बागलुङ- जिल्लाको ताराखोला गाउँपालिकाले शहीद सप्ताहको अवसरमा बागलुङमा कार्यरत चार जना पत्रकारलाई पुरस्कृत गरेको छ । ‘शहीद स्मृति खोज पत्रकारिता पुरस्कार’ मार्फत जिल्लामा क्रियाशिल चार पत्रकार पुरस्कृत भएका हुन । पुरस्कृत हुनेहरुमा कान्तिपुर राष्ट्रिय दैनिक पत्रिकाका उपसम्पादक प्रकाश बराल, राष्ट्रिय समाचार समिति बागलुङका सम्वाददाता राम थापा ‘अविरल’, आदर्श अनलाईनका सम्वाददाता साधना पन्त र स्थानिय पत्रकार पूर्ण भद्र निउरे रहेका छन् ।
उनीहरुलाई जनही १५ हजार रुपैयाँका दरले पुरस्कृत गरिएको ताराखोला गाउँपालिकाले बताएको छ । पुरस्कृत गर्दै गाउँपालिका अध्यक्ष प्रकाश घर्तिले ताराखोला गाउँपालिका भित्रका विषयवस्तुलाई उजागार गर्न पत्रकारहले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे ।
उनले पालिकाले पत्रकारहरुबाट रचनात्मक सुझाव चाहेको उल्लेख गरे । पालिकाले जनयुद्धको समयमा शहादत प्राप्त गरेका र बेपत्ता भएका व्यक्तिका परिवारलाई सम्मान गरेको छ । शहादत प्राप्त गरेका २१ जनाको परिवार र २ जना बेपत्ता भएका व्यक्तिका परिवारलाई सम्मान गरेको हो । साथै पालिकाले द्वन्द्वपीडित बालबालिकालाई समेत सम्मान गरेको छ । विद्यार्थीहरुलाई झोला सहित शैक्षिक सामाग्री हस्तान्तरण गरि विद्यार्थीहरुलाई सम्मान गरेको हो ।