जैमिनीमा दलित संग्राहलय तथा अनुसन्धान केन्द्र निर्माण हुने

  • असोज २०, २०८०

बागलुङ- बागलुङको जैमिनीमा राष्ट्रिय दलित संग्राहलय तथा अनुसन्धान केन्द्र निर्माण हुने भएको ।  दलित समुदायका संस्कृति, रितिरिवाज, बाजा लगायतका सामाग्री संग्रहित संग्राहलय जैमिनी नगरपालिका- ७ जैदिमा निर्माण गर्न लागिएको हो । संग्राहलय निर्माणका लागि जैमिनी नगरपालिकाले जिल्लाका सवै स्थानिय तहका  प्रमुख तथा उपप्रमुख र अन्य सरोकारवाला सँग अन्तरक्रिया गरेकाे छ ।

वडा अध्यक्ष केन्द्रबहादुर रसाइलीको पहलकदमीमा संग्राहलय निर्माणको प्रक्रिया अगाडी बढाईएको हाे । संग्राहलयमा दलित समुदायको परम्परा रितिरिवाज र संस्कृतिका बारेमा पुरातात्विक बस्तुहरु राखिने वडा अध्यक्ष रसाईलीले बताए ।   दलित समुदायको सिप, कौशल, संस्कृति, परम्परा, बाजागाजा बारे आम समुदायले जान्ने र बुझ्ने अवसर पाउने हुँदा दलित समुदायप्रतिको नकरात्मक धारणामा परिवर्तन ल्याई विभेद न्यूनिकरणमा केन्द्रले सहयोग पुर्याउने अपेक्षा गरिएको छ । कार्यक्रममा बागलुङ नगरपालिका प्रमुख बसन्त कुमार श्रेष्ठले संग्राहलय जिल्लाकै सम्पत्ति हुने बताउँदै निर्माणको लागि आवश्यक सहयोग पुर्याउने बताए ।  नेपालमा काम गर्ने व्यक्तिको सम्मान हुन नसक्दा दलित समुदाय पछि परेको भन्दै दलितको अर्थ र यसको अवधारणा नै गलत रहेको उल्लेख  गरे ।  काठेखोला गाउँपालिका अध्यक्ष राजु थापाले दलित समुदायको उत्थानको लागि आफ्नो पालिकाले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै संग्राहलय निर्माणको लागि पनि सहयोग गर्ने बताए । 
निसीखोला गाउँपालिका अध्यक्ष सूर्य बहादुर घर्तिले समाजमा रहेको जातिय विभेद अन्त्यको लागि सबै मिलेर लाग्नु पर्ने बताए। नेपाल बहुजातिय, बहुभाषी र बहुसांस्कृतिक मुलुक रहेको उल्लेख गर्दै सबैको सम्मान गर्नु पर्ने उनको भनाइ छ ।

जैमिनी नगरपालिका उपप्रमुख हरिहर शर्माले संग्राहलय सबैको साझा सपना रहेको उल्लेख गर्दै साकार पार्न मिलेर लाग्ने बताए । संग्राहलय जिल्लाकै सम्पति हुने बताउँदै शर्माले निर्मााणको लागि जिल्लाका सबै पालिका, विभिन्न कार्यालय प्रदेश र संघीय सरकारसँग समन्वय गरिने बताए । 

कार्यक्रममा दलित अधिकारकर्मी सिताराम रसाइली र सज्जन कुमार सिँहले संग्राहलको अवधारणा पत्र प्रस्तुत गरेका थिए । जैमिनी नगरपालिका प्रमुख नर बहादुर पुनको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन प्रमुख प्रशासकीय अधिकृत हरि बहादुर भुजेलले गरेका गरेका थिए । 

प्रतिक्रिया