नारायण रिजाल - जिल्लाका दश वटै स्थानिय तहमा रहेका विभिन्न खानेपानीका मुहानमा मानव दिशामा पाइने किटाणु (कोलिफर्म) भेटिएको छ । स्वास्थ्य कार्यालय बागलुङले विभिन्न खानेपानीका मुहानमै पुगेर गरेको परिक्षणमा जिल्लामा ४९ स्थानका खानेपानी मुहानमा ‘कोलिफर्म’ भेटिएको हो । आर्थिक वर्ष ०७८।०७९ को सुरु देखी परिक्षण गरिएको जिल्ला भरका १ सय ११ खानेपानीका मुहान मध्ये ४९ वटा मुहानमा दिशामा पाईने किटाणु ‘कोलिफर्म’ भेटिएको छ भने ६२ वटा पानीको मुहानमा शुद्ध खानेपानी रहेको स्वास्थ्य कार्यालय बागलुङका कार्यालय प्रमुख सुरज गुरौले जानकारी दिए ।
अधिकांश मुहानमा पानी शुद्ध पार्ने विधि नै छैन
दश स्थानिय तह मध्ये ढोरपाटन नगरपालिका र गलकोट नगरपालिका बाहे अन्य स्थानिय तहमा परिक्षण गरिएका मध्ये ५० प्रतिशत भन्दा बढि मुहानमा मा कोलिफर्म भेटिएको हो । जिल्लामा सवै भन्दा बढि परिक्षण बागलुङ नगरपालिकामा १७ स्थानमा गरिएको थियो । जसमा १० स्थानका खानेपानीको मुहानमा ‘कोलिफर्म’ भेटिएको छ । जैमिनी नगरपालिकामा १० स्थानमा परिक्षण गर्दा ७ स्थानको ‘कोलिफर्म’ भेटिएको गुरौले बताए । जिल्लाको ताराखोला गाउँपालिकाका १६ वटा मुहानको खानेपानी परिक्षण गरिएको थियो जसमा ७ स्थानमा ‘कोलिफर्म’ भेटिएको छ । गलकोट नगरपालिकामा १२ स्थानमा परिक्षण गरिएकोमा ३ स्थानमा भेटिएको छ भने ढोरपाटन नगरपालिकामा ७ स्थानमा परिक्षण गरिएकोमा २ स्थानमा देखिएको छ । जिल्लाको पश्चिम तमानखोला गाउँपालिकामा ११ स्थानमा परिक्षण गर्दा ४ स्थानमा ‘कोलिफर्म’ भेटिएको छ भने निसीखोला गाउँपालिकामा ८ स्थानमा परिक्षण गर्दा ४ स्थानमा भेटिएको छ । बडिगाड गाउँपालिकामा ९ स्थानमा परिक्षण गर्दा ३ स्थानमा ‘कोलिफर्म’ भेटिएको छ भने बरेङ गाउँपालिामा १२ स्थानको मुहानको पानी परिक्षण गर्दा ४ स्थानमा र काठेखोला गाउँपालिकामा ९ स्थानमा परिक्षण गर्दा ५ स्थानमा ‘कोलिफर्म’ भेटिएको स्वास्थ्य कार्यालयले जनाएको छ । ‘कोलिफर्म’ भेटिएका अधिकाशं मुहानमा पानीलाई कसरी शुद्ध पार्ने त्यो विधि पनि अपनाईएको छैन ।
बागलुङ बजारमा वितरण गरिएको खानेपानीमा सवैभन्दा बढि कोलिफर्म
जिल्लामा कोलीफर्मको मात्रा सवै भन्दा बढि बागलुङ बजारमा वितरणको लागि ल्याइएको खानेपानीको मुहानमा भेटिएको छ । बागलुङ नगर खानेपानी आयोजनाको मुख्य मुहान रेश खोलाको मुहान र भुदीखोलाको मुहानमा अधिकतम मात्रामा कोलिफर्म भेटिएको स्वास्थ्य कार्यालय बागलुङका ल्याब टेक्निसियन अधिकृत डिल्ली प्रसाद आचार्यले बताए । मुहानबाट जम्मा गर्ने ट्याङ्की सम्मनै कोलिफर्म भेटिए पनि उपभोक्तालाई वितरण गर्दा नगर खानेपानीले क्लोरिन पाउडर राखेर वितरण गरेको पाईएको छ ।
