावरणलाई नबिगारी विकास गर्ने खाका ल्याएकाछौं । यि सवै सम्भव छन र गरेर पनि देखाउँछौं । 

 -यसपटक तपाईंको प्रतिस्पर्धी नेकपा एमालेबाट नै यस अघिकै मेयर पदमा निर्वाचन भएकै परेका छन अघिल्लो पटक र यस पटक एउटै सँग प्रतिस्पर्धा गर्नु परेको छ । यो प्रतिस्पर्धालाई कसरी लिनु भएको छ ?

मैले धेरै ठाउँ भनिसकेँ– मलाई प्रतिस्पर्धा नै लागिरहेको छैन । ग्रास रुटसम्म बनेको कांग्रेसको संगठनको जग, गठबन्धनमा रहेका साथीहरुकाे क्रियाशिलता विभिम्नन भातृसंगठन, मिडियामा रहेका साथीहरुको सहयोग, आम कार्यकर्ताहरुको सहयोग, हाम्रो पार्टीका अग्रजहरुले गरेको उपलब्धि हेर्दा मैले निर्वाचन अवश्य जित्छु भन्ने लाग्छ । म त उपलब्धि र जगले खडा गरेको सामान्य पात्र न हो । विगतमा बागलुङको नेतृत्व गरेको एमालेले अब के भनेर भोट माग्ने ? धारे हात लगाएर कांग्रेसलाई सराप्ने बाहेक केही पनि नभएपछि भोट कसरी आउँछ ३ दशक सम्म नगरपालिकाको नेतृत्व गरेको एमालेले बागलुङको खास परिवर्तन के गरेको छ ।  जनताले त्यो कुरालाई खोजेका छन बाँकी जवाफ ३० गते पछि आउनेछ । 

 -अन्त्यमा आम नागरिकहरुलाई के भन्न चाहनुहुन्छ ?

नेपाली कांग्रेस लोकतान्त्रिक आन्दोलन र संघर्षको उद्गमबाट जन्मिएको पार्टी हो । म अहिले नेपाली कांग्रेसका पथप्रदर्शक जननायक बीपी कोइराला, श्रद्धेय नेताहरु सुवर्णशमशेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाहरुलाई यतिबेला सम्झिरहेको छु । हामी संघीय लोकतान्त्रिक गणतन्त्रको प्राप्तिपछि स्थानीय तहको दोस्रो निर्वाचन, २०७९ का सम्मुखमा छौँ । यस ऐतिहासिक क्षणमा म बागलुङका आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक, शैक्षिक र साहित्यिक उत्थानमा योगदान गर्नुहुने समस्त महानुभावहरुलाई स्मरण गर्छु । पार्टीको विभिन्न तहमा काम गर्दै यहाँसम्म आएको छु । अहिलेसम्म कुनै सुविधाको राजनीतिक नियुक्ती पनि लिएको छैन । हामी पाँच दलीय गठबन्धन मिलेर निर्वाचनमा होमिएका छौ । अहिलको मुद्धा काँग्रेसको मात्र हैन गठबन्धनमा रहेका सवै दलका एउटै मुद्धा छन म मेयर मात्र जित्ने है हामीले मुद्धा पनि जित्नु छ । बागलुङ नगरपालिकाको विकास अहिले नगरे कहिले गर्ने र हामीले नगरे कसले भन्ने अठोटका साथ हामी निर्वाचनमा होमिएका छौ यसमा सवैको साथ र सहयोगको अपेक्षा सहित हार्दिक आभार व्यक्त गर्दछु । धन्यवाद, जयनेपाल ।

(श्रेष्ठ नेपाली काँग्रेस गण्डकी प्रदेशको कोषाध्यक्ष हुन भने काँग्रेस बागलुङको महाधिवेशन प्रतिनिधि हुन । उनले बागलुङ उद्योग बाणिज्य संघमा दुई कार्यकाल अध्यक्ष भएर काम गरे भने अन्य दर्जनाै संस्थाको नेतृत्व गरेका छन ।) 

 

प्रतिक्रिया