बागलुङ- जिल्लाका १ सय १७ खानेपानीका मुहानमा मानव दिशामा पाइने किटाणु (कोलिफर्म) पाईएको छ । जिल्लाका दश वटै स्थानिय तहसँग समन्वय गरी स्वास्थ्य कार्यालय बागलुङले गरेको खानेपानीका नमुना परिक्षणमा गरेको थियो । परिक्षणका क्रममा ताराखोला गाउँपालिका बाहेक अन्य सवै स्थानिय तहका विभिन्न खानेपानीका मुहानमा कोलिफर्म भेटिएको छ । जिल्ला भर कुल ३ सय ५७ खानेपानीका मुहानको यस वर्ष खानेपानीको नमुना परिक्षण गरिएको थियो जसमा १ सय १७ वटा मुहानमा दिशामा पाईने किटाणु ‘कोलिफर्म’ भेटिएको स्वास्थ्य कार्यालय बागलुङका ल्याब टेक्निसियन निरिक्षक डिल्ली प्रसाद आचार्यले जानकारी दिए ।
जैमिनीका ४२ खानेपानी मुहानमा ‘कोलिफर्म’
जिल्लाको दश स्थानिय तह मध्ये नौ स्थानिय तहमा स्वास्थ्य कार्यालय बागलुङका प्राविधिकको टिमले खानेपानीको नमुना परिक्षण गरेको छ भने बडिगाड गाउँपालिकाले आफ्नै श्रोत साधनले खानेपानीको मुहानमा नमुना परिक्षण गरेको थियो । जिल्लामा सवै भन्दा बढि परिक्षण जैमिनी नगरपालिकामा ९७ स्थानमा गरिएको थियो । जसमा ४२ स्थानका खानेपानीको मुहानमा ‘कोलिफर्म’ भेटिएको छ । नगरपालिका भित्रका ८ वटा खानेपानी मुहानमा कोलिफर्मको मात्र सवै भन्दा बढि रहेको स्वास्थ्य कार्यालयको प्रतिवेदनमा रहेको छ ।
जिल्लाको तमानखोला गाउँपालिकामा ६२ वटा मुहानको खानेपानी परिक्षण गरिएको थियो जसमा १३ स्थानमा ‘कोलिफर्म’ भेटिएको छ । ढोरपाटन नगरपालिकामा २० स्थानमा परिक्षण गरिएकोमा ९ स्थानमा भेटिएको छ भने काठेखोला गाउँपालिकाका १० वटा खानेपानी आयोजना तथा मुहानमा गरिएको परिक्षणमा ४ स्थानमा कोलिफर्म भेटिएको ल्याब टेक्निसियन निरिक्षक आचार्यले बताए । जिल्लाको गलकोट नगरपालिकामा २२ स्थानमा गरिएको खानेपानी नमुना परिक्षणमा १३ स्थानमा कोलिफर्म भेटिएको छ भने निसीखोला गाउँपालिकामा ८ स्थानमा परिक्षण गर्दा ३ स्थानमा भेटिएको छ । बरेङ गाउँपालिकामा ६ स्थानको मुहानको पानी परिक्षण गर्दा २ स्थानमाा ‘कोलिफर्म’ भेटिएको छ भने ताराखोला गाउँपालिका नमुना परिक्षण गरिएको खानेपानी आयोजना र मुहानमा कोलिफर्मको मात्रा भेटिएको छैन ।
बडिगाडमा २६ मुहानमा कोलिफर्म
जिल्लाको बडिगाड गाउँपालिकाले भने आफ्नै उपकरण र प्राविधिक परिचालन गरी गाउँपालिका भित्रका १ सय २१ स्थानको खानेपानीको नमुना परिक्षण गरेको थियो । जसमा २६ स्थानमा ‘कोलिफर्म’ भेटिएको गाउँपालिकामा स्वास्थ्य शाखा प्रमुख विपेन्द्र केसीले जानकारी दिए । बडिगाड गाउँपालिकालाई स्वास्थ्य कार्यालयको समन्वयमा विश्व स्वास्थ्य संगठनको सहयोगमा खानेपानी परिक्षण मेसिन प्रदान गरे पश्चात गाउँपालिका तहमा नै परिक्षण सुरु गरेको हो । ‘कोलिफर्म’ भेटिएका अधिकाशं मुहानमा पानीलाई कसरी शुद्ध पार्ने त्यो विधि पनि अपनाईएको छैन ।
जिल्लामा सवै भन्दा बढि चासोको रुपमा रहेको बागलुङ नगरपालिका भित्रका ६ वटा मुहानको पानी परिक्षण गरिएको थियो । ति सवै बागलुङ बजारमा वितरणको लागि ल्याइएको खानेपानीको मुहानमा र ट्याङकी रहेका छन । बजारमा वितरणका लागि ल्याईएको खानेपानी मुहानामा पनि ‘कोलिफर्म’ भेटिएको स्वास्थ्य कार्यालयले जनाएको छ । बागलुङ बजारमा वितरण गरिएको नगरखानेपानीका मुहान र वितरण गर्ने ट्याङ्की गरी ६ स्थानमा नमुना परिक्षण गरिएको थियो । जसमा ५ स्थानमा ‘कोलिफर्म’को मात्रा देखिए पनि आम उपभोक्तालाई वितरण गर्दा यसलाई शुद्धता पार्ने विधि अपनाईएको स्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन अधिकृत आचार्यले बताए । मुहानबाट जम्मा गर्ने ट्याङ्की सम्मनै ‘कोलिफर्म’ भेटिए पनि उपभोक्तालाई वितरण गर्दा नगर खानेपानीले क्लोरिन पाउडर राखेर वितरण गरेको पाईएको उनले बताए ।
