बागलुङ - सोमबार बेलुका देखी आएको अविरल वर्षाका कारण पहिरो जाँदा बागलुङमा एक जनाको मृत्यु भएको छ । जिल्लाको बाडिगाड गाउँपालिका—९ दर्लिङखोला भन्ने ठाउँमा घरमाथिबाट आएको पहिरोमा पुरिएर स्थानिय श्यामलाल परियारका १५ बर्षिय छोरा विद्यान परियारको मृत्यु भएको छ । पहिरोका कारण स्थानियहरुका केही घर पुरिनुका साथै जोखिममा रहेको गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले जानकारी दिईन । नयाँ वस्ती सारिएको क्षेत्रमा पहिरो गएका कारण अन्य के कती क्षती भएको छ सोको विवरण आई नसकेको गाउँपालिका अध्यक्ष अधिकारीले बताईन ।
पहिरोका कारण बडिगाड गाउँपालिकाकै वडा नं. १० दर्लिङमा १ घर गोठमा बगाउँदा ३ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरिक्षक विजय यादवले जानकारी दिए । स्थानिय चक्रबहादुर बुढाको घर गोठ बगाउँदा उनी १ श्रीमती र २ छोरी बेपत्ता भएका छन । यादवका अनुसार घटनास्थलमा प्रहरीको टोली पुग्दै गरेको र घटनाको एकिन विवरण अझै पत्ता लागि सकेको छैन । घटनाको बारेमा थप विवरण बुझ्नका उपाध्यक्ष भिमसेन वनको नेतृत्वमा प्रहरी कर्मचारी र जनप्रतिनिधिको टोली घटनास्थल तर्फ जाँदै छन । कठिन भुगोलका कारण घटनास्थल पुग्नका लागि कठिनाई भएको छ । घटनास्थल वरपरका फोन समेत सम्पर्क हुन नसकेको हुँदा घटनाको एकिन विवरण आउन सकेको छैन ।