बागलुङ— केही दिनयता बागलुङ बजारमा खाना पकाउने ग्यास अभाव भएको भन्ने हल्ला बाहरिए पनि जिल्लामा ग्यासको अभाव नरहेको जिल्ला प्रशासन कार्यालय बागलुङले जनाएको छ । प्रशासनको नेतृत्वमा मंगलबार गरिएको बजार अनुगमनबाट सदरमुकाम क्षेत्रका ग्यास स्टोर तथा विक्रेताहरूसँग पर्याप्त मौज्दात रहेको पुष्टि भएको हो ।
प्रशासन कार्यालय बागलुङको नेतृत्वमा, बागलुङ नगरपालिका, उपभोक्ता मञ्च बागलुङ उद्योग बाणिज्य संघ जिल्ला प्रहरी कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपाल पत्रकार महासंघको संयुक्त रुपमा गरिएको अनुगमन गरिएको थियो । अनुगमनका क्रममा बजारका विभिन्न ग्यास विक्रेता पसलहरुमा प्रयाप्त मात्रामा ग्यास रहेको पाईएको हो । बागलुङ बजार विभिन्न ग्यास विक्रेताका स्टोर तथा गोदाममा पुगेर मौज्दात अवस्था, बिक्री वितरण र मूल्यसूचीको अवस्थाबारे निरीक्षण गरेको थियो । अनुगमनका क्रममा दैनिक उपभोगका लागि आवश्यक एलपी ग्यास सिलिन्डर पर्याप्त संख्यामा उपलब्ध रहेको र वितरण प्रक्रिया नियमित रुपमा चलिरहेको पाइएको जिल्ला प्रशासनका नासु रामप्रसाद उपाध्यायले जानकारी दिए ।
पछिल्ला केही दिनदेखि केही उपाभोक्ता र सामाजिक सञ्जाल माध्यमबाट ग्यास सकिन लागेको साथै आपूर्ति बन्द हुने जस्ता अपुष्ट सूचनाहरू फैलिएको कारण बजार क्षेत्रमा यसको अभाव हुन नदिनका निम्ती प्रशासनले अनगुमन गरेको थियो । अनुगमनका क्रममा केही उपभोक्ताले आवश्यकता भन्दा बढि खरिद गरेको समेत पाईएको उपाध्यायले जानकारी दिए ।
अनुगमन पश्चात जिल्ला प्रशासन कार्यालय यस्तो हल्लामा विश्वास नगर्न उपभोक्तालाई आग्रह गरेको छ । “हाल बागलुङ बजारमा ग्यासको आपूर्ति नियमित रहेछ, सवै विक्रेताकोमा हामी अनुगमन गरिए त्यहाँ मौज्दात पर्याप्त छ, उपाध्याय भने,–‘एक दुई दिनमा फेरी नयाँ आउने पनि व्यवसायीले जानकारी दिएका छन । हामीले पोखराको डिपोमा फोन गरेर बागलुङका लागि ग्यासको अभाव हुन नदिन आग्रह गरेका छौँ डिपोले पनि नियमित पठाउने सहमती जनाएको छ । अभाव हुन्छ भनेर अनावश्यक रूपमा भण्डारण गर्न आवश्यक छैन । ” उनले अनुगमनका क्रममा आम उपभोक्ताबाट ग्यास अभाव सम्बन्धी औपचारिक गुनासो नआएको बताए ।
ग्यास विक्रेताहरूले पनि आपूर्ति प्रणाली सामान्य अवस्थामा रहेको बताएका छन । भारतबाट आयात हुने एलपी ग्यास नियमित रुपमा डिपोमा आइरहेको र माग अनुसार विक्रेताकोमा आएको र वितरण भइरहेको उनीहरूको भनाइ छ ।
जिल्ला प्रशासन कार्यालयले बजारमा कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने वा मूल्यभन्दा बढी रकम असुल गर्ने गतिविधि भेटिएमा कडा कारबाही गरिने चेतावनी दिएको छ । अनुगमनलाई निरन्तरता दिइने र आवश्यक परे थप टोली खटाइने प्रशासनले जनाएको छ । अहिले बागलुङ बजारमा ग्यासको आपूर्ति तथा बिक्री वितरण कुनै समस्या नरहेको बजार अनुगमन टोलीले जनाएको छ ।