बागलुङ- हरेक वर्ष वर्षायाममा दुःख दिदै आएको बागलुङ कुश्मिसेरा गुल्मी शात्तिपुर सडक अन्तरगतको दब्ल्याङको पहिरोको विषयमा गण्डकी प्रदेश सभामा ध्यानकर्षण गराईएको छ । बागलुङ क्षेत्र नं. १ प्रदेश सभा (ख) बाट निर्वाचित प्रदेश सभा सदस्य डिल्लीराम सुवेदीले सभामुख मार्फत ध्यानकर्षण गराएका हुन । मालढुंगा कुश्मिसेरा सडक खण्ड अन्तरगत बागलुङ नगरपालिका १० भकुण्डे दब्ल्याङमा हरेक वर्ष पहिरोले सताईउँदा दक्षिण बागलुङका जनताले सास्ती खेप्नु परेको भन्दै सो विषयमा प्रदेश सभा नै ध्यानकर्षण गराएका छन । उनले पहिरोका साथै यसै सडक खण्ड अन्तरगत टाकुरी देखी कुश्मिसेराको विचमा १ किलोमिटर सडक कालोपत्रे गर्न छाडिएको प्रति पनि ध्यानकर्षय गराएका छन । बैठकको शून्य समयमा बोल्दै सांसद सुवेदीले भने –‘ माननिय सभामुख महोदय बागलुङ जिल्लाको मालढुंगा देखी गुल्मीको शान्तिपुर सम्म जोडने सडकमा प्रदेश सरकारको तर्फबाट करिब ८५ करोड रुपैयाँ लागत लगानी भै सकिकन १० किलोमिटर भन्दा बढि सडक कालोपत्रे बनि सकेको र त्यसकै विचमा पर्ने दब्ल्याङ पहिरोको विषयमा भौतिक योजना मन्त्रीज्यूले अघिल्लो बैठकमा त्यो संघले गर्ने भनेको छ अलपत्र अवस्थामा छ भन्ने जुन जवाफ दिनुभएको छ । त्यसमा प्रदेशले नै कालेपत्रे सम्पन्न भएको योजना भएको हुँदा प्रदेशको ध्यानकर्षण गराउन विषेश अनुरोध गर्दछु । ८५ करोड लगानी भै सक्दा पनि विचमा पर्ने १ किलोमिटर त्यो टाकुरी देखी कुश्मिसेराको विचमा पर्दछ त्यो कालेपत्रे नहुँदा १२ महिना आगवनमा समस्या हुनेका साथै अलपत्रमा परेको छ त्यसमा ध्यान जानका निमित्त यस क्षेत्रको विषेश सडक भएको र १८ वटै वडामा पहुँच मार्ग सडक भएको हुँदा त्यसमा विषेश ध्यान जानका निमित्त सम्बन्धीत मन्त्रालयलाई माननिय सभामुख मार्फत म अनुरोध गर्दछु । ’
जिल्लाको दक्षिण भेग जोड्ने बागलुङ मालढुंगा हुँदै कुश्मिसेरा बरेङ शान्तिपुर जोड्ने सडक अन्तरगत दब्लाङको पहिरोले यस क्षेत्रका जनतालाई हरेक वर्ष वर्षायामको समयमा सास्ती खेप्नु परेको छ । हिउँदमा अस्थायी रुपमा संचालन भए पनि यस वर्षायाममा भने पहिरोका कारण यो सडक सँगै कालिगण्डकी करिडोर पनि बारम्बार अवरोध हुँदै आएको छ । पहिरोको समस्याको समाधान खोज्नका लागि यस क्षेत्रका जनताले निरन्तर माग गर्दै आएका छन । प्रदेश सभामा बागलुङकै अर्का सांसद कृष्ण पाठकले पनि बलेवा विमानस्थल सञ्चालनको पहल गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराए । सांसदले भने,–‘मुख्यमन्त्रीमार्फत सङ्घीय सरकारसँग आवश्यक परामर्श र समन्वय गरेर विमानस्थल सञ्चालनमा ल्याउन माग गर्दछु ।” करोडौँ लगानी र जनश्रमदानमा बनेको विमानस्थल सञ्चालनमा आउन नसक्नु दुःखद् रहेको प्रदेशसभा सदस्य पाठकले बताए ।