बागलुङ । मानव सेवा आश्रम बागलुङ शाखाको भवन निर्माण सहयोगार्थ संचालन भएको महायज्ञमा ९ करोड ७७ लाख ७२ हजार ६१ रुपैयाँ संकलन भएको छ ।
गत कार्तिक २१ देखि २८ गतेसम्म आश्रमको भवन निर्माणस्थल बागलुङ नगरपालिका ४ निरहेघाटमा सञ्चालन भएको महायज्ञको आर्थिक प्रगति विवरण शनिबार सार्वजनिक गरिएको छ । महायज्ञ मुल आयोजन समितिका कोषाध्यक्ष सरिता गौतमका अनुसार महायज्ञमा नगद, चेक र क्युआरमार्फत ७ करोड ६९ लाख १७ हजार २ सय ७५ रुपैयाँ प्राप्त भएको छ । साथै प्रतिबद्धता तर्फबाट कुल १ करोड ९० लाख ८४ हजार ६ सय ६० रुपैयाँ बराबरको प्रतिबद्धता प्राप्त भएको हो। प्रतिबद्धतामा सरकारी निकाय तथा स्थानीय तहबाट १ करोड २९ लाख ४१ हजार ९ सय २१ रुपैयाँ, व्यक्तिगत प्रतिबद्धता २५ लाख १० हजार ६ सय ६१ रुपैयाँ र संस्थागत प्रतिबद्धता ८५ लाख ७ हजार २ सय ५ रुपैयाँ रहेको गौतमले जानकारी दिईन ।
महायज्ञमा दानपेटिकाबाट ९ लाख ९४ हजार ३ सय ६५ रुपैयाँ, तुलादानबाट ५ लाख ३८ हजार ५ सय ६१ रुपैयाँ र धानचामल बिक्रीबाट २ लाख ३८ हजार रुपैयाँ प्राप्त भएको आश्रमले जनाएको छ।
संकलित रकममध्ये अक्षयकोष शीर्षकमा ३० लाख ४७ हजार ६ सय ५९ रुपैयाँ, भवन निर्माण शीर्षकमा ५ करोड ६ लाख ४९ हजार १ सय ४९ रुपैयाँ र महायज्ञ व्यवस्थापन शीर्षकमा २ करोड ३४ लाख ९९ हजार ७ सय ७६ रुपैयाँ प्राप्त भएको छ।
महायज्ञमा सङ्कलित रकममध्ये ८१ लाख ३७ हजार चार सय १० खर्च भई रु. आठ करोड ९१ लाख ४८ हजार आठ सय ९७ रुपैयाँ बचत भएको समितिका कोषाध्यक्ष गौतमले जानकारी दिइन् ।
यसैबीच कालिका भगवती मन्दिर व्यवस्थापन समितिले २०८२ मंसिर १ देखि २०८३ असार मसान्तसम्म उठाइने पार्किङ शुल्क भवन निर्माणमै प्रयोग गर्ने सहमति भएको छ।
मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले भवन निर्माण र अक्षयकोष वृद्धिको उद्देश्यले गरिएको महायज्ञ सफल भएको बताए ।
उनले निर्माणाधीन आश्रम भवनको काम यसै आर्थिक वर्षभित्र सक्ने गरी निर्माणलाई तीव्रता दिइने बताए । आश्रमसहित निरयघाट क्षेत्रको बृहत् एकीकृत विकास गुरुयोजना बनाएर काम अगाडि बढाइने उनको भनाइ छ । आश्रमको भवन निर्माणस्थल बागलुङ नगरपालिका–४ निरयघाटमा आयोजित सार्वजनिक लेखा परीक्षण कार्यक्रममा महायज्ञको सेवामा खटिएका विभिन्न व्यक्ति र संस्थाहरुलाई आश्रमको केन्द्रीय कार्यालयका तर्फबाट कृतज्ञता ज्ञापनसहित सम्मानपत्र प्रदान गरिएको थियो ।
बागलुङ, पर्वत, म्याग्दी लगायतका जिल्लाका साथै देश तथा विदेशमा रहेका मनकारी दाताहरूको साथ र सहयोगले महायज्ञ भव्य रूपमा सम्पन्न भएको हो। निरयघाट क्षेत्रमा निर्माणाधीन मानवसेवा आश्रम बागलुङ शाखाको भवन आगामी चैत मसान्तसम्म सम्पन्न गरी २०० जना सहयोगापेक्षीलाई सेवा प्रदान गर्ने लक्ष्य आश्रमले राखेको छ।