बागलुङ- राष्ट्रिय जनमोर्चा बागलुङले एमसीसीको विरोधमा शनिबार बागलुङ बजारमा प्रदर्शन गरेको छ । जिल्लाका सवै स्थानिय तहका कार्यकर्ताहरुको सहभागितामा सदरमुकाममा विरोध प्रर्दशन गरेको हो । विरोध सभामा बाेल्दै जनमोर्चाका केन्द्रीय महासचिव मनोज भट्टले स्वार्थ लुकेको सहायता स्वीकार गरेर नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीले सत्तासँग राष्ट्रियता साँटेको आरोप लगाएका छन् । उनले सत्ताबाट हट्नुपर्ने डरका कारण यी दुई दल अमेरिकी सहयोग परियोजना एमसीसीको पक्षमा उभिएको जिकिर पनि गरेका छन् ।
उनले एमसीसी शीतयुद्धको निरन्तरता भएको दावी गरे । ‘उता सडकमा कार्यकर्ता एमसीसीको विरोधमा टाउको फुटाइरहेको थिए, यता प्रचण्ड र माधव नेपालले एमसीसी पारित गरेर मुस्कुराइ रहेका थिए’ दुई दलका नेताप्रति व्यङ्ग्य गर्दै भट्टले भने ‘देश नै खतरामा पर्न भएकाले पारित गरियो भन्छ, उनीहरुले देश खतरामा पर्ने भनेको चुनावसम्म गठबन्धन नटिक्ने, अग्नी सापकोटाको पद जाने र माधव नेपाल एक्लै चुनावमा जाँदा पत्तासाफ हुनेमात्रै हो ।’ एमसीसी पारित नगर्दा दुर्घटना हैन सत्ता गठबन्धनमा फाटो आउने भएकाले मात्रै सत्ता जोगाउन माओवादी र समाजवादी तयार भएको उनले आरोप लााए ।
सीधा सैनिक परिचालन नगरेर आफ्नो लगानी सुरक्षाका लागि सेना परिचालन गर्ने रणनीति अनुसार अमेरिकाले एमसीसी परियोजना ल्याएको उनको दावी थियो । ‘अहिले हेर्नुहोस् अमेरिका र चीनको शीतयुद्ध चलिरहेको छ, अमेरिकाको व्यापारी चीनबाट निकालिएको छ, चीनको व्यापारी अमेरिकामा छैन्’, भट्टले भने ‘चीनका विरुद्धमा नेपाली भूमि प्रयोग गर्ने परियोजना हो एमसीसी, यो विकास परियोजना होइन् ।’ उनले नेपालले बैदेशिक सहायता स्वीकार गर्ने तर राष्ट्रियता र सार्वभौमसत्तामा धावा बोल्नेगरी आएका सम्झौताहरु गर्न नहुने बताए । ‘साढे १६ अर्खको बजेटमा हाम्रो आम्दानी दश खर्व मात्रै हो, बाँकी वैदेशिक ऋण र सहायता नै हो’ उनले भने ‘एमसीसी बाहेकका सहायतामा हामीले विरोध किन गरेनौं । किनकि ती सहायताहरुमा सार्वभौम सत्तामा धावा बोलिएको छैन् ।’भट्टले एमसीसीमा कर्मचारी परिचालनका नाममा सादा पोसाकका सेना पठाउने दाउमा अमेरिका रहेको जिकिर पनि गरे ।