बागलुङ- आगामी मंगलबारदेखि बागलुङमा गण्डकी प्रदेश स्तरीय टि२० क्रिकेट प्रतियोगिता हुने भएको छ । बागलुङ जिल्ला क्रिकेट संघले प्रतियोगिताको तयारी पुरा भएको जनाएको छ । संघले शनिबार पत्रकार सम्मेलन गरि यहि कार्तिक २१ गतेदेखि २५ गतेसम्म बागलुङ बाङ्गेचौर खेलमैदानमा गर्ने क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको जनाएको हो ।
प्रतियोगितामा नेपाल क्रिकेट संघ (क्यान)द्वारा मान्यता प्राप्त गण्डकी प्रदेशका ६ वटा जिल्ला क्रिकेट संघ सहभागि हुने बागलुङ जिल्ला क्रिकेट संघका अध्यक्ष विष्णु प्रसाद आचार्यले बताए ।
प्रतियोगितामा भाग लिनेहरुमा बागलुङ जिल्ला क्रिकेट संघ, पर्वत जिल्ला क्रिकेट संघ, कास्की जिल्ला क्रिकेट संघ, तनहु जिल्ला क्रिकेट संघ, स्याङ्जा क्रिकेट संघ र नवलपुर जिल्ला क्रिकेट संघ रहेका छन् ।
कार्तिक २१ गते समुह एमा रहेका बागलुङ र पर्वत बीच बिहान ९ बजेदेखि खेल सुरु हुने छ । त्यस्तै समुह बिमा रहेका तनहु र स्याङ्जा बीच दिनको १२ः४५बजेदेखि खेल सुरु हुने छ ।
२२ गते समुह एमा रहेका कास्की र पर्वत बीच बिहान ९ बजे र समुह बिमा रहका तनहु र नवलपुर बीच दिनको १२ः४५ बजे खेल हुने सचिव फणिन्द्र बहादुर खड्काले बताए ।
२३ गते समुह एमा रहेका बागलुङ र कास्की बीचको खेल बिहान ९ बजेदेखि सुरु हुने छ भने बिमा रहेका स्याङ्जा र नवलपुर बीच प्रतियोगिता हुने छ ।
२४ गते बिहान ९ बजेदेखि समुह एको बिजेता र समुह बीको उपबिजेता बीचको खेल हुने छ । सोही दिन १२ः४५ देखि समुह एको उपबिजेता र ग्रेप बीको बिजेता बीच प्रतिस्पर्धा हुनेछ । २५ गते बिहान १० बजेदेखि फाइनल खेल प्रतियोगिता हुनेछ ।
प्रतियोगितको विजयी हुने संघले एक लाख १ हजार १ सय ११ रुपैयाँ पाउनेछन । उपविजेता हुनेले ५० हजार ५५५ रुपैयाँ पाउनेछन् । म्यान अफ दि सिरिजले १० हजार, बेष्ट ब्याट्सम्यानले ५ हजार, बेष्ट बलरले ५ हजार र म्यान आफ दि म्याचले एक हजार रुपैयाँ पाउनेछन् । खेल अन्तराष्ट्रिय क्रिकेट परिषद (आइसिसी)को नियमानुसार खेलाइनेछ ।
खेलकुद विकास समिति बागलुङका अध्यक्ष कुमार खड्काले ट्रफी सार्वजनिक गर्दै प्रतियोेगिताले नयाँ खेलाडी उत्पादनमा सघाऊ पुग्ने बताए ।
उनले प्रदेश र स्थानीय सरकारले खेलकुद विकास समिति निर्माणमा ध्यान नदिदा खेल क्षेत्र ओझेलमा परेको बताए ।
‘प्रदेश सरकारले खेलको लागि बजेट छैन भन्छ, स्थानीय सरकारले पालिका स्तरीय खेलकुद विकास समिति गठन गर्न सकेको छैन’ खड्काले भने–‘यसले गर्दा जिल्लाको खेल क्षेत्र ओझेलमा परिरहेको छ ।’
उनले पछिल्लो समय सरकारको ध्यान नपुग्दा खेल प्रतियोगितामा सहभागि हुँदा खेलाडीले व्यक्तिगत खर्च गर्नु पर्ने बाध्यता हुनु दुःखद रहेको बताए ।