बागलुङ- लामो समय पछि धौलागिरी अस्पताल बागलुङमा शव बाहन आएको छ । विगतका वर्ष नै खरिद प्रक्रियामा रहेता पनि विविध कारणले ढिलाई भएको थियो । बागलुङ नगरपालिकाको पहलमा ल्याईएको शवबाहन शनिबार धौलागिरि अस्पताललाई हस्तान्तरण गरिएको छ । विगतमा अस्पतालमा उपचारका क्रममा मृत्यु भएका बिरामीको दाहसंस्कारको लागि घाट सम्म पुर्याउने साधन जिल्लामा नहुँदा सास्ती खेप्दै आएका नागरिकले भने अब त्यो झझंटको बेहोर्नुपर्ने छैन ।
जिल्लामा एउटा पनि शव वाहन नहुँदा अस्पताल लगायत विभिन्न ठाउँमा मृत्यु भएका ब्यक्तिको लास दाहसंस्कारको लागि लैजान धेरै गार्हो भइरहेको जन गुनासो आएको भन्दै बागलुङ नगरपालिकाले १४ लाख बढी मुल्यको शव वाहन धौलागिरि अस्पताललाई हस्तान्तरण गरेको छ । बिश्वब्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस कोभिड १९ को संक्रमण बाट अस्पतालमा मृत्यु भएका ब्यक्तिको शव दाहसंस्कारको लागि लैजाने शव वाहन नहुदा समस्या भएको कुरा राखेपछि अहिले शव वाहन आएपछि सहज हुने धौलागिरि अस्पताल बागलुङका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर शैलेन्द्र विक पोखरेलले बताए । शव वाहन नहुदा विगतमा शव व्यवस्थापनकै निम्ती मासिक एक डेढ लाख भाडा तिरेर शव ब्यवस्थापन गर्नुपर्ने समस्या थियो । बागलुङ नगरपालिकाले १४ लाख ४२ हजार ८ सयमा खरिद गरिएको शव वाहनमा २ लाख २२ हजार ८ सय धौलागिरि अस्पतालको लगानी रहेको शव वाहन मृत्यु भएका ब्यक्तिको शव दाहसंस्कारको लागि घाट सम्म पुर्याउन सहयोग होस भन्ने उदेश्य रहेकोले सहयोग गरेको बागलुङ नगरपालिकाका नगर प्रमुख जनक राज पौडेलले बताए ।