बागलुङ क्षेत्र नं. १ को चुनावी माहोल – पुरानालाई आफ्नैको डर, नयाँलाई पुरानाको भर

  • माघ २३, २०८२

नारायण रिजाल बागलुङ -  आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको मिति जति नजिकिँदै छ । निर्वाचन नजिकिँदै गर्दा बागलुङ क्षेत्र नं. १ का राजनीतिक दलहरुको चुनावी सरगर्मी तीव्र रुपमा बढ्दै गएको छ । बाहिरको माहोल  हेर्दा चुनावी प्रतिस्पर्धा सामान्य देखिए पनि भित्री रूपमा यहाँको राजनीतिक मनोविज्ञान निकै जटिल बन्दै गएको छ । यस क्षेत्रमा पुरानो विरासत जमाईराखेका नेपाली काँग्रेस, नेकपा एमाले, राष्ट्रिय जनमोर्चा, राप्रपा आफ्नै मतदाताबाट डराइरहेका छन् भने आफुलाई नयाँ राजनितिक दल भनेर चुनावमा होमिएको रास्वपालाई भने पुरानै राजनितिक दलका मतदाताको भर रहेको छ । 
डर प्रतिपक्षबाट होइन, आफ्नै आधार क्षेत्रबाट 
पछिल्लो समय पुराना राजनीतिक दलप्रति जनताको फेरिने क्रममा बढ्दै गएको छ । जनताबाट विकास, सुशासन, रोजगारी र जनजीविकाका सवालमा अपेक्षित परिणाम नआएको गुनासो व्यापक रहेका कारण उनिहरुले केहि विकल्प खोजि रहेका छन । तिनै विकल्प खोज्नेहरु नयाँ राजनीतिक शक्ति तर्फ आर्कषित भएको पाईन्छ । यही कारण पुरानालाई आफ्नैको डर छ भने नयाँ शक्तिलाई पुरानाकाको भर रहेको विश्लेषण गरिएको छ । तर पुराना दलहरूका लागि सबैभन्दा ठूलो चुनौती बाहिरबाट आएको प्रतिस्पर्धा होइन, आफ्नै भित्रको असन्तुष्टि हो । नेपाली काँग्रेस र नेकपा एमाले राजमोलाई आफ्ना परम्परागत मतदातालाई जोगाउन कठिनाइ भइरहेको छ । आफ्नै कार्यकर्ता, समर्थक र मतदाता अन्तिम समयमा विकल्प खोज्ने हो कि भन्ने डर उनीहरूमा स्पष्ट देखिन्छ । त्यसैले डर प्रतिपक्षबाट होइन, आफ्नै आधार क्षेत्रबाट रहेको पाईन्छ । 
यही कारण काँग्रेस एमाले र राजमाले  आफ्ना मतदातालाई स्थिर राख्ने रणनीतिमा जोड दिएका छन् । आफ्नो मत सुरक्षित गर्न सकियो भने चुनाव जित्न सकिन्छ’ भन्ने निष्कर्षमा उनीहरू पुगेका छन् । यसपटक नेकपाको उम्मेदवार नभएको अवस्थालाई उनीहरूले अवसरका रूपमा लिएका छन् । आफ्ना मतदातालाई बचाउन र विखण्डन हुन नदिने हो भने निर्वाचन आफ्नै पाल्टोमा पार्न सकिने सम्भावना उनीहरूले देखिरहेका छन् । 
आफ्नै मतदातालाई जोगाउने रणनितिमा 
काँग्रेस एमाले र राजमोको मुख्य रणनीति आफ्नै मतदातालाई जोगाउनेमा केन्द्रित छ । चुनावी अभियानमा देखिएको भाषण, संगठन परिचालन र कार्यकर्ता व्यवस्थापनले पनि यही संकेत गर्छ । उनीहरू आफ्नै आधार क्षेत्र मजबुत बनाउन चाहेका छन । 
यसको विपरीत रास्वपाको रणनीति भने फरक देखिन्छ । रास्वपाले नयाँ मतदाता सिर्जना गर्नेभन्दा पनि पुरानै राजनीतिक दलका असन्तुष्ट कार्यकर्ता र मतदातालाई आफ्नो पक्षमा ल्याउने अठोट लिएको छ । पुरानो राजनीतिक संस्कृतिप्रति वितृष्णा, नेतृत्वप्रति असन्तोष र परिवर्तनको चाहनालाई उसले मुख्य एजेन्डा बनाएको छ । यसका साथै भदौ २३ र २४ गते भएको जेनजी विद्रोह यिनै पुराना राजनितिक दलका कारणले भएको हो भन्ने भास्य पनि निर्माण गरिदिएको छ । 
