राजन रेग्मी - विहिबारबाट ‘घर शान्ति नै विश्व शान्तिको आधारः दिगो विकासका लागि लैङ्गिक हिंसा रहित समाज’ भन्ने नाराका साथ लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान बागलुङमा पनि सुरु भएको छ ।
प्रत्येक वर्षको नोभेम्बर २५ तारिख देखि डिसेम्बर १० सम्म लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान संचालन हुने गर्दछ । हिँसामा परेका महिलाहरुलाई तत्कालै नजिकैको प्रहरी कार्यालय अथवा सरोकारवाला निकायहरुमा उजुरी दिएर न्याय प्राप्तिको लागी आवश्यक सहयोग माग्न सचेतनात्मक सो अभियान चलाईएको हो । बर्षेनी बिभिन्न सचेतनात्मक कार्यक्रमहरु गरिएको भएपनि अझै पनि लैङ्गिक हिंसाका घटनाहरुमा कमी नआएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरिक्षक कृष्ण बहादुर पल्ली मगरले बताए ।
‘यस बर्ष पनि हामीहरुले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानमा छौँ, सचेतनाका लागी बिभिन्न कार्यक्रमहरु गरिदै आएको भएपनि उल्लेखनिय रुपमा लैङ्गिक हिंसाका घटनाहरुमा कमी आएको भने देखिदैन ।’ उपरिक्षक मगर भन्छन् ‘अभियानको मुख्य आशय भनेको लैङ्गिक हिंसा सहेर बस्नु हुदैन । लैङ्गिक हिंसाबाट बच्नको लागी पहिले आफै सचेत हुनुपर्छ भन्ने सन्देश दिनको लागी हामीले अभियानको सुरुवात गरेका छौँ ।’
लैङ्गिक हिंसा पीडितहरुको परामर्श, उपचार तथा पुनस्र्थापना गर्दै आएको धौलागिरी अस्पताल बागलुङको एकद्वार संकट व्यवस्थापन केन्द्रले ओसिएमसी पनि लैङ्गिक हिंसाका घटनामा अझै पनि कमि नदेखिएको जानकारी दिएको छ । बिभिन्न कारण देखाउदै आफ्नो समस्या लुकाउने समस्या पनि उस्तै देखिएको अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्रकी परामर्शदाता देवी भट्टराईले जानकारी दिईन ।
केन्द्रका अनुसार आर्थिक वर्ष ७२÷७३ मा ७३ महिला र ११ पुरुष लैङ्गिक हिंसाका सिकार भएका थिए । आर्थिक वर्ष ७३÷७४ मा ८५ महिला सहित १३ पुरुष , ७४÷७५ मा ९१ महिला सहित ९ पुरुष , ७५÷७६ मा एक सय १६ महिला सहित २० पुरुष, ७६÷७७ मा ७० महिला सहित १७ पुरुष, ७७÷७८ मा ७७ महिला सहित नौ पुरुष लैङ्गिक हिंसाको सिकार भएका थिए । त्यस्तै, चालु आर्थिक वर्षमा २४ जना लैङ्गिक हिंसाको सिकार भएका छन् । जसमध्ये केहि अस्तालबाट डिस्चार्ज भैसकेका छन् भने अन्य केन्द्रमै सल्लाह लिईरहेका छन् । तथ्याङ हेर्दा हाल सम्म करिब सात सय १६ महिला बिभिन्न लैङ्गिक हिंसाको सिकार भएका छन् भने करिब एक सय पुरुषहरु लैङ्गिक हिंसाको सिकार भएका छन् ।
आर्थिक वर्ष ७७÷७८ मा दश महिलामा माथी बलात्कार भएको तथ्याङ्क केन्द्रसंग छ । १९ महिलामाथी यौन दु¥व्यवहार भएको छ भने २६ महिला र पाँच पुरुष मानसिक दबाबको सिकार भएका थिए । घरेलु हिंसामा पर्ने महिलाको संख्या पनि उस्तै रहेको छ । २२ महिला तथा एक पुरुषलाई परिवारका सदस्यले बिभिन्न कारण देखाउदै लैङ्गिक हिंसा गरेको पाईएको केन्द्रले जानकारी दिएको छ ।
आर्थिक वर्ष ७७÷७८ मा सबैभन्दा बढि १५ देखि २९ वर्ष उमेर समुहका ४६ महिला र एक पुरुष माथी लैङ्गिक हिंसा भएको छ । अघिल्लो आर्थिक वर्षमा १४ वर्ष सम्मका ९ बालिकाहरु बिभिन्न हिंसाका सिकार भएका थिए । त्यस्तै, ३० देखि ४४ वर्ष उमेरका १७ महिला र दुई पुरुष माथी पनि बिभिन्न हिंसा भएको केन्द्रले जानकारी दिएको छ । त्यस्तै, ४५ देखि ५९ उमेर समुहका तीन महिला र पाँच पुरुष र ६० वर्ष माथीका दुई महिला तथा एक पुरुष पनि लैङ्गिक हिंसाका सिकार भएको भट्टराईले जानकारी दिईन ।
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तरगत बिहिबार सामाजिक बिकास कार्यालय बागलुङको आयोजनमा प्रभातभेरी कार्यक्रम सम्पन्न भएको थियो । जिल्ला समन्वयन समितीका संयोजक राजेन्द्र ढुङ्गाना, अन्तरपाटी महिला संजालकी अध्यक्ष कुशुम बुढा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको संचालनमा सामाजिक बिकास कार्यालय बागलुङका प्रमुख डम्बर जिसीले गरेका थिए । अभियान अन्तरगत शुक्रबार मानव सेवा आश्रममा खाना खुवाउने कार्यक्रम रहेको जिसीले जानकारी दिए ।