‘नगर खानेपानीले केही मात्रामा पानीलाई शुद्ध पार्नका निम्ती क्लोरिन पाउडर हालेर उपभोक्ताको धारामा वितरण गरेको त पाईयो । आचार्यले भने,–‘तर क्लोरिन पाउडरको मात्रा पानीमा बढि छ । यसको मात्रा कति हाल्ने भन्ने नगरखानेपानीले मापन गरेको पाईएन । क्लोरिनको मात्रा मिलाउन आवश्यक छ । विगतमा भन्दा यस वर्ष बजारमा वितरण हुने पानीमा केही शुद्धता बनाउने प्रयास गरिएको पाईएको आचार्यले बताए । आचार्यका अनुसार पानीमा रहेको अम्लियपन, धमिलोपन र ‘कोलिफर्म’ जाँच गरिएको थियो । बागलुङ बजारमा वितरण भइरहेको खानेपानीको स्रोत खुल्ला रहेकाले बगेर आउने पानीका कारण कोलिफर्मको मात्रा अत्याधिक देखिएको हुन सक्ने अनुसन्धान मार्फत बुझिएको छ ।
बागलुङ नगर खानेपानी तथा सरसफाई संस्थाले मुहानको पानीमा कोलिफर्मको मात्रा भेटिए पनि उपभोक्ताको घर सम्म पुग्दा शुद्ध खानेपानी पुग्ने दाबी गरेको छ । संस्थाले वितरण ट्याङ्कीमा आएपछि फिल्टरिङ गर्नुका साथै विलिटिङ र कोलोरिन पाउडर राखेर पानीलाई शुद्ध बनाएर उपभोक्ताको घर सम्म पु¥याइएको संस्थाका कार्यबहाक अध्यक्ष हरिबहादुर जिसी सन्तोषले बताए । उनले ट्याङ्कीमा पानीलाई फिल्टरिङ गर्नुका साथै दैनिक पानी शुद्ध पार्ने विधि अपनाएको बताए । संस्थाले पानीलाई शुद्ध पार्ने विधि हदसम्म अपनाएको छ । कहिले काही प्राविधिक समस्याले उपभोक्ताको घर सम्म धमिलो पानी र ‘कोलिफर्म’ नै पुग्न सक्छ । त्यस कारण आम उपभोक्तालाई खानेपानी उमालेर पिउनका लागि हामी सल्लाह दिन्छौं जिसीले भने् ।
स्वास्थ्य कार्यालय बागलुङले प्रत्येक वर्ष जिल्लाका विभिन्न मुहानको पानीको नमुना परिक्षण गर्दै आएको छ । आम नागरिकलाई स्वच्छ पानी उपभोग गरुन भन्ने उद्देश्यले हरेक वर्ष खानेपानी आयोजनाका मुहानको पानीको नमुना परिक्षण गर्ने स्वास्थ्य कार्यालय बागलुङका जनस्वास्थ्य प्रशासक बाबुराम आचार्यले बताए । उनले ‘वाटर सेप्टी प्लान’ अन्तरगत कार्यालयले जनप्रतिनिधि र उपभोक्ता समितिमा रहेका जिम्मेवारी व्यक्ति सँग खानेपानीका मुहान कसरी सफा र सुरक्षित राख्ने भन्ने विषयमा अन्तरक्रिया समेत गरेको बताए । यस वर्ष जिल्लाको जैमिनी नगरपालिका र गलकोट नगरपालिकामा उक्त कार्यक्रम संचालन गरिएको थियो । जिल्लामा परीक्षणपछि आएको नतिजाको बिषयमा सम्बन्धीत खानेपानी प्रयोग गर्र्ने उपभोक्ता र खानेपानी संस्थालाई जानकारी गराएको कार्यालय प्रमुख आचार्यले बताए । ‘प्रत्येक वर्ष फरक फरक मुहानको खानेपानीको नमुना परिक्षण गछौं, जहाँ समस्या छ त्यहाँ सुधार गर्नका निम्ती सुझाव पनि दिन्छौं कार्यालय प्रमुख आचार्यले भने,—‘केही उपभोक्ताले त खानेपानीको मुहानको सरसफाई देखी पानी कसरी शुद्ध पार्ने भन्ने विधि पनि अपनाउनुभएको छ केहीले यस बारेमा चासै दिनुभएको छैन ।’ उनले कोलीफर्म मिसिएको पानी खाँदा मानिसलाई झाडा पाखला, टाईफाइड लगायतका खतरा हुने हुँदा पानी उमालेर मात्र खाने यसको एकमात्र उपाय भएको बताए । खतरनाक धेरै रोगबाट बच्नका लागि पनि पानी शुद्धिकरण र उमाल्ने विधि अपनाउनु पर्ने हुन्छ । कोलीफर्मयुक्त पानी पिउँदा दिसाजन्य रोगले महामारीको रूप लिनसक्ने अवस्था आउनसक्ने भन्दै यसबाट जोगिनका लागि उपभोक्ता स्वयंले पानीको शुद्धीकरणमा ध्यान दिनुपर्ने स्वास्थ्यकर्मीको भनाइ छ ।