जेनजी आन्दोलनपछि सिर्जित अवस्थाबाट हुन लागेको निर्वाचनमा केही मतदाता पुराना राजनितिक दलसँग असन्तुष्टी देखिएका छन । त्यसले मत त फरक पार्छ नै नयाँदलको पनि उम्मेदवार नयाँ नै भएका उनिहरुलाई पनि चुनौती भने छदै छ ।  यसरी बागलुङ क्षेत्र नं. १ को चुनावी दृश्यमा अनौठो अवस्था सिर्जना भएको छ । पुराना दलहरू आफ्नै मतदाता जोगाउन संघर्षरत छन् भने नयाँ दल पुरानाको मत खोस्ने प्रयासमा छ । यही द्वन्द्व, डर र भरोसाको मिश्रणले यस क्षेत्रको निर्वाचनलाई थप चासोको विषय बनाएको छ ।
समयसँगै मतदाताको सोच, अपेक्षा र प्राथमिकतामा परिवर्तन भएको छ 
यस क्षेत्रको राजनीतिक इतिहास हेर्ने हो भने नेपाली काँग्रेस, नेकपा एमाले, राष्ट्रिय जनमोर्चा (राजमो) र नेकपा यहाँका पुराना र स्थापित राजनीतिक दल हुन् । विशेष त काँग्रेस र राजमोले नै हाल सम्म निर्वाचन जितेको यस क्षेत्रमा २०७४ सालको निर्वाचनमा संयुक्त बामगठबन्धनबाट नेकपा एमालेका उम्मेदवार सुर्य पाठकले निर्वाचन जितेका थिए त्यो बेला काँग्रेस एक्लै चुनावी मैदानमा थियो भने अन्य बामपन्थी पार्टीहरु गठबन्धन गरेर निर्वाचन लडेका थिए । २०७९ मा भने नेपाली काँग्रेससँग राष्ट्रिय जनमोर्चा र तत्कालिन नेकपा माओबादी केन्द्र लगायतका दलको गठबन्धनमा रहेको थियो । सो बेला राजमोका अध्यक्ष चित्रबहादुर केसीले नेकपा एमालेका उम्मेदवार सुर्य पाठकलाई पराजय गराएका थिए । केसीले २१ हजार ४६४ मत पाएर विजयी भए भने पाठकले १८ हजार ८४५ मत पाएका थिए । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का खीमानन्द कँडेलले ९ हजार १९१ मत ल्याएर रास्वपा तेस्रो भएको थियो । 
लामो समयम देखी यस क्षेत्रका काँग्रेस एमाले र राजमोकै राजनीतिक शक्ति सन्तुलन निर्माण हुँदै आएको हो । तर समयसँगै मतदाताको सोच, अपेक्षा र प्राथमिकतामा आएको परिवर्तनले पुराना दलहरूलाई असहज अवस्थामा पु¥याएको छ ।
पुराना दललाई विरासत जोगाउनका लागि धेरै मेहेनत गर्नुपर्ने छ 
अघिल्लो निर्वाचनको समानुपातिक मत हेर्दा नेपाली कांग्रेस पहिलो बनेको थियो । कांग्रेसले १६ हजार ४९३, एमालेले १५ हजार ४२८, रास्वपाले ७ हजार ८७७ र नेकपा–जनमोर्चाको ८ हजार ३२५ मत ल्याएको थियो । यस पटक भने निर्वाचन सोचेजस्तो छैन । पुराना राजनितिक दलका मतदाताको मत परिवर्तन हुने देखिएको छ । पुराना दललाई विरासत जोगाउनका लागि धेरै मेहेनत गर्नुपर्ने छ भने नयाँ दल जबरजस्ती स्थापित हुन खोजेको देखिन्छ । 
एमालेको पुरानै उम्मेदवार अन्य दलका नयाँ 
यस क्षेत्रमा नेपाली कांग्रेस, रास्वपा र जनमोर्चाले नयाँ उम्मेदवार उठाए पनि एमालेले पुरानै अनुहार दोहो¥याएको छ । एमालेले उम्मेदवार बनाएको हिराबहादुर केसी २०७० सालको संविधान सभाको निर्वाचनमा  यसै क्षेत्रबाट पहिलो पटक उम्मेदवार बनेका थिए त्यो बेला काँग्रेसका स्व. हरि बहादुर खड्कासँग पराजय भोग्नु परेको थियो ।  पछि पुन २०७९ सालको प्रदेश सभा सदस्यमा पनि यसै क्षेत्रबाट उम्मेदवार बने काँग्रेसकै दिपेन्द्रबहादुर थापा सँग पराजय भोगे यो  केसीको संसदको यात्राका लागि तेस्रो प्रयास हो यस पटक भने आम मतदाताको सुवेक्षाले आफुले निर्वाचन जित्नेमा ढुक्क रहेका छन । 
