बागलुङ —शुक्रबार राती देखिको वर्षाका कारण आएको पहिरोले बागलुङको गलकोटमा २ जनाको मृत्यु भएको छ ।
शनिबार बिहान साढे ३ बजे खसेको पहिरोले गलकोट नगरपालिका वडा नम्बर–८ को बिसौनाका स्थानीय प्रेमबहादुर विकको घर बगाएको गलकोट नगरपालीकाका प्रवत्ता हिम बहादुर भण्डारी हेमन्तले जानकारी दिए । घटनामा ५५ वर्षीय प्रेमबहादुर सहित उनकी श्रीमती ५० वर्षीया वसन्तीको मृत्यु भएको छ ।
घर माथिदेखि खसेको पहिरोले विकको घर र गोठ बगाएको थियो । घरमा सुतेका दम्पत्ती पुरिएको अवस्थामा दुवै जनाको शव भेटिएको छ । घटनामा विक परिवारकै छोराछोरी शिशिर विक र कुमारी विक घाइते छन् । उनीहरूलाई उपचार गर्न गलकोट नगर अस्पताल पठाइएको प्रबत्ता भण्डारीले जानकारी दिए । विक परिवारको घर गोठ पूर्ण रुपमा क्षती भएको छ। घटनास्थल सदरमुकाम देखि ६० किमी पश्चिममा पर्छ ।
वर्षापछि कालीगण्डकी करिडोर, बागलङ–कुश्मीसेरा सडक पनि अबरुद्ध भएको छ । जैमिनी नगरपालिका वडा नम्बर–१ को जुम्लीखोलामा आएको पहिरोले सडक अवरुद्ध भएको नगर उपप्रमुख हरिहर शर्माले जानकारी दिए ।