बागलुङ- बागलुङको तमानखोला गाउँपालिकाको कार्यपालिका पहिलो बैठकले बालगृह सञ्चालन गर्ने निर्णय गरेको छ । बैठकले आफ्नै पालिकाको गान, युवालाई स्वरोजगारमा प्रोत्साहन, पालिकाका उत्कृष्ट अंक ल्याउने विद्यार्थीललाई एमबिबिएस पढाउने निर्णय गरेको छ । बैठकले ४ वटा निर्णय पारित गरेको छ ।
समृद्ध तमानखोला गाउँपालिका निर्माण अभियानको क्रममा कार्यपालिका बैठकले पालिका भित्र रहेका बाबाआमा नभएका अनाथ बालबालिका र अति विपन्न परिवारका बालबालिकालाई पालिकाले लालनपालन र कक्षा १२ सम्म निःशुल्क अध्ययनको व्यवस्था गर्ने गरी यस शैक्षिक सत्रदेखि त्यस्ता बालबालिकाको खोजी गरी बालगृह सञ्चालन गर्ने निर्णय गरेको हो । गाउँकार्यपालिकाको निर्णयले तमानखोला गाउँपालिकामा रहेका ३ वटा माध्यमिक विद्यालयबाट एसइई परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थी मध्ये ३ जनालाई पूर्ण छात्रवृत्तिमा एमबीबीसीएससम्म निशुल्क पढाउने निर्णय गरेको छ । गाउँपालिकाबाट एमबीबीएससम्म विद्यार्थीको पहुँच पु¥याई गाउँका स्वास्थ्य संस्थामा सेवा दिन सक्ने गरी अगाडी बढाउन यस्तो कार्यक्रम अगाडी सारिएको गाउँपालिका अध्यक्ष जोकलाल बुढाले बताए ।
बैठकले बेरोजगार युवालाई स्वरोजगार बनाउन जिवीकोपार्जनका निम्ती गाउँपालिकाले सहयोग गर्ने भएको छ । पालिकाले बैंक र सहकारी संस्थासँग सहकार्य गरेर ऋण माग गर्ने र उद्यम गर्ने युवाले ऋण लगेवापतको व्याज पालिकाले तिरिदिने गरी कार्यक्रम अगाडी सारिएको हो ।
युवाहरुले गाउँमै उद्यम तथा कृषि उत्पादन गरी आत्मनिर्भर बन्न प्रोत्साहन स्वरुप क्रणको ब्याज गाउँपालिकाले तिरिदिने व्यवस्था गरेको अध्यक्ष बुढा मगरले बताए । पालिकालाई उत्पादनसँग जोड्न र युवालाई गाउँमै आत्मनिर्भर बनाउनका निम्ती यस्तो अभियानको सुरुवात गरिएको उनको भनाई ।
तमानखोला गाउँपालिको पहिलो बैठकले तमानखोला गाउँपालिकाको आफनै गानलाई समेत मान्यता दिएको छ । स्थानीय शिक्षक बिमला पुन घर्तीले तयार पारेको गानलाई कार्यपालिका बैठकले मान्यता दिँदै तयार पारेको गानलाई संगीत भरेर गाउँपालिकाको गानको रुपमा गाउने निर्णय भएको अध्यक्ष बुढा मगरले बताए ।