यस क्षेत्रका नेपाली काँग्रेसले भने त्रिभुवन विश्वविद्यालयमा लामो विद्यार्थी राजनिति गरेर नेपाली काँग्रेसको मुल राजनितिमा होमिएका भीम श्रीसलाई उम्मेदवार बनाएको छ । उनि काँग्रेसको महासमिति सदस्य हुँदै हाल विशेष महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका छन । त्रिभुवन विश्वविद्यालयमा सम्पुर्ण पदाधिकारी सहित सदस्यहरु अखिलका संगठनले जित्दा सभापतिमा श्रीस एक्लै चुनाव जितेका थिए । संसदिय निर्वाचनमा भने श्रीसको पहिलो प्रयास हो । विद्यार्थीको मन त जितेका थिए अब जनताको मन जित्न श्रीस मैदानमा उत्रिएका छन । काँग्रेस नविन र रुपान्तरण भएर आएको हुँदा यसपटक निर्वाचनमा नयाँ मुद्धा लिएर गएको छ त्यसै कारण आफ्ना मतदातालाई स्थिर राख्न सकेमा श्रीसले निर्वाचन सजिलै जित्ने आंकलन गरिएको छ । 
श्रीस र केसीको यस क्षेत्रका मतादातालाई परिचित नाम हो भने रास्वपाका उम्मेदवार शुशिल खड्का यस क्षेत्रमा राजनितिमा देखिएको नयाँ अनुहारको रुपमा लिन सकिन्छ । उनि लामो समय अमेरिकका बसेर रास्वपाबाट नेपाली राजनितिमा होमिएका हुन । रास्वपा पक्षधरहरू खुला रूपमा पुराना दलका कार्यकर्तासँग संवादमा छन् । ‘दल होइन, व्यक्ति र सोच बदल्नुपर्छ’ भन्ने नारामार्फत उनीहरूले पुराना दलका मतदातालाई आकर्षित गर्ने प्रयास गरिरहेका छन् । यही कारण रास्वपाको भरोसा नयाँभन्दा पनि पुरानै राजनीतिक दलका मतदातामाथि देखिन्छ । 
यसका साथै यस क्षेत्रमा राम्रै मतभार रहेको राष्ट्रिय जनमोर्चाले पनि नेपाली कम्युनिष्ट पार्टीसँग गठबन्धन गरेर कृष्ण अधिकारीलाई उम्मेदवार बनाएको छ । राजमो अध्यक्ष चित्रबहादुर केसीका उत्तराधिकारीको रुपमा रहेका अधिकारी यस क्षेत्रमा जनमोर्चाको सांगठानिक मत र नेकपाको साथलाई लिएर परिणाम आफ्नो पक्षमा पार्ने दाउमा रहेका छन । तर पछिल्लो समय कमजोर बन्दै गएको जनमोर्चाको संगठन र कम मत भएको नेकपासँगको गठबन्धनले जित आफ्नो पोल्टामा पार्न त्यत्ति सहज देखिँदैन । त्यसमा काँग्रेस एमालेको यस क्षेत्रमा राम्रै प्रभाव रहेको छ झने नयाँ दलसँग चुनौती पनि यसले राजमोले सामना गर्नुपर्ने छ । राजमोलाई आफ्नो पक्षमा जित पार्नका लागि ठुलै महेनत भने गर्नुपर्ने नै छ ।  यस क्षेत्रमा पुरानो दल राप्रपाका कल्याण विक्रम आचार्य  नेपाल मानवताबादी पार्टीका भक्तबहादुर विक, मंगोल नेशनल अर्गनाईजेशनका गुमा कुमारी बुढा राना मगर, प्रगतिशल लोकतान्त्रीक पार्टीका चित्रप्रसाद सापकोटा, नेशनल रिपब्लिक नेपालका सहविर थापा, श्रम संस्कृति पार्टीका लालबहादुर घर्ति र नेपाल कम्युनिष्ट पार्टी माओबादीका टेकबहादुर केसी चुनावी मैदानमा छन् ।  
अन्ततः बागलुङ क्षेत्र नं. १ को चुनावी नतिजाले केवल एक जना प्रतिनिधि चयन गर्ने छैन । यसले पुराना राजनीतिक दलप्रतिको जनविश्वास कति बाँकी छ र नयाँ राजनीतिक विकल्प कति स्वीकार्य बन्दै गएको छ भन्ने स्पष्ट सन्देश दिनेछ । यही कारण यो निर्वाचनलाई यहाँको राजनीतिक भविष्यको परीक्षणका रूपमा पनि हेरिएको छ ।

प्रतिक्रिया