रास्वपाका नवनिर्वाचित सांसदहरूका लागि कार्यशाला सुरु किन गएनन् रवि र बालेन

  • चैत ३, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित सांसदहरूका लागि दुईदिने अभिमुखीकरण कार्यशाला ललितपुरमा सुरू भएको छ । कार्यक्रम ग्वार्कोस्थित रोयल टुलिप होटलमा सञ्चालन भइरहेको छ ।

उद्घाटन सत्रमा पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाह सहभागी भएका छैनन् । लामिछानेले समापन सत्रमा सम्बोधन गर्नेछन् भने बालेनको भूमिका कार्यतालिकामा समावेश गरिएको छैन ।


अभिमुखीकरणको उद्घाटन उपसभापति स्वर्णिम वाग्ले र डीपी अर्यालले घण्टी बजाएर गरेका छन् ।
सुरुआती सत्रमा अर्याल र वाग्लेले कार्यक्रमको उद्देश्य, सन्दर्भ र महत्वबारे नवसांसदहरूलाई जानकारी गराएका छन् ।


उक्त कार्यक्रममा रास्वपाले आगामी प्रधानमन्त्रीको रुपमा अघि सारेको वरिष्ठ नेता बालेन शाह उपस्थित नभएको विषयमा धेरैले चासो व्यक्त गरेका छन् ।

सभालाई सम्बोधन गर्दै उपसभापति अर्यालले पार्टी सभापति रवि र वरिष्ठ नेता बालेनको स्वास्थ्य ठीक नभएको र कार्यव्यस्थता पनि रहेकाले उपस्थित हुन नसकेको उल्लेख गरे ।

‘पार्टी सभापति सम्भव भएसम्म भोलिसम्म उपस्थित हुनुहुन्छ,’ उनले भने, ‘सभापति र वरिष्ठ नेता दुबै जनाको स्वास्थ्य स्थिति र कार्यव्यस्तताको कारण उपस्थित हुन नसक्नु भएको हो ।’

पहिलो दिनको सत्रमा संसदका पूर्वसचिव सुरेश अधिकारीले संघीय संसदको संरचना र कार्यप्रणालीबारे आफ्नो अनुभवसहित प्रस्तुति दिनेछन्। साथै सांसदहरूबीच आपसी चिनजान, समूह विभाजन तथा समूहमा काम गर्ने सीप विकास गर्ने अभ्यास पनि गराइनेछ।

यसैदिन उपसभापति वाग्लेले चुनावी वाचापत्र र सांसदहरूको जिम्मेवारीबारे प्रशिक्षण दिनेछन्। वाचापत्र कार्यान्वयनमा सांसदहरूको भूमिका र जवाफदेहिताबारे उनले प्रस्ट पार्नेछन्।

त्यस्तै, कानुन निर्माण प्रक्रियामा संघीय संसदको भूमिका विषयमा पूर्व कानुन सचिव तोयानाथ अधिकारीले जानकारी गराउनेछन्। रास्वपाले आमन्त्रित गरेकी अध्येता दोभान राईले संसद र नागरिकबीचको सम्बन्ध, डिजिटल युगमा प्रभावकारी संवाद र सञ्चार सीपबारे प्रशिक्षण दिनेछिन्।

पहिलो दिनकै सत्रमा चितवन–३ बाट निर्वाचित सांसद सोविता गौतमसहित केही सांसदहरूले आफ्ना अनुभव साझा गर्ने कार्यक्रम पनि रहेको छ।

दोस्रो दिनको सत्र योग तथा ध्यानबाट सुरु हुनेछ, जसलाई एलपी भानु शर्माले सहजीकरण गर्नेछन्। त्यसपछि योजना तर्जुमा, बजेट निर्माण तथा विन्यासबारे राष्ट्रिय योजना आयोगका पूर्वसचिव तोयानारायण ज्ञवालीले प्रशिक्षण दिनेछन्।

महामन्त्री बुर्लाकोटीले पार्टी र संसदबीचको सम्बन्धबारे जानकारी गराउनेछन् भने त्यसपछि संसदीय कार्यसूची र प्राथमिकता निर्धारणका विषयमा सामूहिक छलफल हुनेछ।

अन्त्यमा सभापति रवि लामिछानेको निर्देशनसहित अभिमुखीकरण कार्यक्रम समापन गरिनेछ । कार्यक्रम भोलि दिउँसो १ बजेसम्म सम्पन्न गर्ने कार्यसूची छ।

फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा रास्वपाले प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ सिट जितेको छ ।

प्रतिक्रिया