स्थानीय सञ्चार माध्यमको सुदृढीकरणका लागि सञ्चार सरोकारवालासँग छलफल

  • ब‌ैशाख १२, २०८३

बागलुङ -  प्रेस रजिष्ट्रार कार्यालय गण्डकी प्रदेशको आयोजना तथा नेपाल पत्रकार महासंघको समन्वयमा बागलुङमा सञ्चार सरोकारवालासँग अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । स्थानिय संचार माध्यमको वर्तमान अवस्था र चुनौतीकासँगै यसको सवलिकरणका निम्ती थाल्न सकिने प्रयासका बारेमा छलफल भएको थियो । 
कार्यक्रममा गण्डकी प्रदेशका प्रेस रजिष्ट्रार विमला भण्डारीले जिल्लामा सञ्चालित सञ्चारमाध्यमहरूको वर्तमान अवस्था, चुनौती र सम्भावनाबारे प्रत्यक्ष रूपमा जानकारी लिन तथा आगामी योजनाहरू निर्माण गर्न यस्ता कार्यक्रम उपयोगी हुने बताइन् । उनले स्थानीय सञ्चारमाध्यमको सुदृढीकरण, दिगोपन र व्यावसायिक विकासका लागि आवश्यक नीतिगत तथा संस्थागत पहलहरू अघि बढाइने जानकारी दिँदै मिडियालाई थप सशक्त बनाउन सहकार्य अपरिहार्य रहेको धारणा व्यक्त गरिन् ।
छलफलका क्रममा संचार माध्यमका संचालक तथा सहभागीहरूले स्थानीय सञ्चारमाध्यमलाई सशक्त बनाउन तीनै तहका सरकारको सहयोग र सहकार्य आवश्यक रहेको औंल्याए । उनिहरुले प्रेस रजिष्ट्रार कार्यालयले पनि स्थानीय स्तरका सञ्चारमाध्यमलाई लक्षित गरी दीर्घकालीन योजना, अनुदान, तालिम तथा प्राविधिक सहयोगका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा शेयरकास्ट इनिशियटिभ नेपालका सिईओ तथा मिडिया अनुसन्धानकर्ता मधु आचार्य सेन्टर फर मिडियाका संचालक एवं मिडिया अनुसन्धानकर्ता डा. भुमिराज चापागाईले  बदलिँदो सञ्चार परिवेशमा दक्ष जनशक्ति उत्पादन, डिजिटल सीप विकास, तथ्यपरक र गुणस्तरीय सामग्री निर्माण तथा पाठक–श्रोता केन्द्रित कन्टेन्ट निर्माणमा जोड दिनुपर्ने आवश्यकता औंल्याए । 
छलफलमा परम्परागत शैलीबाट बाहिर निस्केर डिजिटल युगअनुसार सञ्चारमाध्यमले आफूलाई रूपान्तरण गर्नुपर्ने, सामाजिक सञ्जालसँगको प्रतिस्पर्धालाई अवसरका रूपमा लिँदै विश्वसनीयता कायम राख्नुपर्ने विषयमा समेत जोड दिइएको थियो । सहभागीहरूले स्थानीय सञ्चारमाध्यमको सवलिकरणका निम्ती स्थानिय सरकारको बढि सहयोग र साथ आवश्यक रहेको बताएका थिए । उनहिरुले खोजमूलक पत्रकारिता, स्थानीय मुद्दाको प्राथमिकता र नागरिक सहभागितालाई बढवा दिनुपर्ने धारणा राखेका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङका पूर्व अध्यक्ष रामबहादुर जी.सी.ले पत्रकारिताको व्यावसायिक मर्यादा, आचारसंहिता पालन र स्थानीय सञ्चारमाध्यमको विश्वसनीयता कायम राख्न सबै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिए । सयपत्री एफ.एमका अध्यक्ष जगन्नाथ आचार्यले एफ.एम रेडियोहरूको वर्तमान अवस्था, आर्थिक चुनौती तथा प्रविधिगत रूपान्तरणको आवश्यकता सम्बन्धी धारणा व्यक्त गरे । सहभागीहरूले यस्ता अन्तरक्रिया कार्यक्रमले नीतिनिर्माण तह र सञ्चार क्षेत्रबीचको दूरी घटाउँदै स्थानीय संचारमाध्यम र पत्रकारिताको विकासमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका थिए।
कार्यक्रममा जिल्लामा सञ्चालित सञ्चारमाध्यमहरूको अवस्था र कार्यक्रमको उद्देश्यबारे नेपाल पत्रकार महासंघका उपाध्यक्ष सुवास आचार्यले जानकारी गराएका थिए । कार्यक्रम महासंघका सचिव नारायण रिजालको सञ्चालनमा सम्पन्न भएको थियो ।
कार्यक्रममा जिल्लाका विभिन्न सञ्चारमाध्यमका सञ्चालक, पत्रकार तथा सञ्चार सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो । 

प्रतिक्रिया