बागलुङ - बागलुङको प्रसिद्ध धार्मिकस्थल कालिका भगवती मन्दिरले वैशाख महिनामा ६१ लाख ७८ हजार २१० रुपैयाँ आम्दानी गरेको छ । आय–व्यय विवरण सार्वजनिक गर्दै कालिका भगवती गुठी व्यवस्थापन समिति बागलुङले मन्दिरमा वैशाख महिनामा ११ लाख ५८ हजार ५४० रुपैयाँ खर्च भएको जनाएको छ ।
सार्वजनिक विवरणअनुसार भेटीबाट मात्रै ३६ लाख ८७ हजार ५४५ रुपैयाँ संकलन भएको छ । त्यसैगरी परेवाबाट १० लाख २९ हजार ५००, बोकाबाट १ लाख ३६ हजार ३५५, भाडाबाट ९ लाख ७१ हजार १४० तथा आर्थिक सहयोगबाट २ लाख ४ हजार २२० रुपैयाँ आम्दानी भएको उल्लेख छ ।
त्यस्तै चामलबाट ९३ हजार, पण्डितबाट २५ हजार ५००, कुखुराबाट ७ हजार ८ सय, विवाहबाट १४ हजार, व्रतबन्धबाट ३ हजार तथा राँगाबाट २ हजार ८ सय रुपैयाँ आम्दानी भएको जनाइएको छ ।
खर्चतर्फ तलबमा ४ लाख ३१ हजार, पूर्वाधार निर्माणमा ६ लाख २ हजार ८००, बिजुली खर्चमा ३९ हजार ४० र खाद्यान्न तथा आवासमा ६० हजार रुपैयाँ खर्च गरिएको छ ।
समितिका अनुसार वैशाख महिनामा खर्च कटाएर ५० लाख १९ हजार ६७० रुपैयाँ बचत भएको छ । मन्दिर व्यवस्थापन, पूर्वाधार विकास तथा धार्मिक गतिविधिका लागि भेटी तथा सहयोग रकम प्रयोग हुँदै आएको समितिले जनाएको छ ।
बागलुङ कालिका भगवती मन्दिर गण्डकी प्रदेशकै प्रसिद्ध शक्तिपीठका रूपमा परिचित रहेको छ ।