स्कुल बस दुर्घटनामा घाइते १८ बिद्यार्थी डिस्चार्ज

  • फाल्गुण ४, २०८२

बागलुङ -  गत बिहिवार भएको स्कुल बस दुर्घटनामा धौलागिरी अस्पतालमा उपचार गराइरहेका सबै घाइते विद्यार्थी डिस्चार्ज भएका छन् ।

विद्यालयबाट घर फर्किने क्रममा बिहिवार दिउसो साढे ४ बजे बागलुङ नगरपालिका वडा नंं. १ स्थित न्यु एभरेष्ट एकेडेमीको ग ३ च ८६२१ नंं.को स्कुल बस बागलुङ नगरपालिका -३ हाँडेपाखामा दुर्घटना भएको थियो । सो दुर्घटनामा परी धौलागिरी अस्पतालमा उपचार गराईरहेका सवै बिद्यार्थी, चालक र शिक्षिका डिस्चार्ज भएको अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा.किरण तिवारीले बताए ।

अब पोखराका दुई अस्पतालमा ६ जना मात्रै बिद्यार्थी उपचारमा छन् । पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा संगम किसान उपचाररत छन् भने बाँकी ५ जना बिद्यार्थी पोखरा स्थित मणीपाल शिक्षण अस्पतालमा उपचार गराइरहेका छन् । मणीपाल शिक्षण अस्पतालमा अनन्या किसान, आयान बोहोरा, सोलुमान रसाईली, निकित किसान र सुमन गैरेको उपचार भैरहेको अस्पतालले जनाएको छ ।

उक्त घटनामा घाइते भएका मध्ये २ जना बिद्यार्थीको मृत्यु भएको छ । कक्षा ४ का सुजल छन्त्यालको उपचारको क्रममा शनिवार पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा निधन भएको हो । भने कक्षा ८ का अमन बोहोराको बिहिवारै धौलागिरि अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।

उपचारको क्रममा शनिवार निधन भएका बिधार्थी सुजल छन्त्यालको आइतवार बागलुङ नगरपालिका १ मालढुंगामा दाहसंस्कार गरिएको छ । दाहसंस्कारमा आफन्त र स्थानीयको भीड लागेको थियो ।

घाइतेको उपचारका लागि बिद्यालयले सवै खर्च व्यवहोरेको छ भने मृतकको परिवारलाई काजक्रिया खर्च र कानून बमोजिम पाउने राहत सुविधा उपलब्ध गराउने सहमति भएको एक अभिभावकले जानकारी दिए ।

उपचारपछि चालक बीरबहादुर थापा प्रहरी नियन्त्रणमा छन् । प्रहरीले दुर्घटना बारे थप अनुसन्धान गरिरहेको छ । सोही घटनामा घाइते भएकी शिक्षक सारिका बोहोरा पनि उपचारपछि घर फर्केकी छिन् ।

दुर्घटनाको छानबिन गर्न जिल्ला शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख प्रकाशबन्धु अर्याल संयोजक रहेको समिति गठन गरिएको छ । समितिका सदस्यहरुमा यातायात व्यवस्था कार्यालयका इन्जिनियर सुरेश जैशवाल, जिल्ला प्रशासन कार्यालयका अधिकृत खिम बहादुर विक, ट्राफिक प्रहरी प्रमुख बरिष्ठ प्रहरी नायव निरीक्षक मिन बहादुर कुवँर, पिडितको तर्फबाट प्रिया किसान र कुशल बोहोरा तथा निजी विधालयको तर्फबाट प्याब्सनका दल बहादुर थापा रहेका छन् ।

उक्त समितिको प्रतिवेदनको आधारमा बिद्यालय, प्रशासन र सरोकारवाला बसेर थप निर्णय लिने प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले जानकारी दिए । सो दुर्घटनामा परी विद्यार्थी, शिक्षक र चालक गरी २६ जना घाईते भएका थिए ।

 

प्रतिक्रिया