बागलुङ- पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) गण्डकी प्रदेशले बागलुङका उद्योगी व्यवसायीलाई डिजिटल सम्बन्धी अभिमुखिकरण कार्यक्रम संचालन गरेको छ । व्यवसायीलाई डिजिटल प्रविधिको प्रयोग गरी आफ्नो व्यवसायको प्रर्वद्धन गर्न सिकाउने उद्देश्यले कार्यक्रम संचालन गरिएको थियो । गण्डकी प्रदेश सरकार उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको सहयोग र स्थानिय बागलुङ उद्योग बाणिज्य संघको समन्वयमा जिल्लामा व्यवसाय गर्ने अधिकाशं महिला व्यवासायीलाई डिजिटल प्रविधि सम्बन्धी अभिमुखिकरण प्रदान गरिएको हो ।
पछिल्लो समयमा व्यवसाय क्षेत्र धरासयी बन्दै गएको बेला यसको प्रवद्र्धनका निम्ती अहिलेको डिजिटल प्रविधिलाई कसरी प्रयोग गरेर आफ्नो व्यापार व्यवसाय बढाउन सकिन्छ भन्ने कुरालाई जोड दिँदै कार्यक्रम संचालन गरिएको टेवान गण्डकी प्रदेशका अध्यक्ष कमला गिरीले जानकारी दिईन । गिरीका अनुसार टेवानले गण्डकी प्रदेशको पर्यटन क्षेत्रको प्रवद्र्धनका साथै व्यवसायीलाई डिजिटल प्रविधिको बारेमा जानकारी गराउनु र उनिहरुको क्षमता अभिबृद्धि र कानुन सम्बन्धी अभिमुखिकरण कार्यक्रमहरु पनि संचालन गर्दै आएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य चम्पादेवी खड्काले अहिलेको परिवेशमा नयाँ नयाँ कार्यक्रम संचालन गरी उद्योगी व्यवसायीको क्षमता अभिबृद्धि गर्न जरुरी रहेको बताईन । उनले जसले जुन व्यवसायी गरेको छ त्यसैमा टिक्नका लागि आफ्नो व्यवसायको प्रवद्र्धन गर्न जरुरी रहेको बताईन । ‘ग्राहकको माग के छ, बजारमा कस्तो के चलेको छ त्यो व्यापारीले बुझ्न जरुरी रहेको छ, ग्राहकको माग अनुसार हामीले सेवा दिनुपर्दछ । त्यसका लागि अहिलेको प्रविधिको प्रयोग गर्न जरुरी छ । आफ्नो व्यापार व्यवसाय पनि डिजिटिलाईजेशन गरेर प्रर्वद्धन गरौं ।
उनले टेवानले बागलुङका व्यवासायीलाई थप होसला दिने काम गरेको बताईन । खड्काले जिल्लामा पर्यटन क्षेत्रको प्रचुर सम्भावना भएका कारण पर्यटकिय क्षेत्रको विकास गर्न सके व्यवसायीक क्षेत्रमा पनि सहयोग पुग्ने बताईन ।
कार्यक्रममा टेवान गण्डकी प्रदेशका संस्थापक अध्यक्ष लक्की कार्की क्षेत्री, बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष नरेश कंडेल लगायतले अहिलेको युग अनुसार आफ्नो व्यवसायलाई बदल्नुपर्ने कुरामा जोड दिएका थिए । अभिमुखिकरण कार्यक्रमको सहजीकरण आँखीझ्याल टेक्नोलोजीका प्रशिक्षक पारस देवकोटा र उज्वल अधिकारीले गरेका थिए । कार्यक्रममा बागलुङ बजारका विभिन्न पेशा व्यवसायी गर्ने व्यापारीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रम टेवान गण्डकी प्रदेशका अध्यक्ष कमला गिरीको अध्यक्षता, कार्यक्रम संयोजक सरिता बराल क्षेत्रीको स्वागत र महासचिव अनिता खड्का भट्टराईको संचालनमा सम्पन्न भएको थियो ।