• गृहपृष्ठ /
  • प्रमुख समाचार ,
  • Breaking News ,
  • समाज ,
  • स्थानीय सरकार ,
  • खेलकुद

बागलुङ महोत्सव  पुरुष भलिबल-  होटल समिट र काठखोलाको विजयी सुरुवात

  • पुस १८, २०८२

बागलुङ, ! आठौँ बागलुङ महोत्सवको अवसरमा आयोजित गण्डकी प्रदेश खुला पालिकास्तरीय पुरुष भलिबल प्रतियोगितामा काठेखोला गाउँपालिका र होटल समिट बागलुङले विजयी सुरुवात गरेका छन् । शुक्रबार भएको पहिलो खेलमा काठेखोला गाउँपालिकाले बागलुङलाई पराजित गर्दै अघिल्लो चरणको यात्रा तय गरेको हो । संघर्षणपूर्ण खेलमा ३—२ सेटमा काठेखोलाले जित निकालेको हो । महोत्सवको मुख्य आकर्षणको रुपमा रहेका खेलमा पहिलो र दोस्रो सेटमा जित हात पारेको काठेखोलाले तेस्रो र चौथो सेट लज्जास्पद रुपमा बागलुङ नगरपालिकालाई सम्पियो । १५ अंकमा निर्णय हुने पाँचौ निर्णायक सेटमा संघर्षपूर्ण जित निकाल्दै खेलको नतिजा आफ्नो पक्षमा पारेको हो । काठेखोलाले पहिलो सेट २५—१८ ले जित्यो । दोस्रो सेट २६—२४ को संघर्षपूर्ण जित हात पारेको थियो । बागलुङ नगपालिकाले २४—२१ को स्थीति बनाए पनि अन्तिम अंकमा रोक्दै काठेखोलाले जित निकाल्न सफल भएको थियो । काठेखोलाले लगातार ५ अंक जोड्दा १ अंक पनि जोड्न नसक्दा बागलुङ नगरपालिकाले सेट गुमाउन पुगेको थियो ।
 दोस्रो सेटमा जित्ने मौका हुँदाहुँदै गुमाएको बागलुङ नगरपालिका तेस्रो सेटमा आईपुग्दा ज्यादा आक्रामक देखियो । पाएका अवसरहरुलाई धमाधम अंकमा रुपान्तरण गर्दै २५—१३ मा तेस्रो सेटको जित बागलुङ नगरपालिकाले निकाल्यो । चौथो सेट २५—२१ ले जितेको बागलुङ नगरपालिका पाँचौं सेटमा गएर सम्हालिन सकेन र १५—१३ को स्थीतिमा सेटसंगै खेलको नतिजा समेत काठेखोला गाउँपालिकालाई सुम्पियो । 
शुक्रबार नै भएको दोस्रो खेलमा बिहुँकोट स्पोर्ट्सलाई पाखा लगाउँदै होटल समिट बागलुङले अघिल्लो चरणको यात्रा तय गरेको छ । होटल समिटले बिहुँकोट स्पोटर््सलाई ३—० सेटमा पराजित गरेको हो । पहिलो सेट २५—१२ ले गुमाएको बिहुँकोट स्पोटर््सले दोस्रो सेटमा भने होटल समिटलाई राम्रै प्रतिस्पर्धा दियो । दोस्रो सेट ३०—२८ ले होटल समिटले जितेको थियो । दोस्रो सेट संघर्षपूर्ण भए पनि तेस्रो सेटमा होटल समिटले खेललाई आफ्नो नियन्त्रणमा राख्दै २५—२२ ले जित्दे खेलको नतिजा आफ्नो पोल्टामा पारेको हो । 
शुक्रबार नै तय भएको अर्को खेलमा जैमिनी नगरपालिका उपस्थीत नभएपछि नेपाल विद्यार्थी संघ बागलुङ सोझै अघिल्लो चरणमा प्रवेश गरेको छ । बागलुङ महोत्सवको अवसरमा आयोजना गरिएको पुरुष भलिबल प्रतियोगिता बेष्ट अफ पाईभ नक आउट सिस्टमका आधारमा खेलाईएको हो । शनिबार दोस्रो चरणको खेलहरु सञ्चालन हुनेछ ।
 दोस्रो चरणमा नेपाल विद्यार्थी संघ विरुद्ध कुस्मा नगरपालिका, मेरो डेन्टल होम विरुद्ध रायडाँडा खेलकुद विकास समिति, काठेखोला गाउँपालिका विरुद्ध गलकोट नगरपालिका र होटल समिट बागलुङ विरुद्ध मालिका युथ क्लबबीच हुने भलिबल प्रतियोगिताका संयोजक अकिलबहादुर क्षेत्री ध्रुबले जानकारी दिए । बागलुङ महोत्सवको मुख्य आकर्षण रहेको पुरुष भलिबल प्रतियोगितामा विभिन्न १४ समुहले भाग लिएका छन् ।
 गण्डकी प्रदेश पालिकास्तरीय पुरुष भलिबल प्रतियोगितामा सम्बन्धित पालिका र जिल्ला बाहिर गण्डकी प्रदेशका २ जना खेलाडी टिममा समावेश गर्न पाईने भएकाले खेल निकै नै रोचक हुने अनुमान गरिएको छ । प्रतियोगितामा भाग लिने सम्पूर्ण खेलाडी एउटै पालिकाको हुनुपर्ने र दुई जना मात्रै सम्बन्धित पालिका रहेको भन्दा बाहिरी जिल्ला गण्डकी प्रदेश भित्रको हुनुपर्ने आयोजकले जनाएको छ । 
प्रतियोगितमा गण्डकी प्रदेशबाट राष्ट्रिय प्रतियोगितामै नाम कमाउन सफल हिमाल सुनारीलगायत खेलाडीलाई ल्याउनका लागि बागलुङका टिमले आफ्नो समुहमा नाम दर्ता गराएका छन् ।
 प्रतियोगितामा उपाधि विजेता टिमले नगद २ लाख १ हजार ५ सय, द्वितीय हुनेले नगद १ लाख २१ हजार ५ सय, तृतीयल ४४ हजार ५ सय र सान्त्वना हुने टिमले २२ हजार ५ सय रुपैयाँ प्राप्त गर्नेछन् । साथमा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने सबै समुहलाई मेडल, ट्रफी र प्रमाणपत्रको व्यवस्था गरिएको छ । 
महोत्सवमा खुल्ला राष्ट्रिय लोक दोहोरी गीत प्रतियोगिता, गण्डकी प्रदेशस्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता, खुल्ला महिला भलिबल प्रतियोगिता, पञ्चेबाजा प्रदर्शनी तथा प्रतियोगिता, भाले छुने प्रतियोगिता, सामूहिक नृत्य, वक्तृत्वकला, लठो तान्ने, घैटोफोर प्रतियोगितालगायत विभिन्न झाँकी प्रदर्शनी र राष्ट्रिय कलाकारको सांगीतिक प्रस्तुती आयोजना गरिएको छ ।
 

प्रतिक्रिया