नारायण रिजाल- नेपाली काँग्रेस बागलुङले गत स्थानिय तहको निर्वाचनमा स्वतन्त्र निर्वाचन लडेर कारबाहीमा परेकाहरुलाई कारबाही फुकुवाको लागि सिफारिस गरेको छ ।
काँग्रेस बागलुङको आईबार बसेको जिल्ला कार्यसमिति बैठकले जिल्लाका दश वटै स्थानिय तहमा स्वतन्त्र निर्वाचन लडेका आफ्ना नेता तथा कार्यकर्तालाई सच्चिएर पार्टीको मुल प्रवाहमा आउन आग्रह गर्दै कारबाही फुकाउन सिफारिस गरेको छ । पार्टी भित्रै विद्रोह गरेर स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गरेपनि पुन पार्टीको सिद्धान्तलाई आत्मसाथ गर्दै सच्चिएर पुन समाहित हुन आग्रह गर्दै कारबाही फुकाउन गण्डकी प्रदेश कार्यसमिति मार्फत केन्द्रीय समितिलाई आग्रह गरिएको काँग्रेस बागलुङका जिल्ला सचिव हरिहर शर्माले जानकारी दिए ।
पार्टीको निर्णय भन्दा बाहिर रहेर अन्य दलको चुनाव चिन्ह लिएर उम्मेदवार बनेकाको हकमा भने फुकुवा नहुने सचिव शर्माले बताए । ‘पार्टीले सवैलाई टिकट दिन सक्दैन केही साथीहरुले विमती राख्दै स्वतन्त्र रुपमा उम्मेदवारी दिनुभएको थियो ।, शर्माले भने,–‘पार्टीको निर्णय नमानेर स्वतन्त्र उम्मेदवार दिनेहरु पार्टीको विधान र केन्द्रीय निर्देशन बमोजिम नै कारबाहीमा पर्नुभएको थियो । त्यो कारबाही फुकुवाका लागि जिल्ला कार्यसमितिले निर्णय गरेर पठाएको छ । प्रदेशले यसलाई केन्द्रमा पठाएपछि कारबाही फुकुवा हुनेमा हामी विश्वस्त रहेका छौं । तर काँग्रेसको निर्णय भन्दा बाहिर रहेर अन्य दलको चुनाव चिन्ह लिएर उम्मेदवार बनेकाको हकमा भने फुकुवा हुने छैंन ।’
गत स्थानिय तहको निर्वाचनमा अन्य दलको चुनाव चिन्ह्र लिएर उम्मेदवार बनेको बाहेक २६ जनालाई कारबाही फुकुवाको माग गर्दै प्रदेश कार्यसमितिमा पठाईएको शर्माले बताए । गत निर्वाचनमा तत्कालिन नेपाल महिला संघको जिल्ला सचिव एवं प्रदेश महाधिवेन प्रतिनिधि उषा पौडेल, जैमिनी नगरपालिकाका पुर्व सभापति काशिराम आचार्य सहित केही व्यक्तिहरु काँग्रेसका निर्णय भन्दा बाहिर रहेर अन्य दलको चुनाव चिन्ह लिएर निर्वाचन लड्ेका थिए ।
बागलुङमा ६० प्रतिशत माग
काँग्रेस बागलुङले स्थानिय तहको निर्वाचनमा जस्तै गठबन्धनका दल भित्र बागलुङ ६०/४० का दरले बाँडफाँड हुनेपर्ने माग राखेको छ । स्थानिय तहको निर्वाचनमा नेपाली काँग्रेसले ६० प्रतिशत सिट र अन्य गठबन्धन भित्र रहेका दलहरुले ४० प्रतिशत लिएको हुँदा संघ र प्रदेशमा पनि सोही अनुसार बाँडफाड हुनुपर्ने जिल्ला सभापति जित शेरचनले बताए । उनले दुई वटा संघिय निर्वाचन क्षेत्र मध्ये एक अनिवार्य र ४ वटा प्रदेश निर्वाचन क्षेत्र मध्ये ३ वटा अनिवार्य हुनुपर्ने बताएका छन । ‘बागलुङमा पहिलो शक्ति काँग्रेस हो, अघिल्लो स्थानिय तहको निर्वाचनमा वडा र पालिकामा हामीले ६० प्रतिशत लिएका थियौं । यस पटक पनि सोही अनुसार हुनुपर्छ भन्दै हामीले केन्द्र सँग माग गरेका छौं । यसको विकल्प छैन सभापति शेरचनले भने ।
बैठकले केन्द्रीय निर्देशन अनुसार संचालन भएको जनताको साथमा काँग्रेस कार्यक्रमलाई अझै प्रभावकारी गराएर लैजाने निर्णय गरेको छ भने आगामी मंसिरमा हुने निर्वाचन लक्षित कार्यक्रमहरु निरन्तर संचालन गर्ने बताएको छ ।