रायडाँडाको तमाखुबारीमा सहरी स्वास्थ्य केन्द्र संचालन

  • पुस २१, २०७९

बागलुङ- बागलुङ नगरपालिका क्षेत्र भित्र दुर्गम क्षेत्रको रुपमा रहेको वडा नं. ११ रायडाँडाको तमाखुबारीमा सहरी स्वास्थ्य केन्द्र संचालन गरिएको छ । स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेको यस क्षेत्रका स्थानियको आवश्यकतालाई मध्यनजर गरी विहिबारदेखी सेवा सुभारम्भ गरिएको छ ।
 सेवाको शुभारम्भ गर्दै बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले यस क्षेत्रमा स्वास्थ्य केन्द्र स्थापना भए सँगै जनतालाई थप राहत हुने बताए । स्वास्थ्य र शिक्षा हरेक मानिसको आधारभुत आवश्यकता भएका कारण यसको सहजताका लागि स्थानिय सरकारले जोड दिने बताए । श्रेष्ठले बागलुङ नगरपालिकाले पुर्वाधार विकासमा भन्दा पनि स्वास्थ्य शिक्षा जता सामाजिक क्षेत्रमा बढि लगानी गर्ने बताए । उनले हरेक नागरिकका न्युनतम आवश्यकतलाई मध्यनजर गरी नगरले कार्यक्रम अगाडी बढाउने बताए । स्वास्थ्य केन्द्र संचालनमा आए सँगै यस क्षेत्रका जनतालाई घण्टौं लगाएर स्वास्थ्य संस्था जानुपर्ने बाध्यता टरेको वडा अध्यक्ष ज्ञानेन्द्र गौतमले जानकारी दिए । सामान्य विरामी पर्दा पनि यहाँका सर्वसाधारण घण्टौं लगाएर रायडाँडा स्वास्थ्य चौकी वा सदरमुकाममा रहेको धौलागिरी अस्पतालमा धाउनुपर्ने बाध्यात थियो । अब भने केही समस्या समाधान भएको अध्यक्ष गौतमको भनाई रहेका छ । स्वास्थ्य केन्द्रमा विरामीको जाँच गर्नुका साथै खोप परिवार नियोजन लगायतका सेवाहरु प्रदान गरिने बागलुङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले जानकारी दिए ।  संस्थाबाट एक जना अहेब र अनमीले स्वास्थ्य सेवा प्रदान गर्नेछन । 
सोही अवसरमा गत भदौमा गएको सुख्खा पहिरोका कारण प्रभावित भएको ८ घर परिवारलाई नगरपालिकाको तर्फबाट २० हजारका दरले राहत प्रदान गरिएको वडा अध्यक्ष गौतमले जानकारी दिए । कार्यक्रम वडा सचिव नेत्र प्रसाद सापकोटाले संचालन गरेका थिए । 
 

प्रतिक्रिया