‘नगर खानेपानीले केही मात्रामा पानीलाई शुद्ध पार्नका निम्ती क्लोरिन पाउडर हालेर उपभोक्ताको धारामा वितरण गरेको त पाईयो । आचार्यले भने,–‘तर क्लोरिन पाउडरको मात्रा पानीमा बढि छ । यसको मात्रा कति हाल्ने भन्ने नगरखानेपानीले मापन गरेको पाईएन । क्लोरिनको मात्रा नमिलाउँदा यसले झनै उपभोक्ताको स्वास्थ्यमा असर गर्न सक्छ । बजारमा वितरण भइरहेको पानी पिउन नमिल्ने रहेको उनले बताए । आचार्यका अनुसार पानीमा रहेको अम्लियपन, धमिलोपन र कोलिफर्म जाँच गरिएको थियो । बागलुङ बजारमा वितरण भइरहेको खानेपानीको स्रोत खुल्ला रहेकाले बगेर आउने पानीका कारण कोलिफर्मको मात्रा अत्याधिक देखिएको हुन सक्ने अनुसन्धान मार्फत बुझिएको छ ।
पानी शुद्ध पारेर उपभोक्ताको धारामा वितरण गरेका छौं खानेपानी संस्था
बागलुङ नगर खानेपानी तथा सरसफाई संस्थाले मुहानको पानीमा कोलिफर्मको मात्रा भेटिए पनि उपभोक्ताको घर सम्म पुग्दा शुद्ध खानेपानी पुग्ने दाबी गरेको छ । संस्थाले वितरण ट्याङ्कीमा आएपछि फिल्टरिङ गर्ने र कोलोरिन पाउडर राखेर पानीलाई शुद्ध बनाएर उपभोक्ताको घर सम्म पु¥याइएको संस्थाका प्रबन्धक हिमाल शर्माले बताए । ‘पाँच लाख लिटरको वितरण ट्याङ्की छ । यहाँ जम्मा हुने पानीको हिसाब गरेर हामीले दैनिक आवश्यकता अनुसार कोलोरिन पाउडर राख्छौ । शर्माले भने, संस्थाले पानीलाई शुद्ध पार्ने विधि हदसम्म अपनाएको छ । कहिले काही प्राविधिक समस्याले उपभोक्ताको घर सम्म धमिलो पानी र कोलिफर्म नै पुग्न सक्छ । त्यस कारण आम उपभोक्तालाई खानेपानी उमालेर पिउनका लागि सल्लाह दिन्छौ । ’
बागलुङ बजारका स्थायी बासिन्दा र बाहिरबाट आएका हजारौं उपभोक्ता अहिले पानी नआउने र आए पनि धमिलो दूषित पानी हेरेर बस्नुपर्ने समस्याबाट आजित छन् । पानी नआउने र धमिलो पानी आउने समस्या टार्न बजारवासी आसपासका विभिन्न क्षेत्रमा पुग्ने गरेका छन् तर, खानेपानी वितरणको जिम्मेवारी पाएको बागलुङ नगर खानेपानी उपभोक्ता संस्थाले भने वर्षा पछिको बाढी र पहिरोले अवरोध पु¥याएको समयमा बाहेक अरु बेला पानीको नियमित आपूर्ति हुने गरेको दावी गर्दै आएको छ ।
पानी उमालेर खाने यसको एक मात्र उपाय
‘कोलीफर्म मिसिएको पानी खाँदा मानिसलाई झाडा पाखला, टाईफाइड लगायतका खतरा हुन्छन स्वास्थ्य कार्यालय प्रमुख गुरौले भने , ‘पानी उमालेर मात्र खाने यसको एकमात्र उपाया हो । खतरनाक धेरै रोगबाट बच्नका लागि पनि पानी शुद्धिकरण र उमाल्ने विधि अपनाउनु पर्ने हुन्छ।’ जिल्लामा परीक्षणपछि आएको नतिजाको बिषयमा सम्बन्धीत खानेपानी प्रयोग गर्र्ने उपभोक्ता र खानेपानी संस्थालाई जानकारी गराएको छ । पानी वितरण गर्दा कोलोरिनेस गरेर वा फिल्टर गरेर मात्रै वितरण गर्नुपर्नेमा त्यसो नगरेकाले उपभोक्ताको धारामा समेत कोलिफर्म भेटिएको गुरौको भनाई छ । स्वास्थ्य कार्यालयले परीक्षण गर्दा यस अघि पनि नगरको खानेपानीमा पटक पटक कोलिफर्म भेटिएको थियो ।